पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण

सफल खबर संवाददाता

सोमबार, २५ जेठ २०८३, २० : १८
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण

पोखरा। पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण तथा खानतलासी (सर्च अपरेसन) गरेको छ । 

विदेशी पर्यटकहरूको सुरक्षा व्यवस्था मजबुत बनाउन र कानूनी पालना सुनिश्चित गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नो सक्रियता बढाएको हो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नमराज भट्टराईकाअनुसार लेकसाइड क्षेत्रमा सञ्चालित ताज क्यासिनो र महाराजा क्यासिनोमा विशेष टोली परिचालन गरी निरीक्षण गरिएको थियो । २४ सै घण्टा खुला रहने लेकसाइड क्षेत्रमा भारतीय तथा अन्य विदेशी पर्यटकहरूको बाक्लो उपस्थिति रहने भएकाले उनीहरूको सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले गस्ती समेत बढाएको छ । निरीक्षणका क्रममा ताज क्यासिनोमा ३४ जना र महाराजा क्यासिनोमा १० जना विदेशी पर्यटकहरू (भारतीय र चिनियाँ) फेला परेका भट्टराईले बताउनु भयो । क्यासिनो नियमावली बमोजिम नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा पूर्ण रोक लगाइएको सन्दर्भमा सोको कार्यान्वयन भए नभएको जाँच गर्नु प्रहरीको मुख्य उद्देश्य रहेको डीएसपी भट्टराईले जानकारी दिनुभयो । यस पटकको निरीक्षणमा कोही पनि नेपाली नागरिक क्यासिनोभित्र फेला नपरेको उहाँले स्पष्ट पार्नुभयो । 

पोखरालाई सुरक्षित पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न र क्यासिनोहरूमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि रोक्न प्रहरीले विशेष निगरानी राख्दै आएको छ । हाल लेकसाइड क्षेत्रमा पर्यटकहरूको सुरक्षाका लागि थप सुरक्षाकर्मी र गस्ती परिचालन गरिएको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस