अप्ठेरोमा पर्दै प्रधानमन्त्री ओली

मंगलबार, २५ कार्तिक २०७७, ०७ : ३५
अप्ठेरोमा पर्दै प्रधानमन्त्री ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी सचिवालयको बैठक टार्दै जाँदा आफैं अप्ठेरोमा परेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित पाँच नेताले दुई दिनभित्र सचिवालय बैठक राख्न शनिबार अल्टिमेटम दिएका थिए । तर ओलीले बैठक बोलाउनुको साटो नेताहरूलाई बालुवाटार बोलाएर छलफल गर्दै आएका छन् ।

पार्टीमा देखिएको विवाद समाधान गर्न शीर्ष नेताका साथै पूर्वमाओवादी समूहका नेताहरूले सचिवालय बैठक तत्कालै बोलाउन आग्रह गरिसकेका छन् । यसअघि प्रधानमन्त्री ओलीप्रति सहानुभूति राख्ने नेताहरूले समेत बैठकबाटै समस्याको समाधान खोज्न आग्रह गर्न थालेका छन् । ‘केही समयअघि ओलीप्रति सहानुभूति राखेका र पूर्वमाओवादी खेमाका नेताहरूले पनि बैठक राखेर विवाद अन्त्य गर्न दबाब दिँदा प्रधानमन्त्री झन् अप्ठेरोमा परेका छन्’, नेकपा उच्च स्रोतले भन्यो । पार्टी महासचिव विष्णु पौडेलले भने केही दिनमै सचिवालय बैठक बस्ने बताएका छन् । ‘परामर्शपछि सचिवालय बैठक बस्छ’, उनले भने ।  

तोकेको समयसम्म पनि ओलीले सचिवालय बैठक नबोलाएपछि सोमबार साँझ दाहालसहित वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ खुमलटारमा छलफलमा जुटेका थिए । उनीहरू मंगलबार एक दिन कुर्ने निष्कर्षमा पुगेको स्रोतले बतायो । त्यसअघि बिहान महासचिव पौडेल खुमलटार पुगेर ओली स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गर्न तयार रहेको र विधानअनुसार बैठक बोलाउन लागेको जानकारी गराएका थिए ।

पौडेलसँगको भेटमा दाहालले सचिवालय बैठक तत्कालै बोलाएर विवादित विषयबारे छलफल गर्नुपर्नेमा जोड दिएका थिए । दाहालले सचिवालय बैठक आफैं पनि बोलाउन सक्ने संकेत गरेका थिए । स्रोतका अनुसार दाहालले पौडेलसँग भने, ‘कार्यकारी अध्यक्षको हैसियतले सचिवालय बैठक बोलाउन म पनि सक्छु तर ओलीजीले नै बैठक बोलाऊँ भन्नुभयो भने झन् सहज हुन्छ, विवाद हुन्न । पार्टी एकीकरणको मर्म र भावनाको सम्मान हुन्छ त्यसकारण चाँडै बैठक बसौं ।’ 

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित पाँच नेताले दुई दिनभित्र सचिवालय बैठक राख्न शनिबार अल्टिमेटम दिएका थिए । तर ओलीले बैठक बोलाउनुको साटो नेताहरूलाई बालुवाटार बोलाउँदै छलफल गर्दै आएका छन् । 

महासचिव पौडेलले भरसक चाँडै नै सचिवालय बैठक बस्ने बताउँदै दुई अध्यक्षबीच देखिएको संवादहीनता र दूरी कम गर्न आग्रह गरेका थिए । ‘पार्टी एकता दुई अध्यक्षले नै गरेको, त्यसलाई जोगाउने काम पनि दुई अध्यक्षकै भएकाले समस्याको समाधान भनेकै संवाद हो । त्यसकारण दूरी बढाएर वा एकले अर्कालाई दोष देखाएर पन्छिन मिल्दैन । संवादबाटै समस्या समाधान गर्न आग्रह गरिएको छ’, महासचिव पौडेललाई उद्धृत गर्दै स्रोतले भन्यो ।

महासचिव पौडेलले दुई अध्यक्ष र नेता नेपालबीच संवाद होस् भन्ने सबैको चाहना रहेको र संवादबाटै बैठकको अजेन्डा तय होस् भन्ने आफूहरूको आग्रह भएको बताएका थिए । दाहालले भने एक्लाएक्लै संवाद गर्नुभन्दा सबै विषय बैठकमै राख्ने र त्यहीं छलफल गर्ने बताएका थिए । स्रोतका अनुसार महासचिव पौडेलले तीन नेताबीच अनौपचारिक छलफल गरेर बैठकको अजेन्डा तय गर्न प्रस्ताव गरेका थिए ।  

बालुवाटार पुगेका चार नेता प्रधानमन्त्रीलाई नभेटी फर्किए
नेकपाभित्रको आन्तरिक विवाद समाधान गर्न अग्रसर देखिएको तत्कालीन विवाद समाधान कार्यदलका सदस्यहरु सोमबार बालुवाटार पुगेर पनि प्रधानमन्त्री ओलीसँग भेट नगरी फर्किएका छन् । ओलीसँग छलफल गर्न तत्कालीन कार्यदलका चारजना प्रधानमन्त्री निवास पुगेका थिए ।  नागरिक दैनिकमा खबर छ ।