कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा पनि सरकारले उद्धारमा चासो नदिएको सांसद शाहीको गुनासो

सफल खबर संवाददाता

सोमबार, २२ असार २०८३, १४ : २०
कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा पनि सरकारले उद्धारमा चासो नदिएको सांसद शाहीको गुनासो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले कर्णाली नदीमा नागरिक डुब्दा पनि उद्धारका लागि चासो नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले विपदमा हेलिकप्टरबाट उद्धार गर्ने गृहमन्त्री सुधन गुरुङले संसदमा प्रतिबद्धता जनाएपनि हालै सुर्खेतबाट कालिकोट जाँदै गरेको यात्रुवाहक गाडी कर्णाली नदीमा खस्दा सरकारले उद्धारका लागि हेलिकप्टर सञ्चालन गर्न नसकेकोमा आपत्ति जनाए ।

नेता शाहीले मन्त्रीहरू हेलिकप्टरमा सवार भइरहँदा कर्णाली नदीमा नागरिकहरू डुबेर मर्नुपर्ने अवस्था आएको भन्दै यस दुर्घटनाबारे स्पष्ट जवाफका लागि सरकारलाई रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालसँग माग पनि गरे ।

उनले उक्त दुर्घटना पछि गरिएको फोन समेत नउठाएर सरकारले नागरिकको जीवन रक्षाको विषयमा खेलवाड गरेको पनि बताए ।

नेता शाहीले राज्यले नागरिकको जीवन बचाउने कुरामा पनि संवेदनहीनता प्रकट गरेको गुनासो पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस