एमाले बैठकमा ओलीको प्रश्न : 'पार्टीबाट गलहत्याएर निकालेर राष्ट्रनायक हुन्छु म ?'

सफल खबर संवाददाता

सोमबार, २७ असोज २०८२, ०८ : ५५
एमाले बैठकमा ओलीको प्रश्न : 'पार्टीबाट गलहत्याएर निकालेर राष्ट्रनायक हुन्छु म ?'

काठमाडौं । नेकपा एमाले सचिवालय बैठकमा केपी ओलीले आफुलाई पार्टीबाट निकालेर गलहत्याउन खोजिएको भन्दै आक्रोश पोखेका छन् ।

जेन जी विद्रोह भन्दा तीनदिन अगाडी मात्रै पूर्व राष्ट्रपति विधा भण्डारीको सदस्यता रोक्ने, उमेर हद हटाउने र दुई कार्यकाल भन्दा बढी पनि कार्यकारी पद लिन पाउने गरी फेरि पनि एमाले अध्यक्ष बन्ने गरी आफनो अनुकुलतामा विधान अधिवेशनमा एकछत्र निर्णय गराएका ओलीले दुई दिन पछि नै सरकारको नेतृत्व छोडेर बालुवाटारबाटै हेलिकप्टरमा भाग्नुपर्ने स्थिती सिर्जना भयो ।

त्यसपछि, एमालेभित्र अहिले उनलाई पद छोड्न उत्तिकै दवाव छ । उनलाई विधान अधिवेशनमा साथ दिएका विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ देखि योगेश भट्टराई, गोकर्ण विष्टसम्मले अहिले ओलीलाई नेतृत्व हस्तान्तरण र विद्या भण्डारीको सदस्यता रोक्ने निर्णय पूर्नविचार गर्न आग्रह गरेपछि ओली आइतबार पार्टी बैठकमा आक्रोशित भएका हुन् ।

ओलीले पार्टीले आफुलाई अझैपनि राष्ट्रनायक मानिदिनुपर्ने र बनाउनु पर्नेमा घुमाउरो निर्देशन थियो । उनले जेन जी विद्रोह विदेशीहरुको षड्यन्त्रका आधारमा भएको र त्यस्तो षड्यन्त्रको पछि कुदेर पार्टीभित्र पुस्तान्तरण, नेतृत्व हस्तान्तरण आदी इत्यादी भनेर रडाँको मच्चाइरहनु नहुने बताए ।

उनलाई विष्ट र भटटराईले त तत्काल राजीनामा दिएर अभिभावकत्व ग्रहण गर्न आग्रह नै गरेका थिए । तर एक नेतालाई खेलाएर वा मनोवैज्ञानिक त्रास सिर्जना गरेर ओली आफु अनुकुल निर्णय गराउन सदैव अगाडी देखिन्छन् । आइतबार पनि उनले त्यसै गरेको बैठकमा सहभागी एक पदाधिकारीले सफलखबरसँग भने ।

जेन जी आन्दोलनपछि अब नयाँ ढंगले नेतृत्वसम्वन्धी विषयमा पूर्नविचार गर्नुपर्ने तर्क गरिरहेका उपाध्यक्ष रामबहादुर थापा (बादल)लाई उनले आइतबारको बैठकमा आफुतिर ढल्काएको स्रोत बताउँछ । त्यसपछि उनले निर्वाचन भन्दा संसद पूर्नस्थापना र अर्ली महाधिवेशनको निर्णय गराउन सकेका थिए । बादल नै ओलीतिर ढल्किएपछि पूर्व माओवादी धारका नेताहरु लेखराज भटट लगायतले आइतबारको बैठकमा खास प्रष्ट खुलेर धारणा नराखेको ती पदाधिकारीले बताए ।

