मलाई प्रयोग गरेर गगनलाई हान्ने प्रयास भयो: अर्जुन नरसिंह केसी

सफल खबर संवाददाता

शनिबार, २१ चैत्र २०८२, १० : ४४
मलाई प्रयोग गरेर गगनलाई हान्ने प्रयास भयो: अर्जुन नरसिंह केसी

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं समानुपातिक सांसद अर्जुननरसिंह केसीले ससुरा–ज्वाइँको ट्याग भिराएर आफू र पार्टी सभापति गगनकुमार थापामाथि प्रहार गर्न खोजिएको आरोप लगाएका छन् । आफूलाई पार्टी सभापति थापाको ससुरा भएकै कारण अवसर पाएको भनी हुने गरेका टिप्पणीले आफूलाई फरक नपर्ने उनले बताए ।

वि.स. २०१७ पुस १ गते राजा महेन्द्रले गरेको ‘कू’ विरुद्ध पर्चा बाँड्दै गर्दा आफूले जेल जीवन सुरु गरेको र पार्टी जीवनमा आफ्नो छुट्टै पहिचान भएको उनको दाबी छ । उनले पार्टी निर्माण र लोकतन्त्र संस्थागत गर्न आफूले गरेको योगदानबारे थाहा नभएकाहरूले सभापति थापाको ससुराको रूपमा मात्र चिन्ने गरेको भन्दै तिनीहरूलाई जवाफ दिइरहनुनपर्ने बताए । 

उनले पशुपति दर्शन छिद्रको व्यापार भनेजस्तै आफ्नो नाम सभापति थापासँग जोडेर हुने गरेको टीकाटिप्पणीहरू बनिबनाउ षड्यन्त्र भएको बताए । नेपाली कांग्रेसभित्रैबाट आफ्नो पहिचान गगन थापाको ससुराको रूपमा मात्र सीमित गर्ने प्रयास गरिएको भन्दै आपत्ति समेत जनाए । 

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नेतृ शैलजा आचार्य र पूर्वप्रधानमन्त्री सुशील कोरालासहितको प्रसङ्ग निकाल्दै केसीले पार्टीमा कयौँ नेताहरूले आफ्नै योगदानका आधारमा भूमिका पाएको भन्दै पारिवारिक सम्बन्धलाई मात्र आधार बनाएर आलोचना गर्नु उचित नहुने बताए । 

पार्टी निर्माण र व्यवस्था पुनः स्थापनाका लागि आफूले गरेको योगदानबारे सबैलाई जानकारी गराएर सञ्चारकर्मीहरूले आफूलाई न्याय गर्नुपर्ने उनको भनाइ छ । आफू रूपान्तरण र पुस्तान्तरणको वकालत गर्ने भएकै कारण विशेष अधिवेशनको पक्षमा उभिएको दाबी समेत उनको छ । उनले कांग्रेस बद्लिएको हेर्न नचाहनेहरुले आफूमार्फत सभापति थापामाथि प्रहार गर्न खोजेको भन्दै त्यसले केही फरक नपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस