एक साता बित्दा सम्म हुन सकेन ओली–नेपाल भेटवार्ता, भेट गराउन सुवास नेम्वाङ  र विष्णु पौडेलको दौडधुप तिब्र

सफल खबर संवाददाता

शुक्रबार, १५ साउन २०७८, १० : ३४
एक साता बित्दा सम्म हुन सकेन ओली–नेपाल भेटवार्ता, भेट गराउन सुवास नेम्वाङ  र विष्णु पौडेलको दौडधुप तिब्र

काठमाडौं । गत साउन ७ गते पार्टी विवाद मिलाउने जिम्मा आफैंंले लिएका एमाले अध्यक्ष केपी ओलीले पार्टीमा अन्तरसंर्घष चर्काईरहेका वरिष्ठ नेता माधव नेपालसँग अझै भेटवार्ता गर्न सकेका छैनन् । एकताको अन्तिम पहल आफैले लिने भनी केन्द्रीय कमिटि बैठकबाट निर्णय लिएका ओलीले साता दिन बित्दासम्म नेपालसँग भेट गर्ने मेलोमेसो मिलेको छैन ।  न सिधा ओलीले नेपाललाई भटौं भनेर प्रस्ताव राख्न सकेका छन, न माधव नेपालले नै । तर, दुवै तर्फका दूतहरुमार्फत भेटघाटको प्रयास भने जारी छ ।

ओलीले ७ साउनमा एकताको अन्तिम पहलकदमी एकपटक आफै लिने घोषणा गरेपछि माधव नेपालले भने ओलीसँग भेट्नु अगाडी सुवास नेम्वाङ र विष्णु पौडेलसँग भेटन चाहेका थिए । त्यसभित्र एउटा कारण पनि थियो । त्यो हो–पावर सेयरिङको । गत वैशाख ३० गते तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच ब्यापारी रामेश्वर थापाको चपलीहाइट स्थित निवासमा भएको वार्तामा पार्टीमा नेकपाकालको जस्तै दुई अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए । त्यसपछि गुपचुप नै राखिएको यो प्रस्तावमा न ओलीले सम्वाद अगाडी बढाएका थिए, न नेपालले नै । तर विवाद झाँगिदै गएपछि फेरि पार्टीमा दोस्रो अध्यक्ष बनाउने प्रस्ताव ओलीले केन्द्रीय कमिटि बैठकमै गरे ।

दोस्रो अध्यक्ष दिने कुरा मैले सन्देश पठाईसकेको छु, तर त्यति गर्दा पनि माधव नेपालले मानिरहेका छैनन्, ओलीले केन्द्रीय कमिटि बैठकमा सबोधनका क्रममा भनेका थिए । तर नेपालले दोस्रो अध्यक्ष भनेर पदलोलुप देखाएर आफुलाई नंग्याउन खोजेको भन्दै ओलीको त्यस्तो प्रस्ताव र त्यसमा पनि दोस्रो अध्यक्ष भनेर अपमान गर्न खोजेको भनेर तर्किएका थिए । नेपालले त्यसमा पनि आनाकानी गरेपछि साउन ७ मा एमाले नेता माधव नेपालको निवासमा सुवास नेम्वाङ र विष्णु पौडेल भेट्न पुगेका थिए ।

बराबरी हैसियतको दुई अध्यक्षसहितको व्यवस्था गर्ने गरी एमाले विवादमा पावर सेयरिङको प्रस्ताव बोकेर पौडेल र नेम्वाङ माधव नेपाल भेट्न नेपाल निवास कोटेश्वर पुगेका थिए । त्यसपछि ओलीले सोही दिनको केन्द्रीय कमिटि बैठकबाट पार्टीमा नेपाल समूहलाई सोधेको स्पष्टीकरण फिर्ता लिनेदेखि पार्टी एकताको जिम्मा आफैले लिने निर्णय लिएका थिए । तर, ओली र नेपाल अझै भेटवार्ताको तय भएको छैन् ।

त्यसपछि साउन १० र ११  गते नेपाल पक्षको स्थायी समिति बैठक क्वालिटी ब्याङ्केटमा बस्यो । नेपालमाथी नेताहरुले एकतामै जोड गरेपछि नेपालले फेरि एकपटक विष्णु पौडेल र सुवास नेम्वाडसँग पहिले सम्वाद गर्ने र त्यसपछि मात्र ओलीसँग वार्ता गर्ने मुड देखाएका थिए । ‘मलाई त अझै विश्वास छैन ओलीको, तैपनि तपाईहरूको त्यही एउटै कुरा छ भने अझै म एक चरण विष्णु पौडेल र सुवास नेम्वाङसँग छलफल गर्छु । त्यसपछि ओलीसँग सम्वाद गरौँला’, नेपालले भनेका थिए, ‘त्यसका लागि रावल कमरेडले वातावरण बनाउनुस् ।’

