काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनले नेकपा एमालेभित्र गहिरो ध्रुवीकरण निम्त्याएको छ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले विद्या भण्डारीलाई सम्भावित प्रतिस्पर्धीका रूपमा लिँदै संगठनभित्र त्रासको वातावरण सिर्जना गर्न थालेका छन् ।
पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकमा उनले नेताहरूलाई चेतावनी, कारबाहीको धम्की र अनुशासनको डन्डा प्रयोग गर्दै भण्डारीको पक्षमा खुल्न चाहनेहरूलाई रोक्न सक्रिय रणनीति अख्तियार गरेका छन् ।
एमाले सचिवालयमा झन्डै झन्डै भण्डारीको पक्षमा खुल्ने नेताहरुे समान संख्या देखिएपछि ओलीले पोलिटब्युरो बैठकलाई ‘कट अफ बैठक’ घोषणा गर्दै बैठकमा भण्डारीको पक्षमा बोल्न नदिएको बताइएको छ । उनले अनुशासनहीन गतिविधि दोहोरिए सह्य नहुने चेतावनी दिएका छन् । “अब यस्ता अनुशासनहीन गतिविधि दोहोरिए ठिक हुनेछैन“, उनले पोलिटब्युरो बैठकमा भनेका थिए ।
पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकमा उनले नेताहरूलाई चेतावनी, कारबाहीको धम्की र अनुशासनको डन्डा प्रयोग गर्दै भण्डारीको पक्षमा खुल्न चाहनेहरूलाई रोक्न सक्रिय रणनीति अख्तियार गरेका छन् ।
सोमबारको केन्द्रीय कमिटी बैठकमा समेत ओलीले सुरुबाटै भण्डारीको प्रसंग उठाउँदै, पार्टीको निर्णयबाहिर गएर वक्तव्य दिने प्रवृत्तिको आलोचना गरे । “सदस्यता नवीकरण भयो कि भएन, सक्रिय रूपमा आउनुपर्छ कि पर्दैन ? सबै पार्टीले निर्णय गर्छ”, उनले भने, “निर्णय अगावै च्यानलबाहिर गएर प्रवक्ता बन्ने ? जे बोल्ने पार्टीले बोल्छ ।” ओलीले अनुशासन उल्लङ्घन गरे कारबाही हुन सक्ने संकेत पनि दिए ।
केन्द्रीय कमिटि बैठकको सुरुमै अध्यक्ष ओलीले अनुशासन कारवाहीको त्रासपूर्ण माहोलका कारण धेरैजसो नेताहरू मौन बसेका थिए । केन्द्रीय कमिटी बैठकमा ४९ जना नेताहरूले बोलेका भए पनि विद्या भण्डारीको पक्षमा खुला रूपमा फरक मत राख्ने नेताहरूको संख्या ६ मा सीमित रह्यो । ती नेताहरूमा रचना खड्का, अरबिन्द सिंह, इन्द्रलाल सापकोटा, कृष्ण पौडेल, दिवाकर देवकोटा र सरोज यादव रहेका छन् ।
ओली र भण्डारीबीच आइतबार भएको भेटका बारेमा पनि ओलीले केन्द्रीय समितिमा स्पष्टीकरण दिएका छन् । “भेटवार्तासम्बन्धी प्रस्ताव उहाँबाटै आएको हो,“ उनले भने, “पार्टी कार्यालय नगएको धेरै भयो, त्यहीँ आउँछु भन्नुभयो र त्यसपछि भेटवार्ता पार्टी कार्यालयमै सम्पन्न भयो ।” उनले भेटमा राष्ट्रिय राजनीति, गणतन्त्र र राष्ट्रपतिको गरिमा विवादमा नतान्न भण्डारीलाई आग्रह गरेको बताए ।
भेटका क्रममा भण्डारीले आफू सक्रिय राजनीतिमा प्रवेश गरिसकेको स्पष्ट संकेत दिएकी थिइन् । स्रोतका अनुसार उनले ओलीलाई ‘अब म अघि बढिसकेको छु, रोक्ने प्रयास नगर्नुहोस्’ भन्ने आशयको भनाइ दिँदै भेट टुंग्याएकी थिइन् । यसपछि ओलीले भण्डारीलाई रोक्न संगठनमै मनोवैज्ञानिक दबाब सिर्जना गर्न थालेका हुन् । बैठकमा उनले स्पष्ट रूपमा चेतावनी दिए – “भण्डारीको पक्षमा वकालत गरे अनुशासन लाग्न सक्छ ।”
भण्डारीको राजनीतिमा पुनर्सक्रियता र सम्भावित नेतृत्व आकांक्षाले एमालेभित्र सशक्त आन्तरिक प्रतिस्पर्धाको संकेत दिइरहेको छ । तर ओलीले त्यसलाई संगठनको अनुशासनको सवाल बनाउँदै प्रतिरोधमा उत्रिने रणनीति अवलम्बन गरेका छन् । हाललाई नेताहरू त्रासका कारण मौन देखिए पनि आगामी दिनमा यो विवादले एमालेको सत्ता संरचना र नेतृत्व भविष्यमा निर्णायक असर पार्न सक्ने संकेतहरू देखिन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ साउन २०८२, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता नवीकरण भइसक्यो, ओलीसँग राष्ट्रिय राजनीतिको कुरा भयो : विद्या भण्डारी
च्यासल पुगिन् विद्या भण्डारी
विद्या भण्डारीलाई भेट्न भंगाल पुगे शेखर कोइराला, के भयो छलफल ?
एमालेले विद्या भण्डारीलाई विधान महाधिवेशनमा किन लगायो रोक ?
अध्यक्ष बन्नकै लागि एमालेमा फर्किएको छु : विद्या भण्डारी
नेपाल-चीन सम्बन्धमा कोशढुंगा : विद्या भण्डारी