प्रधानमन्त्री ओलीलाई आफ्नै क्याबिनेटका दुई मन्त्रीले किन दिए चुनौती ?

‘प्रधानमन्त्रीले आफु र राष्ट्रपतिको विरुद्धमा षडयन्त्र भएको बताएपछि आफ्नै क्याबिनेटका दुई मन्त्रीले अनावश्यक गलत सूचनामा तरंगित नहुन भन्दै यस्ता विषय पार्टी बैठक, कमिटिमा राख्न तर मन्त्री बोलाएर नभन्न चुनौति दिएका थिए’

सफल खबर संवाददाता

आइतबार, २१ असार २०७७, ०९ : ०५
प्रधानमन्त्री ओलीलाई आफ्नै क्याबिनेटका दुई मन्त्रीले किन दिए चुनौती ?

काठमाडौं । शनिबार प्रधानमन्त्री ओलीका तीन गतिविधि शंकास्पद थिए । पार्टी बैठकमा नजाने र निर्णय समेत नमान्ने ध्वाँस दिदै आएका प्रधानमन्त्री ओलीले शनिबार पार्टीका अर्का अध्यक्ष प्रचण्डसँगको टेलिफोन सम्वादमा जारी स्थायी समिति बैठक दुई दिन रोक्न भने । त्यसपछि उनले उपप्रधानमन्त्री इश्वर पोखरेल देखि आफु निकट नेता र पूर्व माओवादी धारका नेता टोपवहादुर रायमाझीसम्मलाई बालुवाटार बोलाएर भेटे । 

उनका पछिल्ला भेटघाट रहस्यमयी देखिदै आएको छ । बारम्बार राष्टपतिसँग भेट गर्ने, सरकारमा रहेर सत्ताको दुरुपयोग गरेर प्रधानन्यायधिस, महान्यायधिवक्ता देखिका कतिपय कानुन ब्यवसायीसँग गहिरो उठबस गर्ने र राष्ट्रपति र आफुसँग एकै दिन भेट गरेर राजनीतिक वातावरण तरंगित गर्ने लगायतका काम गरिरहेका प्रधानमन्त्रीले माओवादी धारका टोपबहादुर रायमाझी सम्मका नेतालाई बोलाएर आफनो समुहका नेतासँगको छलफलमा राख्नु आफैमा संन्देहपूर्ण त थियो नै उनले साँझ राष्ट्रपति भेट्न जान लागेपछि मन्त्रिमण्डलका मन्त्री र राज्यमन्त्री सबैलाई एकै पटक बालुवाटार आउन निर्देशन पनि दिए । 

ओलीको राष्ट्रपतिसँगको भेट अनि लगत्तैको मन्त्रीहरुलाई बालुवाटार निम्तो गरेपछि के प्रधानमन्त्रीले कुनै नयाँ स्टेप चाल्दैछन् ? राजनीति निक्कै तरंगित बनेको थियो । राष्ट्रपतिसँग दुई घण्टा छलफल गरेर ७ बजे बालुवाटार फर्केका ओलीले त्यसपछि मन्त्रीहरुलाई सम्बोधन गर्दै पार्टी फुटको संघारमा पुगेको र पार्टी जोगाउनलाई आफुले मात्र सक्ने अवस्था नरहेको भन्दै आफ्नै मन्त्रीमण्डलका सदस्यलाई पनि कित्ता आफ्नो छुटटाउन निर्देशन दिए । त्यसपछि भने उनको अभिव्यक्तिको दुई मन्त्रीले खुल्ला चुनौती दिएको छलफलमा सहभागी एक मन्त्रीले सफलखबरलाई बताए । 

प्रधानमन्त्रीले भनेका थिए, मेरो विरुद्द षडयन्त्र भएको छ । म मात्र होइन, सम्मानित राष्ट्रपतिका विरुद्धमा पनि महाअभियोग लगाउने जस्ता कुरा आईरहेको छ । त्यसका लागी कानुनी परामर्श समेत गरेको कुरा छ । अझ सरकारमै बस्ने मन्त्रीहरु समेत त्यस्तो षडयन्त्रमा लागेका कुरा छ । सम्मानित राष्ट्रपति र प्रधानमन्त्रीको विरुद्धमा भईरहेका षडायन्त्रलाई मैले बाइफोर्स, वाइस्टेप नियन्त्रण गर्नुपर्ने हुनसक्छ ।  म बाइ स्टेप, बाइ फोर्स कदम चाल्दै छु, तपाईहरु कता लाग्ने हो निर्धारण गर्नुस् ।

