विद्या भण्डारीले बढाइन् राजनीति सक्रियता, यस्तो बन्यो कार्यतालिका

नियमित एमाले कार्यालय पुग्ने, भदौं २ बाट देश दौडाहामा निस्कने

सफल खबर संवाददाता

शुक्रबार, ३० साउन २०८२, ०९ : ४१
विद्या भण्डारीले बढाइन् राजनीति सक्रियता, यस्तो बन्यो कार्यतालिका

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफनो सक्रियता झन् बढाउन थालेकी छिन् । एमालेले उनको पार्टी सदस्यता नविकरण नगर्ने र पूर्व राष्ट्रपति भईसकेको ब्यक्ति सक्रिय राजनीतिमा आउन नहुने निर्णय गरेपनि भण्डारीले राजनीतिमै लाग्ने उदेश्यसहित  आफनो सक्रियता बढाएकी हुन् ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले भण्डारीको पार्टी सदस्यता नविकरण नगर्ने निर्णय पार्टी केन्द्रीय समिति बैठकबाट गराएका थिए । पार्टी विद्यानबाटै उमेर हद र दुई कार्यकाल कार्यकारी पदमा रहन पाउने ब्यवस्था परिवर्तन गरि आफनो लागि फेरि पार्टी अध्यक्ष बन्न बाटो खोल्ने र पूर्व राष्ट्रपतिलाई एमालेले राष्टिय गौरव सम्मान गरिसकेको, राष्ट्रपति रहँदा नेपाली सेनाको परमाधिपति समेत भएको ब्यक्ति राजनीतिमा आउन नहुने भन्दै भण्डारीका लागि भने पार्टी सदस्य नै नविकरण नगर्ने निर्णय ओलीले लिएपछि एमालेमा तीव्र धुव्रिकरण भईरहेको छ ।

आफना लागि विद्यान मिच्ने र ब्यक्ति हेरेर विधान बनाउने तर पूर्व राष्ट्रपति भण्डारीलाई भने उनीसँगैको योजनामा पार्टी सदस्यता नविकरण गराईसक्दा पनि अन्तिममा आएर आफनै प्रतिस्पर्धी हुने देखेपछि सुरुमै नविकरण रोक्ने काम ओलीले गरेको भन्दै एमालेभित्र तल्लो तहमा तीव्र आक्रोश जन्मिएको छ । त्यही मेसोमा एमालेले भदौं २० देखि २२ सम्म ललितपुरमा पार्टीको विद्यान अधिवेशन गर्दैछ ।
त्यसैको पूर्वसन्ध्यामा अहिले एमालेका प्रदेश र जिल्ला तहमा विधानका बारेमा छलफल भईरहेको छ । ती छलफलमा भण्डारीको पार्टी सदस्यता नविकरण नगर्ने केन्द्रको निर्णय विरुद्द विद्रोह र असन्तुष्टि चर्किन थालेकै बेला भण्डारीले पनि आफनो सक्रियता बढाएकी हुन् ।
भण्डारी निकट स्रोतका अनुसार अब उनी नियमित एमाले मुख्यालय च्यासल पुग्नेछिन् । पार्टी सदस्यता रोक्ने निर्णय अगाडी अध्यक्ष ओलीले नै उनका लागि पार्टी केन्द्रीय कार्यालयमा कोठा उपलब्ध गराउने बचन दिएका थिए । तर अव अध्यक्ष ओलीले कोठा उपलब्ध नै नगराएपनि भदौं दोस्रो साताबाट उनी नियमित एमाले मुख्यालय च्यासल जाने र त्यहाँ उपस्थित हुने नेता कार्यकर्तासँग नियमित भेट्ने योजना बनाएकी छिन् ।
त्यसो त भण्डारीले नयाँ बानेश्वर थापागाँउमा मदन भण्डारी हिरक महोत्सव मनाउन भन्दै सम्पर्क  कार्यालय समेत खोलिसकेकी छिन् । बानेश्वर आउँदा उनी सधैजसो एकपटक पार्टी कार्यालय च्यासल पनि पुग्ने गरी कार्यतालिका उनको सचिवालयले ब्यवस्थापन गर्ने गरी तयारी भएको छ ।

त्यस अगाडी भने उनले दुई वटा प्रदेशका नेता कार्यकर्तासँगको भेटघाटका लागि सम्बन्धित प्रदेशमै पुगने तयारी सहितको कार्यक्रम बनाएकी छिन् । उनी भदौं २ मा आफनो गृह प्रदेश कोशी प्रदेश पुग्ने कार्यक्रम बनाएकी छिन् । कोशी प्रदेश त्यही प्रदेश हो, जहाँ भण्डारीको पार्टी सदस्यता नविकरण नगर्ने निर्णयविरुद्द प्रदेश कमिटि बैठकमा नेताहरुले आवाज उठाएका थिए ।

भदौं २ मा उनी कोशी प्रदेश पुगी त्यहाँका जिल्ला जिल्ला पुग्ने र पार्टी नेता कार्यकर्तासँग संवाद गर्नेछिन् । कोशी प्रदेशका नेता कार्यकर्तासँग भेट सकेपछि उनी मधेस प्रदेशमा पनि जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।
मधेस प्रदेशमा भने भण्डारी भदौं १४ गते पुग्नेछिन् । प्रधानमन्त्री केपी ओली चीनको बन्दरगाह सहर तियान्जिनमा आयोजना हुने सांघाई को–अपरेसन अर्गनाइजेसन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन चीन जाने दिन नै उनी मधेस प्रदेश जान लागेकी हुन् । ओलीको चीन भ्रमण अवधीमा उनी मधेसका नेता कार्यकर्तासँग भेटघाट गरेर काठमाडौं फर्किनेछिन् ।

त्यसपछि भने उनले दिनहुँ पार्टी केन्द्रीय कार्यालय च्यासल जाने कार्यक्रम बनाएकी छिन् । मधेस प्रदेशबाट फर्केर काठमाडौं आउँदा एमालेलाइ विद्यान महाधिवेशनले छपक्कै छोप्ने र देशभरका नेताकार्यकर्ताको काठमाडौंमा उपस्थिती हुने भएपछि उनी मधेसवाट फर्केलगत्तै नियमित पार्टी केन्द्रीय कार्यालय च्यासल जाने गरी कार्यक्रम बनाएकी छिन् ।

बागमती प्रदेशमा भने झण्डै १३ जिल्ला मध्ये ११ जिल्ला अध्यक्ष नै भण्डारीलाई पार्टी सदस्यता नविकरण नगर्ने केन्द्रीय समितिको निर्णयमा पुर्नविचार गर्नुपर्ने भन्दै प्रत्यक्ष, अप्रत्यक्ष साथ दिईरहेका छन् । प्रदेश समितिका बहुमत सचिवालय सदस्य भण्डारीकै पक्षमा खुलेका छन् ।

मधेसबाट फर्केको केही समय उनी नियमित पार्टी कार्यालय पुग्ने र पार्टीको विधान अधिवेशनबाट आफुमाथी ओलीको योजनामा बनाइएको पार्टीमा नै फर्कन नदिने षड्यन्त्रको प्रतिवादमा समय खर्चिने छिन् । सकभर विद्यान महाधिवेशनबाट उनी उक्त निर्णय उल्टाउन जोडवल गर्नेछिन् । त्यसपछि पनि उनको कार्यक्रम रोकिने छैन ।

विधान महाधिवशेनले जे निर्णय दिएपनि उनले रोकिने योजना बनाएकी छैनन । त्यसपछि उनले गण्डकी, लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशसम्मकै देश दौडाहको योजना बनाएकी छिन् । त्यसक्रममा उनी ती प्रदेशका जिल्ला जिल्लामा पनि पुग्नेछिन् । अन्तिममा बागमती प्रदेशका नेता कार्यकर्तासँग भेट गर्ने कार्यतालिका भण्डारीले बनाएकी उनको सचिवालय स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस