सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने

सफल खबर संवाददाता

मंगलबार, १९ जेठ २०८३, १२ : ३५
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने

काठमाडौँ । नेकपा एमालेले पार्टीको सदस्यता नवीकरण, विस्तार तथा संगठनात्मक सुदृढीकरणलाई केन्द्रमा राखेर दुई दिने राष्ट्रिय कार्यशाला आयोजना गर्ने भएको छ। उक्त कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रम तय गरिएको छ।

प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएयता अध्यक्ष ओली पहिलो पटक सार्वजनिक कार्यक्रममार्फत पार्टी गतिविधिमा देखिन लागेका हुन्। कार्यशालाको उद्घाटन अध्यक्ष ओलीबाट हुने एमालेले जनाएको छ।पार्टीको केन्द्रीय संगठन विभागको व्यवस्थापनमा सञ्चालन हुने कार्यशाला जेठ २० र २१ गते काठमाडौँको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना गरिनेछ। कार्यक्रम पहिलो दिन बिहान ११ बजेदेखि सुरु हुने तालिका रहेको छ।

एमाले प्रचार विभागका अनुसार संगठनको प्रभावकारिता बढाउने, सदस्यता व्यवस्थापनलाई व्यवस्थित बनाउने तथा संगठनात्मक गतिशीलता अभिवृद्धि गर्ने उद्देश्यसहित कार्यशालाको आयोजना गरिएको हो।

कार्यक्रममा प्रदेश तथा जिल्ला तहका इन्चार्जहरू, प्रदेश कमिटी वा सोसरहका संरचनाका पदाधिकारी, कार्यालय सचिवहरू, जिल्ला कमिटीका अध्यक्ष, संगठन विभागका जिम्मेवार पदाधिकारी तथा विभिन्न जनसंगठनका केन्द्रीय नेतृत्व सहभागी हुनेछन्।

कार्यशालामा पार्टी सदस्यता विस्तारका रणनीति, नवीकरण प्रक्रियाको प्रभावकारी कार्यान्वयन तथा संगठन सुदृढीकरणसम्बन्धी आगामी कार्ययोजनामाथि छलफल र अभिमुखीकरण गरिने जनाइएको छ।