काठमाडौं। मानवसेवा आश्रमको सहकार्यमा काठमाडौं महानगरपालिका ‘सहयोगापेक्षी, बेसहारा, अभिभावकविहीन तथा सडकआश्रित मानवमुक्त’ घोषणा भएको छ ।
काठमाडौं महानगरपालिका, मानवसेवा आश्रम, जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरी प्रधान कार्यालयको सहकार्यमा सोमवार एक कार्यक्रमकाबीच उक्त घोषणा गरिएको हो । घोषणा कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंमा देशका विभिन्न भागबाट शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका कारण मानिसहरू निरन्तर आउने भएकाले सडकआश्रित तथा सहयोगापेक्षी नागरिकमुक्त शहर बनाउने अभियान चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले सडकमा आश्रय लिन बाध्य भएका, बेसहारा तथा सहयोगको आवश्यकता भएका नागरिकहरूको व्यवस्थापन सहज काम नभएपनि सरकार, सम्बन्धित निकाय र नागरिकबीचको सहकार्यले सम्भव भएको बताउनुभयो । उहाँले महानगरले स्थानीय सरकारको जिम्मेवारी निर्वाह गर्ने क्रममा मानव सेवा फाउन्डेसनलगायत विभिन्न संस्थासँग सहकार्य गरिरहेको जानकारी दिँदै सडकमा असहाय वा सहयोगापेक्षी व्यक्ति भेटिए महानगरको कल सेन्टरमा जानकारी गराउन नागरिकलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘काठमाडौं मुलुकको संघीय राजधानी भएकोले देशका विभिन्न भागबाट यहाँ मानिसहरु आउनुहुन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी लगायत विभिन्न कारणले देशभरबाट मान्छेहरु यहाँ आउनुहुन्छ । त्यसैले पनि यहाँ सडक सहयोगापेक्षी मानवमुक्त गर्नु निकै जटिल छ । यो कुरा हामीले मनन गरेका छौँ । यो सहज छैन भन्नेकुरा हामीले आत्मसाथ पनि गरेका छौँ । यद्धपी यो निकै नै धेरै चुनौतीपूर्ण भएतापनि सरकार, सम्बन्धीत निकाय र नागरिक एक ठाउँमा उभिएपछि कठिनभन्दा कठिन काम पनि निकै सहज बन्ने गर्दछ । काठमाडौं महानगरपालिकाले स्थानीय सरकारको भूमिका निर्वाह गरिरहँदा मानव सेवा फाउन्डेसनलगायत अन्य निकायहरुसँग समेत सहकार्य गरिरहेका छौँ । यदि तपाईले सडकमा कोही असहाय, र सहयोगापेक्षी नागरिकब देख्नुहुन्छ भने काठमाडौं महानगरको कल सेन्टरमा सम्पर्क गर्नुहोला ।’
महानगरपालिकाले सडकमा आश्रय लिएर बस्ने, बेसहारा तथा अभिभावकविहीन व्यक्तिहरूको उद्धार, संरक्षण र पुनस्र्थापनाका कार्यक्रमलाई प्रभावकारी बनाउँदै महानगरलाई सडकआश्रित मानवमुक्त घोषणा गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ जेठ २०८३, २० : २४
लेखकबाट थप