रास्वपा सांसद कार्कीमाथी दुई थरी अनुसन्धानको तयारी

सफल खबर संवाददाता

बुधबार, ०६ जेठ २०८३, ०९ : २४
रास्वपा सांसद कार्कीमाथी दुई थरी अनुसन्धानको तयारी

काठमाडौं । विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र छाडेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीमाथी दुई थरी अनुसन्धान हुने भएको छ ।

रास्वपा स्वयमले पार्टीको अनुशासन समितिबाट छानबिन गर्ने र संसदले पनि आचरण अनुगमन समिति बनाएर छानबिन गर्ने देखिएको छ । 

मोरङ क्षेत्र नम्बर २ बाट निर्वाचित कार्कीलाई एक नाइजेरियन महिलालाई गर्भवती बनाएर उनीसँग सम्पर्क बिहीन बनेको आरोप लागेको छ । 

गर्भवती अवस्थामा रहेकी २६ वर्षीया नाइजेरियन महिलाले आफूसँग खाने पैसासमेत नभएको र आफू गर्भवती भएको जानकारी पाएपछि कार्की सम्पर्कविहिन बनेको आरोप लगाएपछि कार्की माथी आचरणसम्वनधी प्रश्न उठेको छ । 

यस विषयमा सार्वजनिक रुपमा आलोचना हुन थालेपछि कार्कीमाथी उनकै पार्टी रास्वपाले र संसदले पनि अलग अलग समिति बनाएर छानबिन गर्ने तयारी गरेको हो । उनको दल रास्वपाले पार्टीको अनुशासन समितिमार्फत छानबिन गर्न लागेको हो । अनुशासन समितिले छानबिन पारम्भ गरिसकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

‘पार्टीको अनुशासन आयोगले उहाँसग जानकारी लिईरहेको छ । पार्टीको छानबिनले सिफारिस गरेपछि आवश्यक परेमा अर्काे चरणमा प्रवेश गर्छ । पार्टीले कुन खालको सिफारिस गर्छ, त्यही आधारमा पार्टीले निर्णय लिन्छ,’ बुर्लाकोटीको भनाई छ । 

संसद सचिवालयले पनि प्रतिनिधिसभाको नियमावलीको २२० का आधारमा आचरण अनुगमन समिति बनाएर त्यस आधारमा छानबिन गर्ने तयारी गरेको छ । विपक्षी दलका सांसदहरुले संसदमा कार्कीको आचरणका विषयमा प्रश्न उठाएपछि सभामुख डोलप्रसाद अर्याल आचरण अनुगमन समिति बनाउने तयारीमा लागेका हुन् । यस विषयमा सभामुखले मंगलबारको बैठकमा आफनो ध्यानाकषर्ण भएको र संसद नियमावलीको नियम २२० अनुसार अगाडी जान सकिने विषयमा संसदमा जानकारी गराएका थिए ।

संसद नियमावलीको नियम २२० मा आचरण अनुगमन समिति बनाइने उल्लेख छ । जुन समिति सभापति सभामुख र उपसभापति उपसभामुख हुने ब्यवस्था छ । विपक्षी दलका नेतासँगै कार्यब्यवस्था परामर्श समितिको परामर्शमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलीय प्रतिनिधित्वका आधारमा सभामुखद्दारा मनोनित बढीमा १२ जना सदस्य रहने नियमावलीको ब्यवस्था छ । 

यो समितिले कुनै सांसदले आचारसंहिताको उल्लंघन गरेको भनी सार्वजनिक रुपमा उठेका प्रश्न वा कसैले समितिसमष दिएको सूचनाका आधारमा आवश्यक छानबिन गर्ने । प्रतिवेदन तयार पारेर प्रतिनिधिसभाको बैठकमा पेश गर्ने ब्यवस्था छ । 

सांसद कार्की यस अगाडी पनि विवादमा तानिएका थिए । गत वर्ष भदौंको जेनजी आन्दोलनका बेला सिंहदरवार जलाउन उनी पुगेको भिडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए ।

प्रतिक्रिया दिनुहोस