नेपालले त्यसपछि नेतृत्वसम्बन्धी थप ३ विकल्प प्रस्तुत गरेका थिए । पहिलो, बराबरीका दुई अध्यक्ष बनाउने, निर्णय प्रक्रियामा दुवै अध्यक्षको अनिवार्य हस्ताक्षर गराउने र त्यो अर्को अध्यक्ष अर्का वरिष्ठ नेता झलनाथ खनाललाई बनाउनु पर्ने । दोस्रो, ओली सहित झलनाथ खनाल र वामदेव गौतम रहेको अध्यक्ष मण्डल बनाउने र त्यही अध्यक्षमण्डलवाट आउने महाधिवेशनसम्म काम गर्ने र तेस्रो ओली र नेपाल सम्मले आफ्नो जिम्मेवारी छोडेर नयाँ पुस्तालाई नेतृत्व दिने ।

नेपालको यो विकल्पमा ओलीको जवाफ कुनै आएको छैन् । तर ओलीले बुधबार नै पार्टी केन्द्रीय कार्यलयमा महासचिव इश्वर पोखरेल र नेता सुवास नेम्वाङलाई निर्देशन दिँदै भनेका थिए, ‘शनिवार सम्म टुंग्याऔं, अब सबै कुरा । माधव नेपाल मिल्न आए आउँछन्, नआए अगाडी वढौं ।’
आफु लचिलो भएको तर बाहिर केही नगरेको झै प्रचार भएको भन्दै ओलीले अब धेरै समय कुर्न नसकिने नेताहरुलाई स्पष्ट पारेका थिए । ‘ शनिवारसम्म कि वार कि पार गरौ, जेजे गर्नुछ, शुक्रबार रातिसम्म गरौँ, शनिबार बिहान स्थायी समिति बैठक बोलाउनुस्। सबै त्यहीँबाट अब टुङ्ग्याऊँ।’

ओलीको पनि यस्तो निर्देशन आउनु र नेपालले पनि ओलीसँग सम्वाद गर्नु अगाडी विष्णु पौडेल र सुवास नेम्वाङसँग पहिले भेट गरेर मात्र ओलीसँग सम्वाद गर्न सकिने बताएपछि फेरि सुवास र विष्णुको दौडधुप शुरु भएको छ । नेम्वाङले विहिवार नै नेपाललाई उनको निवास कोटेश्वर पुगेर भेट गरेका थिए । उनले ओलीसँग सम्वाद गरेर एकता प्रक्रिया टुग्याउन नेपालसँग आग्रह गरेका थिए । त्यसपछि नेपालले विष्णु पौडेलसंग पनि एकचरण कुरा गरेर मात्रै ओलीसँग सम्वाद गर्ने जवाफ नेम्वाङलाई दिएर फर्काएका थिए ।

‘उहाँ (नेपाल) अलि परै हुनुहुन्छ। हामीले कोशिश गरिरहेका छौं।  दुई जना भेट्नुस् भनेका छौं, कतिपय कुरा उहाँहरूकै बीच गर्न मिल्छ। हामीले त कार्यदलका तर्फबाट १० बुँदे बनाएका छौं। त्यही कार्यान्वयन गर्नुपर्छ भन्ने हाम्रो कुरा छ। अरू केही कुरा गर्नुपर्ने हुन्छ भने त्यो उहाँहरूले गर्ने हो।’ नेपालसँगको भेटवारे नेता नेम्वाङले भने,–‘त्यसपछि उहाँले विष्णु पौडेलसँग पनि कुरा गर्छु भन्नुभएको छ । सायद उहाँले आज भेट गर्नुहुन्छ होला ।’

नेम्वाङ र पौडेल दुबै जना विवाद समाधान कार्यदलमा थिए। उक्त कार्यदलले बनाएको प्रतिवेदन नेता नेपालले स्वीकार गरेका छैनन् । नेपाल र ओलीको भेटवार्ता मिलाउने प्रयासमा आज दिनभर हुने प्रयासले टुंगो लाग्न सक्ने दुवै तर्फका नेताहरुको भनाई छ ।