प्रधानमन्त्रीको यस्तो अभिब्यक्तिपछि कृषि मन्त्री घनश्याम भुषाल र उर्जामन्त्री वर्षमान पुनले प्रधानमन्त्रीको भनाईको प्रतिवाद गरेका थिए । भुषालले गलत सूचनाको पछि नकुद्न प्रधानमन्त्रीलाई आग्रह गर्दै भनेका थिए, प्रधानमन्त्री जस्तो मान्छे गलत सूचनामा अतिरंज्जित हुनु हुदैन् ।  आफुले बालुवाटारबाटै शुक्रबार नै राष्ट्रपतिलाई महाअभियोगको तयारी भईरहेको भन्ने सूचना पाएको र त्यसपछि बुझ्दा त्यस्तो केही नदेखिएको विषय प्रधानमन्त्रीलाई जानकारी गराईसकेको भन्दै गलत सूचनाका पछि कुद्न नहुने बताएका थिए ।

मन्त्री भुषालले प्रधानमन्त्रीलाई भनेका थिए, अहिले धेरै काम गलत सूचनाले गरेको छ । त्यसमध्ये पनि बनाइएका, ‘फेब्रिकेटेड’ सूचनाले काम गरेको छ । पहिले विश्वयुद्धमा पोस्टर–पम्लेटहरू बनाइन्थे । बजारको लुछाचुँडीमा पुँजीपतिहरूले एक जातिविरूद्ध, अर्का जाति, एक समूदायविरूद्ध अर्को समूदायविरूद्ध पोस्टरहरू बनाएर बेच्थे । पोस्टरमा ‘...हत्यारा हुन् । यिनीहरूका विरूद्ध उठ, जाग, मार’ भन्थे । को हत्यारा भनेर लेख्दैनथे । त्यसमा जर्मनहरूले फ्रेन्च हत्यारा लेख्थे । फ्रेन्चहरूले जर्मन हत्यारा हुन् भनेर लेख्थे । बेच्ने एउटै पुँजीपति हुन्थे । त्यस्तै अहिले पनि हाम्रो पार्टीभित्रको अन्तरसंर्घषमा यस्तै स्थिती देखा परेको छ ।

हिजो पनि त्यस्तै भयो । बालुवाटारमा एउटा सूचना सुनेँ । पछि तथ्यको कसीमा जाँच्दा गलत निस्कियो भनेर प्रधानमन्त्रीलाई भनेँ । उहाँले थप कुरा गर्नुभएन, गलत सूचनाको पछि किन हामी कुद्ने ? भुषालले मात्र होइन, उर्जामन्त्री वर्षमान पुनले पनि प्रधानमन्त्रीले कित्ता छुटट्याउन निर्देशन दिएपछि प्रतिवाद गरेका थिए । उनले मन्त्रीलाई बालुवाटारमा बोलाएर यस्तो कुरा गर्न प्रधानमन्त्रीले नसुहाउने भन्दै प्रतिवाद गरेका थिए । पुनले पार्टी बैठकमा गएर आफुलाई लागेको कुरा राख्न आग्रह गदै भने, हामी यहाँ रहेका मन्त्रीहरु संसद्का सदस्य हौं । जनताबाट निर्वाचित भएर आएका मान्छे हौं । प्रधानमन्त्रीले अहिले जे कुरा राख्नुभयो, यस्ता कुराहरू यहाँ राख्ने होइन, हामी सबै पार्टीका सदस्य पनि हौं । पार्टीको संसदीय दल छ । कमिटी छ ।

छलफल गर्ने फोरम छन् । त्यहाँबाट समाधान गर्न सकिन्छ । विवाद छन्, हल गर्न सकिन्छ । तर छलफल गर्ने ठाँउमा यि विषय नराखेर यहाँ छलफल गर्नु उपयुक्त थलो होइन ।  प्रधानमन्त्रीको सम्बोधनमा राष्ट्रपतिलाई महाअभियोग लगाउने विषय आएपछि नेकपाका प्रवक्ताले पनि प्रतिक्रिया दिएका छन् ।  उनले अर्नगल झुटो प्रचारबाजीमा कोही लाग्न नहुने बताएका छन् । प्रवक्ता श्रेष्ठले भने, हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो । यो गरिमामय सँस्थालाई कसैले पनि आ आफ्नो स्वार्थका लागि विवादमा नतानौं । राष्ट्रपतिको बिरुद्द महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं । राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं । राष्ट्रपतिज्यु स्यवंको पनि ध्यान जाने नै छ ।

प्रतिक्रिया दिनुहोस