कुटपिटबाट एकजनाको मृत्यु, एक घाइते

सफल खबर संवाददाता

शनिबार, २१ चैत्र २०८२, ०९ : ४१
कुटपिटबाट एकजनाको मृत्यु, एक घाइते

बुटवल । दाङको देउखुरी क्षेत्रमा कुटपिटबाट एक किशोरको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । राप्ती गाउँपालिका–२ बरहाखुट्टी निवासी १७ वर्षीय स्मित प्रधान मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार बिहीबार राति करिब ८ बजे राप्ती गाउँपालिका–१ पाँखापानी निवासी १६ वर्षीय आयुष्मान थापा मगर र स्मित प्रधान साथीको घर जाने भन्दै निस्किएका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेका बेला दुई महिला र दुई अपरिचित पुरुषले कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

कुटपिटबाट घाइते भएका आयुष्मानको ढाड, बायाँ आँखा, गाला र कानमा चोट लागेको छ । उनको बुटवलमा उपचार भइरहेको दाङ प्रहरी प्रमुख राजु श्रेष्ठले जानकारी दिए ।

घाइते आयुष्मानले घटनाबारे स्पष्ट जानकारी नदिए पनि पछि स्मित पनि सँगै रहेको बताएपछि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो ।

खोजीका क्रममा शुक्रबार दिउँसो घटनास्थलदेखि करिब डेढ किलोमिटर पूर्वतर्फ गोपी नालानजिकै खोलाको बगरमा टाउकोमा चोट लागेको अवस्थामा स्मितको शव फेला परेको श्रेष्ठले बताए । 

घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ ।

प्रतिक्रिया दिनुहोस