काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई एउटा पनि विदेशीले आएर यसो गर र नगर नभनेको बताएकी छन् । उनले विदेशी हस्तक्षेपबारे भइरहेको टिप्पणीलाई ‘तर्साउने हतियार’ मात्रै भएको बताइन्।
बुधबार बालुवाटारमा आयोजित सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिहरूबीचको त्रिपक्षीय संवादको समापन मन्तव्यमा प्रधानमन्त्री कार्कीले भनिन्, “यहाँ मलाई कुनै विदेशीले खोजेको छैन। राजदूतहरू सिंहदरबारमा भेट्छौँ, बालुवाटारमा भेटेका छैनौँ। अहिलेसम्म भएका सबै भेट शिष्टाचारका मात्र हुन्।”
प्रधानमन्त्रीले आफ्नो नियुक्ति र जिम्मेवारीबारे उल्लेख गर्दै भनिन्, “म यहाँ रहरले आएकी होइन। राष्ट्रपति कार्यालयमा म, ओमजी र मेरो श्रीमान् थियौँ। मैले राजनीतिक नेतासँग डिल गर्न सक्दिनँ भनेर हिँडेकी पनि हुँ। तर देशले खोजेका बेला जिम्मेवारी नलिने भनेर राष्ट्रपतिज्यूले भन्नुभयो।”
उनले जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरू र सहिद परिवारको सम्झना गर्दै भनिन्, “ती निर्दोष बालबालिका निधारमा गोली लागेर ढलेका सम्झिएँ। मेरो साथमा जनता छन्, मैले केही गर्नैपर्छ भन्ने लाग्यो र अठोटसाथ अगाडि आएकी हुँ।”
प्रधानमन्त्री कार्कीले भ्रष्टाचार र शोषणविरुद्धको अभियानलाई निरन्तरता दिने दृढता पनि व्यक्त गरिन्। उनले भनिन्, “हिजो थन्क्याएका फाइलहरू खुलाउँदै छौँ। कति त समातिसकेका छन्, कतिलाई समात्दै छौँ। यदि भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुवालाई पनि लगेर खोरमा थुन्न तयार छु।”
उनले सरकार चुनावमा केन्द्रित रहेको र अविश्वासको वातावरण चिर्दै सहकार्य र विश्वास निर्माणमा जुटेको बताइन्। प्रधानमन्त्री कार्कीले न्यायाधीशको भूमिकाबारे उठेका प्रश्नको जवाफ पनि दिँदै भनिन्, “के न्यायाधीशलाई सांसद, मन्त्री, प्रधानमन्त्री बन्न संविधानले रोकेको छ? भारतमा पनि न्यायाधीशहरू मन्त्री बनेका छन्। यहाँ किन प्रश्न उठ्छ?”
उनले देशको वर्तमान संकट समाधानका लागि सरकार दृढतापूर्वक अघि बढिरहेको र बाधा–अवरोधका बीच पनि रोकिएर नबस्ने स्पष्ट पारिन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ कार्तिक २०८२, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीसँग एमाले नेता बर्तौलाको नोकझोक
बालुवाटारमा प्रधानमन्त्री र एमाले नेताबीच किन भयो भनाभन ?
प्रधानमन्त्रीले बोलाइन् दल र जेनजीसहितको संयुक्त बैठक
आगामी निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरौ : प्रधानमन्त्री कार्की
निर्वाचनमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान
प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुखबीच बालुवाटारमा छलफल