प्रधानमन्त्रीकै निम्तोमा भारतीय ‘रअ’ प्रमुख विमान चार्टर गरेर नेपालमा

सफल खबर संवाददाता

विहीबार, ०६ कार्तिक २०७७, ०८ : ४६
प्रधानमन्त्रीकै निम्तोमा भारतीय ‘रअ’ प्रमुख विमान चार्टर गरेर नेपालमा

काठमाडौं । बुधबार बिहान सम्म भारतीय गुप्तचर सस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल नेपाल आउँदैछन् भन्ने सुइँको नेपालका अधिकारीहरुलाई थाहा थिएन । पर्यटन मन्त्रालयलाई समेत यो विषय उनी नेपाल आउनु केही घण्टा अगाडी मात्रै जानकारी गराइएको थियो ।

त्यसपछि मात्रै पर्यटन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरण र विमानस्थल कार्यालयलाई जानकारी गराएको थियो– ‘एक भारतीय भिभिआइपी आइएफसी ४६२० कलसाइनको जहाजमा दिउँसो १ बजे काठमाडौं अवतरण गर्ने र बिहीबार बिहान ९ः४५ बजे फर्कने गरी फ्लाइट प्लान बनाएर आउँदै हुनुहुन्छ । त्यही अनुसारको तयारी गर्नु ।’ को आउँदैछन् ? कसलाई भेट्दैछन र कसको निम्तोमा आउँदैछन् ? वुधबार गोयल काठमाडौं नझर्दासम्म कसैलाई थाहै थिएन । तर जब उनी दिउँसो १ बजे अर्का अधिकारी अरुण जैनसहित नौजनाको टोली लिएर काठमाडौं आए झन उनको भ्रमण रहस्यमय बनाईदियो ।

नेपालको आन्तरिक राजनीतिमा सधै वक्रदृष्टि राख्ने र यहाँका नेताहरुलाई जहिल्यै भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनलाइसिस विङ ‘रअ’का मान्छेहरुले चलाउने गरेको आरोप लागिरहेका बेला जाहाज नै चार्टर गरेर उक्त संस्थाकै प्रमुख अचानक किन नेपाल आए ?  मान्छेहरुका मनमा अनेक प्रश्न उठे । न सरकार न सम्बन्धित देशका राजदुत या परराष्ट्र मन्त्रालयले नै यस बारे कुनै औपचारिक टिप्पणी गर्न खोज्यो । तर रअ प्रमुख काठमाडौं आएलगत्तै प्रधानमन्त्री निवास बालुवाटार छिरे । प्रधानमन्त्रीले उनी सहितको टोलीलाई बालुवाटारमा स्वागत गरे । अनि चियापान गराए । यो पछि थाहा भएको छ, यो पहिल्यै देखिको सेटिङमा भएको छ ।

प्रधानमन्त्रीकै निम्तोमा गोयलको टोली काठमाडौं आएको छ । अहिले बिहान पौने १० बजे यो टोली त्यही आइएफसी ४६२० कलसाइनको जहाजमा स्वदेश फर्किदैछ ।  प्रधानमन्त्रीले नै बालुवाटारमा बोलाएर स्वागत गरिसकेपछि गोयल टोलीले अन्य राजनीतिक नेताहरुसँग पनि भेटवार्ता गर्ने तयारी गरेका छन् । कतिपयसँग उनले गोप्य भेटघाट गरिसकेका छन भने कतिपयसँग जानु अगाडी भेट्दैछन् ।

नेपाल भारत सम्बन्ध सुधार हुन नसकेको, नेपालले आफनो भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूभाग समेटेर नक्सा सार्वजनिक गर्दा कसैको इशारामा नेपाल बोलेको तुच्छ आरोप लगाउने भारतीय सेनाध्यक्ष मणिमुकुन्द नरवणे कात्तिक १८ मा नेपालमा आउन लागेको र उनको समेत स्वागत र सम्मानको तयारीमा सरकार जुटिरहेका बेला प्रधानमन्त्रीले नै भारतीय गुप्तचर प्रमुखलाई बोलाएर स्वागत गर्नुको भित्री रहस्य अझै खुल्न सकेको छैन् ।

बोलीमा राष्ट्रवाद र ब्यवहारमा आत्मसर्मपर्णवादको नीति लिईरहेको नेपाल सरकारले आफनो भूमि जुन भारतले अतिक्रमण गरेको छ, त्यसबारेमा कुटनीतिक वार्ताको पहल गर्न चुक्नु तर गुप्तचर प्रमुखलाई स्वागत गर्न भने हत्तारिनुले सरकारको राष्ट्रवादको जामा उधारिदिएको कुटनीतिक वृत्तमा यतिबेला चर्चा हुन थालेको छ ।

प्रधानमन्त्री ओलीले आन्तरिक राजनीतिमा आफुलाई परेको अप्ठयारोमा भारतको साथ सहयोग खोजेर सत्ता लम्ब्याउने र बिग्रेको सम्बन्ध सुधार गरेर भारतभक्ति देखाउने उदेश्यले गोयललाई काठमाडौंमा स्वागत गरेको हुन सक्ने अड्कलवाजी पनि भईरहेको छ । तर यो विषयमा सरकारले केही अहिलेसम्म बोलेको छैन । गोयल फर्केपछि नेपालको राजनीतिमा कुन खालको तरंग आउँछ , त्यसले पनि कतिपय विषयको पर्दा उर्घाने अनुमान कुटनीतिक वृत्तमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस