अष्ट्रेलियामा तेस्रो चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स

रासस

बुधबार, ०७ जेठ २०७७, १७ : २५
अष्ट्रेलियामा तेस्रो चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले तेस्रोपटक अष्ट्रेलियामा चार्टर्ड उडान गर्ने भएको छ । निगमको वाइडबडी ए–३३० जहाजले आगामी जेठ २३ गते (मे ५ तारिख) अष्ट्रेलियाको राजधानी क्यान्बेरामा उडान गर्न लागेको हो । यो नेपालको राजधानी र अष्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हुनेछ ।

नेपालस्थित अष्ट्रेलियन दूतावासले निगमको वाइडबडी जहाज चार्टर्ड गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ २३ गते क्यानबेरामा निगमको वाइडबडी जहाजले चार्टर्ड उडान गर्ने निश्चित भएको छ । नेपालमा लकडाउनका कारण रोकिएका अष्ट्रेलियाली र न्यूजील्याण्डका नागरिक र छुट्टीमा आएका पिआर होल्डर नेपाली नागरिकसहित २५० भन्दा बढीलाई दूतावासले जहाज चार्र्टर्ड गरी लैजान लागेको हो ।

यसअघि वैशाख २४ गते निगमको वाइडबडी जहाजले अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गरेको थियो । त्यस्तै लकडाउनको अवधिमा निगमको वाइडबडी जहाजले पहिलोपटक विसं २०७६ चैत १९ गते अष्ट्रेलियाको ब्रिसबेनमा चार्टर्ड उडन गरेको थियो । यी उडानलाई निगमले आफ्नो ऐतिहासिक उडान भनेको थियो । मलेशियाको क्वालालम्पुर ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको ती दुवै उडान क्रमशः करिब  १२ र १३ घण्टाको थियो । निगमको पुनः अष्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर क्यानबेरा पुग्नेछ । नेपाल र अष्ट्रेलियाबीच हवाईसेवा सम्झौता भइसके पनि नियमित उडान हुनसकेको छैन ।

निगमले यसअघि चीनको बेइजिङ, चाङ्सा र ग्वान्जाओमा कार्गो चार्टर्ड उडान गरिसकेको छ । पछिल्लोपटक मङ्गलबार र सोमबार निगमको दुई वाइडबडी जहाले कार्गो उडानमार्फत ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो । ती स्वास्थ्य सामग्री नेपाली सेनाले खरिद गरेको हो ।

जापानमा तीन चार्टर्ड उडान

निगमको वाइडबडी जहाजले आगामी जेठ ९ गते जापानमा पनि तेस्रोपटक चार्टर्ड उडान गर्दैछ । निगमले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्न लागेको हो । सोही गन्तव्यमा यसअघि जेठ २ गते निगमको वाइडबडी जहाजले दोस्रोपटक चार्टर्ड उडान गरेको थियो । त्यसैगरी गत चैत २८ गते निगमले नारितामा पहिलो चार्टर्ड उडान गरेको थियो । नेपालमा रोकिएका केही जापानिज नागरिक तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले नारितामा चार्टर्ड उडान गरेको हो । निगमको वाइडबडी जहाज काठमाडौँको सुमेघ टूर एण्ड ट्राभल्स प्रालिले काठमाडौँ–नारिता (जापान) चार्टर्ड उडानको अनुमति लिएको निगमले जनाएको छ ।

नेपाल एयरलाइन्सले जापानको नारितामा गत फागुन १९ गतेदेखि सिधा उडान सेवा शुरु गरेको थियो । कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएपछि उक्त गन्तव्यको उडान हाललाई स्थगन भएको छ ।

हङकङमा पनि चार्टर्ड उडान

निगमले आगामी जेठ ११ गते हङकङमा पनि चार्टर्ड उडान गर्ने कार्यतालिका बनाएको छ । नेपालमा लकडाउनका कारण रोकिएका केही कङकङ्गेली नागरिक र हङकङ आइडी भएका नेपालीलाई जहाज चार्टर्ड गरी लैजान लागिएको हो । यो गन्तव्यको उडानका लागि पनि निगमको वाइडबडी जहाज चार्टर्ड गरिएको छ । यात्रुको सङ्ख्या भने यकिन भएको छैन । हङकङमा निगमले नियमित उडान भर्दै आएको छ । यो गन्तव्यमा लकडाउनका कारण हाललाई उडान स्थगन भएको हो । निगमले भारतका तीनसहित नौ गन्तव्यमा आफ्ना दुई वाइडबडी र दुई न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । (रासस)