वामदेव गौतम भन्छन् : ‘राष्ट्रिय सभा मै जाने हो, त्यसमा कुनै सम्झौता गर्दिन’

सफल खबर संवाददाता

बुधबार, १७ भदौ २०७७, ०८ : ३४
वामदेव गौतम भन्छन् :  ‘राष्ट्रिय सभा मै जाने हो, त्यसमा कुनै सम्झौता गर्दिन’

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभामा आफुलाई पठाउने पार्टी निर्णयमा कसैसँग पनि सम्झौता नगर्ने बताएका छन् । प्रधानमन्त्री केपी ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरताका लागि सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गर्ने तीन मध्ये रिक्त एक पदमा दोहो¥याएर पठाउने र उपाध्यक्ष गौतमको पार्टी निर्णयलाई पन्छाउने तयारी गरिरहेका बेला गौतमको त्यस्तो भनाई आएको हो । 

गत फागुन १४ मा बसेको नेकपाको सचिवालय बैठकले सर्वसम्मत रुपमा राष्ट्रिय सभामा गौतमलाई पठाउन सिफारिस गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो । त्यो निर्णयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली शर्मा स्यवंको समेत हस्ताक्षर छ । तर पार्टीले निर्णय गरेको एक घण्टा पनि नबित्दै ओलीले वरिष्ठ नेता माधव नेपाललाई पूनः बालुवाटार बोलाएर पार्टी निर्णय आफुले नमान्ने र सबै निर्णय मान्न कार्यकारी प्रधानमन्त्री बाध्यकारी नहुने भन्दै खतिवडालाई नै सरकारले सिफारिस गरेर पठाउने बताएका थिए । 

पार्टी अध्यक्षले नै पार्टी निर्णय मान्दिन भनेर खुल्ला चुनौति दिएपछि नेकपामा विवादले चरम रुप लिएको थियो । पाटी बैठकको अध्यक्षता आफै समेतले गरिरहेका बेला बैठकमा कुनै फरक मत नराख्ने र सर्वसम्मत उपाध्यक्ष गौतमको पक्षमा निर्णय लिने र बैठक सकेपछि निर्णय नमान्ने प्रधानमन्त्रीको हठपछि नेकपामा ६ महिना अगाडी पनि विवादले चरम रुप लिएको थियो ।  पार्टी निर्णय कार्यान्वयन गर्ने, नगर्नेमा फागुन १८ को सचिवालयमा छलफल गर्ने एजेण्डा थियो । तर त्यो बैठकमा ओलीले बैठकको शुरुआतमै आफुले दोश्रो पटक मृगौला प्रत्यारोपणको सम्पूर्ण तयारी पूरा गरेको, दुई दिनमा अस्पताल भर्ना हुन लागेको देखि मृगौला प्रत्यारोपणको समय तालिका समेत ब्यक्त गरेपछि बैठक एजेण्डामै छलफल नगरी त्यक्तिकै थन्किएको थियो । 

यो विषयले फेरि ६ महिनापछि नेकपामा विवाद बल्झाएको छ । ओलीले गत शुक्रबार उपाध्यक्ष गौतमलाई बालुवाटारमा बोलाई डोल्पामा उपचुनाव गराउने, त्यहाँ चुनाव लडने तयारी गर्न आग्रह गरेका थिए । राष्ट्रिय सभामा भने आफुले खतिवडालाई नै दोहो¥याउन चाहेको सन्देश दिएका थिए । बिहान गौतमलाई त्यस्तो सन्देश छोडेका ओलीले दिउँसो अध्यक्ष प्रचण्डलाई पनि खतिवडालाई आफुले राष्ट्रिय सभामा लाने र अर्थमन्त्रीकै रुपमा निरन्तरता दिन चाहेको बताएका थिए ।  २० भदौंभित्र खतिवडाले राष्ट्रिय सभा प्रवेश नपाए उनको मन्त्री पद स्वतः जाने सम्वैधानिक ब्यवस्था छ । ओलीले गौतमले गत वैशाख २० मा प्रतिनिधीसभामा उपयुक्त समयमा चुनाव लड्ने गरी पार्टीले निर्णय गरिसकेकोले फागुन १४ को निर्णय प्रतिस्थापन भईसकेको बताउन थालेका छन् ।

