काठमाडौ । ब्राजिलका लिजेन्ड्री फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्याँस घोषणा गरेका छन् । विश्वकपको अन्तिम १६ को खेलमा नर्वेसँग २-१ ले पराजित भएसँगै ३४ वर्षीय स्टारले संन्न्यास घोषणा गरेका हुन् ।
न्यू जर्सीको इस्ट रदरफोर्डस्थित मेटलाइफ स्टेडियममा भएको उक्त खेलपछि नेयमारले आफ्नो सन्न्याँसबारे स्पष्ट पारे । उनले भावुक हुँदै भने, 'मैले प्रयास गरेँ, धेरै प्रयास गरेँ। तर अब यो सकियो। मैले यहीँबाट शुरू गरेको थिएँ, र यहीँ नै अन्त्य गरेँ।'
नेयमारले सन् २०१० मा अमेरिकी राष्ट्रिय टोलीविरुद्ध यही मेटलाइफ स्टेडियमबाटै ब्राजिलका लागि पहिलो खेल (डेब्यु) खेलेका थिए । संयोगवश, उनको ऐतिहासिक अन्तर्राष्ट्रिय करियरको अन्त्य पनि सोही मैदानबाट हुन पुगेको छ ।
नर्वेविरुद्धको हारमा खेलको अन्तिम समयतिर पेनाल्टीमार्फत सान्त्वना गोल गर्दै नेयमारले ब्राजिलका लागि आफ्नो कीर्तिमानी गोल सङ्ख्या ८० पुर्याए। सन् २०२३ यता ब्राजिलका लागि यो उनको पहिलो गोल हो।
सन् २०२३ मा घुँडाको गम्भीर चोटका कारण लामो समय मैदानबाहिर रहेका र आफ्नो लय समात्न सङ्घर्ष गरिरहेका नेयमारलाई सन् २०२६ को विश्वकप टोलीमा समावेश गर्नु आफैँमा सरप्राइज थियो। पिँडौँलाको चोटका कारण ब्राजिलका सुरुवाती दुई खेल गुमाएका उनले यस विश्वकपमा मात्र दुई पटक वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्ने मौका पाएका हुन्।
समूह चरणमा स्कटल्याण्डविरुद्ध दोस्रो हाफमा मैदान छिरेका उनले नर्वेविरुद्धको खेलको इन्जुरी समयमा पेनाल्टीमार्फत विश्वकपको आफ्नो एक मात्र गोल गरे। नेयमारले १२९ खेलमा ८० गोल गर्दै ब्राजिलियन पुरुष राष्ट्रिय टोलीको इतिहासमै सबैभन्दा बढी गोल गर्ने खेलाडीको रूपमा आफ्नो करियर टुङ्ग्याएका छन्।
सन् २०१० मा सिनियर टोलीमा डेब्यु गरेका नेयमारले चार वटा विश्वकप र दुई वटा ओलम्पिक प्रतियोगिता खेलेका छन्, जसमा उनले सन् २०१२ मा रजत पदक र सन् २०१६ मा ब्राजिललाई ऐतिहासिक स्वर्ण पदक दिलाएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ असार २०८३, ०७ : ५०
लेखकबाट थप