वामदेव गौतम विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखियो

सफल खबर संवाददाता

बुधबार, १४ असोज २०७७, १७ : ४५
वामदेव गौतम विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको हेर्दाहेर्दैमा राखिएको छ ।

आज बुधबार संवैधानिक इजलासमा सुरु भएको गौतमविरुद्धको रिट निवेदनको बहस नसकिएकाले पर्सि शुक्रबार पनि हुने भएको छ ।

बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासको पूर्ण इजलासमा रिट निवेदक र विपक्षी दुबैपक्षबाट बहस भए पनि अझै कानुन व्यवसायीहरुले बहस गर्ने क्रम नसकिएका कारण शुक्रबारसम्मलाई सरेको हो ।

आज निवेदकहरुका तर्फबाट वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरिप्रसाद उप्रेती, निवेदक स्वयं वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता पंकज कर्णले बहस गरेका थिए । 

यस्तै चिया समयपछि निवेदकहरुलाई बोल्न छोटो समय दिइएको थियो । यसपछि सरकारी वकिलहरुले बहस गरेका थिए । सरकारी वकिलका तर्फबाट बहस गर्न महान्यायाधिवक्ता अग्नि खरेल आफैंसहित चार जना सहभागी थिए ।

सरकारी वकिलपछि गौतमका वकिलहरुको बहस गर्ने पालो थियो । गौतम र विपक्षीहरुका तर्फबाट वरिष्ठ अधिवक्ता प्रा.डा. युवराज संग्रौला, राघवलाल वैद्य, प्रेमबहादुर खड्का, चन्द्रकान्त ज्ञवाली, कुमार शर्मा आचार्य, शेरबहादुर केसी, बाबुराम दाहाल, सुरेन्द्र थापामगर, रुद्र नेपाललगायतको सूची थियो । केसी नेपाल बार एशोसिएसनका पुर्व अध्यक्ष हुन् भने थापा मगर अघिल्लो वर्ष भएको निर्वाचनमा आफ्नै समूहभित्रको अन्तर्घातका कारण नेपाल बार एशोसिएसनको महासचिव पराजित भएका थिए । 

निवेदनकको तर्फबाट बहस गरेका  वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीका अनुसार संवैधानिक इजलास बुधबार र शुक्रबार बस्ने विगतदेखिको अभ्यास छ । आज समयअभावका कारण मुद्दा हेर्दाहेर्दैमा राखिएको बताउँदै उप्रेतीले भने, ‘गौतमको मुद्दा शुक्रबारको इजलासबाट छिनोफानो हुन सक्छ ।’ संवैधानिक इजलासमा गौतम विरुद्धको मुद्दा आज जुन–जुन न्यायाधीशहरुले हेरेका थिए । अर्को दिन पनि तिनै–तिनै न्यायाधीशले हेर्नेछन् । 

प्रतिक्रिया दिनुहोस