काठमाडौं । नेकपा एमालेले शनिबार सचिवालय बैठक बोलाएको थियो । बैठकका एजेण्डा थिए– पार्टी महाधिवेशन तयारी र संसद पूर्नस्थापनाका लागि गरिने जनपरिचालनका कार्यक्रम । अतिरिक्त विषय थियो –समसामायिक राजनीति र विविध ।
अध्यक्ष केपी ओलीको भक्तपुर गुन्डुस्थित निवासमा बैठक थियो । सुरुमा महासचिव शंकर पोखरेलले बैठकका एजेण्डा राखेपछि सुरुमै केपी ओलीले केही भूमिका बाँधे ।पोखरमा मंसिर २७ देखि २९ सम्म तय भएको महाधिवेशन काठमाडौंमा सारेर गर्नुपर्ने अवस्था आएको र त्यसको रणनीतिक अर्थ हुने ओलीले धारणा राखे । त्यसपछि उनले महासचिव शंकर पोखरेललाई महाधिवेशन छनौट विधिका बारेमा प्रस्ताव राख्न आग्रह गरे । ओलीले महाधिवेशनको प्रतिनिधि छनौटको मापदण्ड र विधिको गृहकार्य गरी प्रस्ताव तयार पार्न महासचिव पोखरेलसहित उपमहासचिवद्दय विष्णु रिमाल र प्रदीप ज्ञवाली, संगठन विभाग प्रमुख काशीनाथ अधिकारी तथा केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीलाई निर्देशन दिएका थिए ।
त्यही आधारमा पोखरेलले सचिवालय बैठकमा आफुहरुले तयार पारेको प्रस्ताव राखे । जेनजी आन्दोलनपछि पार्टी चौतर्फी घेरावन्दीमा परेको र त्यसलाई चिर्न काठमाडौंमा नै महाधिवेशन गरेर शक्ति देखाउनु आवश्यक रहेको विषय ओलीले बैठकमा राखेका थिए । त्यही वीच बैठकमा कुरा उठ्यो– पार्टी नेताको घर जलाउन पार्टीकै नेता कार्यकर्ता किन लागे ? जेनजी आन्दोलनका क्रममा एमाले नेता कार्यकर्ताको घर, पार्टी कार्यालय सबैभन्दा बढी जलेका थिए । भदौं २३ मा भएको नरसंहारपछि भोलिपल्ट २४ भदौंमा नेताका घर र पार्टी कार्यालय जलेका थिए । ती घटनामा कतिपयमा एमालेकै कार्यकर्ता आफ्नै नेताका घरगोठ जलाउन, लुटपाट गर्न पुगेको पुष्टि एमालेले आफैं गरेको छ ।
पूर्व राष्ट्रपति विद्या भण्डारी देखि सचिव रघुविर महासेठ, लेखराज भट्ट लगायतका नेताका घर जलाउन पार्टी कार्यकर्ता नै परिचालन भएको विषयले बैठकमा प्रवेश पायो । नेताका घर जलाउन, लुटपाट गर्न पार्टीकै नेता कार्यकर्ता पुगेको प्रमाण भेटिँदासम्म उनीहरुलाई कारवाही नगरिएकोमा बैठकमा प्रश्न उठ्यो । त्यसपछि ओलीले त्यस्ता कार्यकर्तालाई कारवाही गर्न लिखित निर्देशन दिने वचन दिए ।
सचिव लेखराज भट्टको कैलालीको गोदावरी नगपालिका वडा नम्बर १ अत्तरियामा रहेको दुई वटा घर, ट्याक्टर, अनाज र लत्ताकपडामा आगजनी गरिएको थियो । भदौं २४ मा उनको घर जलाइएको थियो । उक्त लुटपाट तथा आगजनीमा नेकपा एमाले कैलाली जिल्ला लेखा समितिका सदस्य बालकृष्ण भट्टराई, राप्रपाका स्थानीय नेता दुर्गा पोखरेल र कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका हलुका सवारी चालक बामदेव अवस्थी लगायतका मान्छे सहभागी भएका थिए ।
आफ्नै पार्टीका नेता कार्यकर्ता नै आफ्नो घर जलाउन पुगेको घटना बैठकमा सचिव भट्टले राखेका थिए । त्यसपछि रघुविर महासेठले पनि आफनो घर जलाउन समेत पार्टीकै कार्यकर्ता पुगेको विवरण सुनाए । महासेठको धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ ब्रम्हपुरिस्थित घर आक्रमण गर्न पार्टीकै नेता कार्यकर्ता लागेको बताएका थिए ।
यसरी नेताको घरगोठ जलाउन र लुटपाट गर्न पार्टी कार्यकर्ता नै परिचालन भएको र उनीहरूको पहिचान भइसक्दा पनि कारबाही हुन नसकेको भन्दै उनीहरुले बैठकमा प्रश्न उठाएको एमालेका एक सचिवालय सदस्यले सफलखबरसँग बताए । ‘लेखराज भट्टदेखि रघुवीर महासेठसम्मको घर जलाउने, तोडफोड गर्ने र लुटपाट गर्नेमा एमालेकै नेता कार्यकर्ता समेत लागिपरेको देखियो, प्रमाणसहित नेताहरुले बैठकमा कुरा उठाउनुभयो, केन्द्रीय कार्यालयमा यसबारेमा जानकारी गराईसकेको बताउनुभयो र किन अहिलेसम्म कारवाही भएन भनेर अध्यक्षसँग प्रश्न नेताहरुले उठाउनुभयो,’ ती सचिवालय सदस्यले भने, ‘त्यसपछि अध्यक्ष (केपी ओली)ले यसलाई आफुले गम्भिर रुपमा लिएको बताउनुभएको थियो । कारवाही गर्न पार्टी कमिटिलाई निर्देशन दिने बचन दिनुभयो ।’
ओलीले नेताहरुले आफ्नै घर जलाउन पार्टी कार्यकर्ता नै पुगेको प्रमाणसहित बैठकमा कुरा राखेपछि भने कारबाही गर्न तल्ला कमिटीलाई निर्देशन दिइसकेको र थप निर्देशन दिने बचन नेताहरुलाई दिए ।
‘अव कारवाही हुन्छ, निर्देशन दिईसकिएको छ । फेरि थप निर्देशन दिन्छौं, त्यस्ता नेता कार्यकर्तालाई कारबाही गरेर १५ दिनभित्र माथिल्लो कमिटीलाई जानकारी गराउन निर्देशन दिईसकिएको छ, अव कारवाहीमा पर्छन्,’ ओलीले नेताहरुलाई आस्वस्त पादै भनेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ कार्तिक २०८२, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेखराज भट्टको जिकिर : ‘ओलीले महाकालीबाट मेची किनार देख्नु हुन्छ’