तर उक्त दिनको बैठकमा कुनै त्यस्तो माइन्यूट समेत नभएको भन्दै गौतमले फागुन १४ को पार्टी निर्णय कार्यान्वयन गर्नका लागि ओलीमाथी दबाव बढाउन थालेका छन् । सोमबार उनले ओलीलाई भेटेर अब आफु प्रतिनिधीसभामा नउठने तर फागुन १४ को पार्टी निर्णय अनिवार्य कार्यान्वयन गर्न आग्रह गरेका थिए ।  त्यसपछि उनले आफु निकट नेताहरुसँग फागुन १४ को निर्णयमा पार्टीका कुनै पनि नेताहरुसँग सम्झौता आफुले नगर्ने बताएका छन् । उनी निकट केन्द्रीय सदस्य हरि पराजुलीले भने, –‘उहाँले (वामदेव) सचिवालयको उक्त निर्णयमा कसैसँग सम्झौता गर्नुहुन्न । सचिवालयमा फेरि छलफल भएर अब अर्काेलाई पठाउने भनेर निर्णय लिएछ भने अलग कुरा, नत्र उहाँ पार्टी निर्णय कार्यान्वयन हुनुपर्छ भन्नेमा अडिग हुनुहुन्छ । कसैसँग सम्झौता गर्दिन भन्नुभएको छ ।’ 

नेकपा सचिवालय बैठक भोलि १८ गते बस्दैछ । दुई अध्यक्षले गठन गरेको कार्यदलले पार्टीमा बुझाएको प्रतिवेदनका बारेमा छलफल गर्ने मूल एजेण्डा बैठकको भएपनि २० भदौंभित्रै डा. युवराज खतिवडालाई अर्थमन्त्रीमा टिकाईराख्ने हो भने कुनै न कुनै निर्णय नेकपाले लिनै पर्ने भएकाले यो विषय पनि बहसमा आउने छ ।  ओलीलाई गौतमले नै अहिलेको सत्ता संकटमा साथ दिएका छन् । तर उनलाई नै ओलीले खास सन्र्दभमा नरुचाईरहेको यही एउटै घटनाले पनि प्रमाणित गर्छ ।

गौतम पार्टीभित्र विधिको शासन लागु गराउन पनि प्रधानमन्त्रीले फागुन १४ को निर्णय कार्यान्वयन गर्नुपर्ने पक्षमा उभिएका छन् । जाहँबाट विधि मिचियो, त्यहीको गल्ती सुधारेर जानुपर्छ, गौतमले भन्न थालेका छन्, त्यही भएर राष्ट्रिय सभा सदस्यका रुपमा मलाई पठाउने पार्टी निर्णय प्रधानमन्त्रीले कार्यान्वयन गर्नुपर्छ ।  सचिवालयमा यो विषयले फेरि प्रवेश पाँउदा प्रधानमन्त्री एक्लो खतिवडाको पक्षमा उभिने अवस्था देखिन्छ । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्दय झलनाथ खनाल, माधव नेपाल, स्यवं गौतम र नारायणकाजी श्रेष्ठ गौतमलाई राष्ट्रिय सभा पठाउने फागुन १४ को निर्णयको पक्षमा अडिग छन् ।

महासचिव विष्णु पौडेल पनि गौतमसँगको सग्निग्धताका कारण गौतम छोडेर खतिवडाको पक्षमा उभिने अवस्था छैन् । इश्वर पोखरेल पनि खतिवडालाई रुचाउने पात्रमा पर्दैनन । तर गौतम पनि उनको लागि प्रिय पात्र होइन । गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलले बैठकमै आफ्नो धारणा यस सम्बन्धमा राख्ने बताएका छन् । यस अर्थमा पोखरेल र थापाले कसको पक्षमा बोल्छन् भन्ने खुलिसकेको छैन् । यद्यपी, यी दुई नेताले गौतमको पक्षमा नबोलेपनि सचिवालयमा गौतम पल्लाभारी हुने देखिन्छन् ।

तर त्यो निर्णय प्रधानमन्त्रीले फेरि मान्छन, मान्दैनन् भन्ने अहिले भन्न सक्ने अवस्था देखिएको छैन । गौतमले भने प्रधानमन्त्रीलाई कुनै हालतमा अब फागुन १४ को निर्णयबाट आफु पछि नहटने प्रष्ट सन्देश छोडिसकेका छन् । प्रधानमन्त्री ओलीले गौतम छोडेर खतिवडा नै रोजिरहे भने यसले पनि नेकपाभित्र ६ महिना अगाडीको निर्णयले फेरि विवाद नयाँ शिरावाट बल्झाउने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस