ओलीले किन पठाए नेम्वाङलाई खुमलटार ?

सफल खबर संवाददाता

विहीबार, १३ कार्तिक २०७७, ०९ : ४९
ओलीले किन पठाए नेम्वाङलाई खुमलटार ?

काठमाडौं । सत्तासिन दल नेकपाका दुई अध्यक्षका वीचमा एक साता यता सम्वाद छैन । न प्रत्यक्ष सम्वाद छ, न त टेलिफोनमा नै सम्वाद भएको छ । प्रधानमन्त्री ओलीले गत मंगलवार कार्यकारी अध्यक्ष प्रचण्डसँगको सम्वादमा स्थानीय प्रदेश कमिटीलाई नै कर्णाली विवादका विषयमा निर्णय गर्ने जिम्मा दिन गरेको प्रस्ताव विपरित अलग्गै चार वुँदे सहमति प्रचण्डसँग भएको प्रेस नोट आफ्ना प्रेस सल्लाहकार सूर्य थापामार्फत एकतर्फी रुपमा जारी गर्न लगाएपछि विवाद झन् बल्झिएको छ ।

त्यसपछि ओली र प्रचण्डका बीचमा सम्वाद हुन सकेको छैन । बरु त्यही दिन साँझ टेलिफोनमा ओली र प्रचण्डका बीचमा बाझाबाझ भने भएको स्रोत बताउँछ ।

यो बीचमा ओलीले बरिष्ठ नेता माधव नेपाललाई प्रचण्डसँग मिल्न नदिन र आफूतिरै तान्ने प्रयासमा उनले दुई पटक एक्लाएक्लै भेटे । तर माधव नेपालले ओलीले अगाडि सारेको चारोमा रमाउने प्रयास गरेनन । ओलीको नेपाल फकाउने प्रयास पनि असफल भएपछि प्रधानमनत्री ओलीले सम्वादहिनतामा रहेका अर्का अध्यक्ष प्रचण्डसँग फेरि दूतमार्फत सम्वाद गर्ने प्रयास थालेका छन् ।

त्यही क्रममा उनले हिजो आफ्नो दूतका रुपमा पूर्वसभामुख तथा स्थायी समिति सदस्य सुवास नेम्वाङलाई खुमलटारस्थित प्रचण्ड निवास पठाएका थिए । नेम्वाङ ओली र प्रचण्डका बीचमा टुटेको सम्वाद पून थालनी गर्न र आपसी अविश्वास र विवादलाई छलफलकै माध्यमबाट अगाडि बढाउन माग गर्दै खुमलटार पुगेका थिए ।

गत भदौमा लामो विवादपछि स्थायी समिति बैठकले दुई अध्यक्षको जिम्मेवारीलाई थप परिभाषित गर्दै मन्त्रीपरिषद् पूर्नगठन गर्ने, राजनीतिक सम्वैधानिक नियुक्तिहरु पार्टीभित्र छलफल गरेर गर्ने लगायतका १५ बुँदे प्रस्ताव पारित गरेको थियो ।

तर त्यो निर्णय ओलीले कार्यान्वयन नगरेको आरोप प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरुले लगाएका छन् । तर ओली पक्षका नेताहरुले भने मन्त्रिपरिषद् पूर्नगठन तिहारपछि व्यापक रुपमा गर्ने र अहिले अध्यक्ष प्रचण्डको सहमतिमै रिक्त तिन मन्त्रालयमा मात्र मन्त्री नियुक्त गरेको प्रष्टिकरण दिँदै आएका छन् ।

तर यस बीचमा ओलीले नियुक्तिहरु एकलौटी फेरि गरेको, मन्त्रिपरिषद्का रिक्त मन्त्री नियुक्तिमा पार्टीभित्र सहमति नगरेको, कर्णालीमा अनावश्यक विवाद झिकेको र पार्टी एकता विपरितको काम गर्ने प्रयास गरेको, अध्यक्ष प्रचण्डसँग सल्लाहबिनै मुख्यमन्त्रीलाई निर्देशनात्मक शैलीमा सर्कुलर गरेको र भारतीय खुफिया एजेन्सी ‘रअ‘ का प्रमुखलाई वालुवाटार बोलाएर भेट गरेको विषय अहिले नेकपाभित्र विवाद बनिरहेको छ ।

जसकाकारण ओली र प्रचण्डका बीचमा पनि विवाद बढेको छ । यही विवादले ओलीलाई फेरि अप्ठ्यारो पार्ने देखेपछि उनले आफ्ना दुत नेम्वाङलाई सम्वादहिनता तोडनका लागि हिजो खुमलटार पठाएका हुन् । नेम्वाङले प्रचण्डसँग पहिले जुन विन्दुमा सहमति भएको हो त्यही विन्दुवबाट दुई अध्यक्षले समझदारी बनाएर जानुपर्ने प्रस्ताव राखेका थिए ।

’पार्टीभित्र समस्या छ, अहिले ती समस्याहरु समाधान गर्नुपर्छ । दुई अध्यक्षबीच यस अगाडि पार्टीमा जुन समझदारी भएको थियो, त्यही समझदारीको विन्दुबाट अगाडि बढ्नुपर्छ भनेर अध्यक्ष प्रचण्डलाई भेटेर भन्न गएको हुँ,’ नेम्वाङले प्रचण्डसँगको भेटको पुष्टि गदै सफलखबरसँग भने ।