खारेज भएका ८ कर्मचारी संगठनका भवन ३ दिनभित्र खाली गराउन मन्त्रालयको निर्देशन

सफल खबर संवाददाता

सोमबार, २२ असार २०८३, २१ : २९
खारेज भएका ८ कर्मचारी संगठनका भवन ३ दिनभित्र खाली गराउन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले खारेजीमा परेका विभिन्न ८ वटा निजामती कर्मचारी ट्रेड युनियन तथा संगठनहरूलाई ३ दिनभित्र सरकारी जग्गामा निर्मित भवन तथा भौतिक संरचना खाली गर्न कडा निर्देशन दिएको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै उक्त अल्टिमेटम दिएको हो।तोकिएको समयभित्र भवन खाली नगरे प्रचलित कानुनबमोजिम बल प्रयोग गरेर भए पनि संरचना खाली गराइने सरकारको तयारी छ।

३ दिनभित्र तालाचाबी बुझाउनू: मन्त्रालयमन्त्रालयद्वारा जारी सूचनाअनुसार, साविकका युनियन तथा संगठनहरूले सरकारी जग्गाको भोगाधिकार प्राप्त गरी निर्माण गरेका भवन, कार्यालय वा कोठाहरू ३ दिनभित्र पूर्ण रूपमा खाली गर्नुपर्नेछ।यसका साथै, ती भवनमा रहेका आवश्यक कागजात, सम्पत्तिको जिम्मेवारी र भवनको तालाचाबी मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउन निर्देशन दिइएको छ। यदि ती संगठनहरूले सरकारी जग्गाका संरचना तेस्रो पक्षलाई बहाल (भाडा) मा दिएका भए सोसमेत खाली गराउनुपर्ने सूचनामा उल्लेख छ। म्यादभित्र अटेर गरेमा प्रचलित कानुनबमोजिम कडा कानुनी कारबाही प्रक्रिया अघि बढाइने चेतावनी मन्त्रालयले दिएको छ।

प्रतिक्रिया दिनुहोस