तीन दशक सत्ता चलाउनेहरू सय दिनको सरकारसँग हिसाब माग्दै छन् : पराजुली

सफल खबर संवाददाता

मंगलबार, २३ असार २०८३, ०९ : ४६
तीन दशक सत्ता चलाउनेहरू सय दिनको सरकारसँग हिसाब माग्दै छन् : पराजुली

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले तीन दशकभन्दा बढी समय सत्ता सञ्चालन गर्नेहरूले सय दिनको सरकारसँग परिणामको हिसाब मागेको भन्दै आपत्ति जनाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले यो प्रश्न सय दिनको नभएर राजनीतिक संस्कारको भएको टिप्पणी गरेका हुन्।

दशकौँसम्म राज्यका संरचनाहरूलाई दलीय प्रभावमा राख्ने, नियुक्ति र अवसरलाई भागबण्डाको माध्यम बनाउने, भ्रष्टाचारका प्रकरणलाई दबाउने र जनविश्वास कमजोर बनाउने राजनीतिक अभ्यास कसले संस्थागत गर्‍यो भन्ने कुराको जवाफ जनताले अभिमत मार्फत दिइसकेको पराजुलीले उल्लेख गरेका छन्। आज कानुनको दायरा प्रभावशाली व्यक्तिसम्म पुग्न थालेको, अनुसन्धानले राजनीतिक पहुँचको घेरा तोड्न थालेको र सुशासनलाई व्यवहारमा उतार्ने प्रयास भइरहेका बेला त्यही समूह सबैभन्दा अधैर्य देखिएको उनले बताएका छन्।

सय दिनको आलोचना केवल सरकारमाथिको प्रश्न नभएर वर्षौँदेखि बनाइएको दण्डहीनताको संरचना जोगाउने राजनीतिक असहजताको अभिव्यक्ति मात्र भएको उनले दाबी गरेका छन्। सय दिनमा दशकौँका सबै समस्या समाधान नहुने तर सरकारले स्पष्ट रूपमा सुधारको जग बसाएको पराजुलीको भनाइ छ।

सरकारले कानुन सबैका लागि समान हुन्छ भन्ने सन्देश देखाएको र भ्रष्टाचारलाई संरक्षण गर्ने कि अनुसन्धानको दायरामा ल्याएर जरैदेखि निमिट्यान्न पार्ने भन्ने राजनीतिक इच्छाशक्ति प्रष्टसँग प्रस्तुत गरेको उनले जिकिर गरेका छन्। सरकारसँग परिणाम अवश्य माग्नुपर्ने र खरो रूपमा खबरदारी गर्नुपर्ने भन्दै उनले परिणाम माग्ने नैतिक अधिकार त्यतिबेला मात्र बलियो हुने उल्लेख गरेका छन्, जब आफ्नै तीन दशकको राजनीतिक हिसाब पनि दिन तयार भइन्छ।

तीन दशकको असफलताको जिम्मेवारीबाट भागेर सय दिनलाई राजनीतिक हतियार बनाउने प्रयासले इतिहास बदलिँदैन भन्दै उनले यसले कसलाई परिवर्तनसँग समस्या छ भन्ने कुरा अझ स्पष्ट बनाउने धारणा राखेका छन्।

प्रतिक्रिया दिनुहोस