ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग पुनः संवाद गर्ने

सफल खबर संवाददाता

सोमबार, २३ भदौ २०८२, १० : २२
ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग पुनः संवाद गर्ने

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग फेरि अलग्गै संवाद गर्ने भएका छन् । आफ्नो लागि विधानमा भएको ७० वर्षे उमेर हद हटाउने र दुई कार्यकाल कार्यकारी पदमा रहने ब्यवस्थासम्म हटाएर फेरि पनि अध्यक्ष बन्न बाटो खुला गरेका ओलीले आफु निर्विकल्प हुन विद्या भण्डारीको नविकरण भईसकेको सदस्यतामा बन्देज लगाएका थिए ।

ओलीको यस्तो निर्णयमा विधान महाधिवेशनमा असन्तुष्टिको आवाज बढेको र प्रतिवेदनमाथी समुहगत धारणा राख्ने १० ओटै समुहमा भण्डारीको सदस्यता रोक लगाउने निर्णय र भण्डारी पछि नहट्ने अडानले पार्टीलाई गम्भिर क्षति पु¥याउने दावी प्रस्तुत गरेपछि ओलीले यस विषयमा आफु फेरि भण्डारीसँग संवाद गर्न तयार रहेको बताएका थिए ।

तर उनले भण्डारीसँग फेरि कुरा गर्ने बताएपनि उनी राजनीतिमा आउने कुरा राम्रो नहुने मत भने दोहोराएका छन् । विधान महाधिवेशनका प्रतिनिधिहरुले भण्डारीको सदस्यताका बारेमा प्रश्न उठाएपछि ओलीले मध्यमार्गी बाटो लिँदै उनीसङ्ग पून छलफल गर्ने र त्यसका आधारमा फेरि सचिवालय र केन्द्रीय समितिमा छलफल गरेर ठोस निर्णय लिइने प्रतिवद्धता विधान महाधिवेशनको हलमा ब्यक्त गरेका थिए ।

ओलीको प्रतिवद्दताका आधारमा अब उनले पूर्वराष्ट्रपति विद्यासँग फेरि संवाद गर्नेछन् । त्यसपछि उक्त संवादका आधारमा केन्द्रिय कमिटि र सचिवालय बैठकमा सदस्यता नविकरणका विषयमा छलफल हुनेछ । ओली एकचरण प्रतिनिधिहरुसँग भण्डारीसँग छलफल गरेको देखाउनकै लागि भएपनि संवादमा जाने निश्कर्षमा पुगेको ओली निकट नेताहरुले बताएका छन् ।

‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको प्रष्ट धारणा भनेकै पूर्व राष्टपति राजनीतिमा फर्किनु हुन्न भन्ने नै छ । तर विधान महाधिवेशनका प्रतिनिधिले प्रश्न उठाएपछि उहाँ (ओली)ले एकचरण फेरि भण्डारीसँग छलफल गर्ने सोच बनाउनुभएको छ । त्यहाँ पनि अध्यक्षको जोड पार्टीमा नखेलिदिनुस्, सक्रिय राजनीति होइन, राष्टिय ब्यक्तित्व भएर बस्नोस् भन्ने आग्रह् नै हुन्छ । त्यसका लागि उहाँले समय मिलाएर अब एकपटक फेरि पूर्व राष्ट्रपतिलाई भेटनु हुन्छ,’ ओली निकट एक पदाधिकारीले सफलखबरसँग भने ।

उता भण्डारीपक्ष भने ओलीले निषेधको राजनीति गर्न चाहेपनि विधान महाधिवशेनमा आफनो पक्षमा उल्लेख्य प्रतिनिधिहरु खुलेको भन्दै उत्साहित छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्षले प्रतिनिधिहरुलाई अनेक डर देखाएरै विधाको पार्टी सदस्यताका बारेमा नबोल्न निर्देशन गरेपनि प्रतिनिधिहरुले खुलेर बोलेको भन्दै विधा पक्ष उत्साहित भएको हो ।

‘पूर्वराष्ट्रपतिको सदस्यताका विषयमा हलमा प्रतिनिधिले सुझाव राखेका छन् । ती चासो र सरोकार सम्बोधन हुने गरी उहाँसँग संवाद र छलफल गरी केन्द्रीय कमिटी र सचिवालयको बैठकबाटै टुंगो लगाउने पार्टी अध्यक्षको प्रतिबद्धता आएको छ । यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ ।’ भण्डारी पक्षका नेता विनोद ढकालले भने ।

प्रतिक्रिया दिनुहोस