ओलीले विधालाई सदस्यता नविकरण गर्नुपर्छ पनि भन्ने र आफुलाई महान र राष्टबादी नेता पनि भन्ने गरेर पार्टी नेताहरुले दोहोरो कुरा गरेको र त्यसलाई आफुले नेताहरुको नियत के हो भन्नेबारेमा सहज रुपमा बुझेको भन्दै झेली खेल नखेल्न नेताहरुलाई चुनौति दिएका थिए ।
‘तपाईंहरू (पार्टी सचिवालय सदस्यहरु) एकातिर विद्या भण्डारीको सदस्यता नवीकरण गर्ने भन्नुहुन्छ र अर्कोतिर नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्नुहुन्छ । यसको अर्थ सिधै मलाई छोड्नुस् भनेको होइन र ? के म यो बुझ्दिनँ र ?’ ओलीको बैठकमा ब्यक्त भनाई उद्धृत गदै ती पदाधिकारीले सफलखबरसँग भने, ‘एकातिर विद्याजीलाई ल्याउन हस्तान्तरणको कुरा गर्दै हुनुहुन्छ । अनि अर्काेतिर मलाई तपाईं एकदम महान्, राष्ट्रवादी र सर्वोच्च व्यक्ति भन्नुहुन्छ । यसरी पार्टीबाट गलहत्याएर निकालेर राष्ट्रनायक हुन्छु म ?’

ओलीले पार्टीले आफुलाई अझैपनि राष्ट्रनायक मानिदिनुपर्ने र बनाउनु पर्नेमा घुमाउरो निर्देशन थियो । उनले जेन जी विद्रोह विदेशीहरुको षड्यन्त्रका आधारमा भएको र त्यस्तो षड्यन्त्रको पछि कुदेर पार्टीभित्र पुस्तान्तरण, नेतृत्व हस्तान्तरण आदी इत्यादी भनेर रडाँको मच्चाइरहनु नहुने बताए ।

‘म प्रष्ट छु जेन जी आदी जे भने पनि यो भित्र विदेशीहरुको षड्यन्त्र छ । त्यसमा हामीले अल्झिरहनु आवश्यक छैन । हामी संसद पूर्नस्थापनाको माग लिएर सर्वाेच्च जानुपर्छ । अहिले चुनाव हुने वातावरण पनि छैन । नेताहरुलाई असुरक्षित बनाउने उदेश्य बोकेर कसरी चुनाव हुन्छ ?’ ओलीले लामो ब्याख्या गदै बैठकमा भनेका थिए,‘कोही तरंगित हुन पदैन । मंसिर अन्तिम सातासम्म अर्ली महाधिवेशन गर्ने र त्यसवाट चुनिएर आउने नेता बन्ने हो । महाधिवेशनको मिति केन्द्रीय समितिबाट तय गरेर जाऔं ।’ एमालेले महाधिवेशनको मिति र स्थान तय गर्न २९ असोजमा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

विद्या भण्डारी सदस्यता नविकरणका लागि सर्वाेच्च पुगेको खुलासा

ओलीले पार्टी बैठकमा विद्या भण्डारी आफनो सदस्यता नविकरणको मुद्दा लिएर सर्वाेच्च अदालत पुगेको पनि खुलासा बैठकमा गरेका थिए । ‘पार्टीको आन्तरिक कुरा बोकेर सर्वाेच्च धाउने नेतालाई कसरी पार्टी सदस्यता दिन सकिन्छ ?’ ओलीले नेताहरुसँग प्रश्न गरेका थिए ।

विधान अधिवेशनमा विद्या भण्डारीको सदस्यता रोक्ने निर्णयमा साथ दिएका उपाध्यक्ष विष्णु पौडेलले नै सचिवालाय बैठकमा भण्डारीको सदस्यता नविकरण गर्नुपर्ने मत अलिक जोडतोडका साथ राखेपछि ओलीले भण्डारीलाई सदस्यता नविकरण गराउनै नसक्ने मत फेरि दोहोरयाएका हुन् ।

‘विद्याजीले पार्टी सदस्यता नवीकरणका लागि सर्वोच्च अदालतमा मान्छे पठाएर निवेदन दिनुभयो । तर, न्यायाधीश कुमार रेग्मीले पार्टीको आन्तरिक विषय अदालतले टुंग्याउन मिल्दैन भन्दै फिर्ता गर्नुपर्‍यो । अनि त्यस्तो मान्छे (विद्या)लाई अहिले फेरि सदस्यता चाहिएको छ । उहाँलाई सदस्यता दिन सकिँदैन,’ ओलीको भनाई उद्धृत गदै ती पदाधिकारीले भने ।