काठमाडौं । प्रत्यारोपण गर्नु ठिक २४ घण्टाअघि मंगलबार त्रिवि उपकुलपति डा. धर्मकान्त बास्कोटाले त्रिवि शिक्षण अस्पतालको क्याबिन नं ६०१ मा नियाले। उनले देखे– प्रधानमन्त्री केपी ओली त हल्का व्यायाम गरिरहेका छन्।
ओलीको बुधबार बिहान नौ बजे मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ। उनमा रत्तिभर चिन्ता देखिँदैन। प्रधानमन्त्री ओलीले चिकित्सकलाई नै ढुक्क हुन आग्रह गरेका छन्। रक्तचाप, शरीरको तापक्रमलगायत अन्य स्वास्थ्य अवस्थाको परीक्षणको रिपोर्ट राम्रो छ।
त्रिवि उपकुलपति डा. बास्कोटाले अन्नपूर्णसँग भने, ‘उहाँलाई भेट्दा बिरामीजस्तै लाग्दैन। मनोबल पनि उच्च छ।’ अस्पतालको एनेक्स–२ मेडिकल वार्डको क्याबिनमा छन् ओली।
अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले प्रत्यारोपण गर्नुअघिको स्वास्थ्य विवरण राम्रो रहेको बताए। उनले भने, ‘प्रत्यारोपणका लागि आवश्यक औषधि दिइएको छ। विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण पनि गरियो।’ प्रत्यारोपणअघि नियमित डायलासिस र अन्य ल्याब परीक्षण गरिएको उनले बताए। गत कात्तिक १४ गतेदेखि प्रधानमन्त्री ओलीले नियमित डायलासिस गराइरहेका छन्।
अस्पतालका निर्देशक खड्गाका अनुसार वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्या सिंह शाहको नेतृत्वमा नेफ्रोलोजी टिमले प्रत्यक्ष निगरानी गरिरहेको छ। प्रधानमन्त्री ओलीको मनोबल उच्च देखेर चिकित्सकसमेत चकित छन्। वरिष्ठ पेट रोग विशेषज्ञ डा. खड्गाले भने, ‘आत्मबल त एकदमै बलियो छ।’
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. अरुण सायमीले पनि प्रधानमन्त्रीको मनोबल उच्च रहेको बताए। उनले भने, ‘चिन्ता नगर्नुस्। मलाई केही हुँदैन। एक सातापछि क्याबिनेट डाक्छु भन्नुभयो।’ चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई सातदेखि १० दिनभित्र डिस्चार्ज गर्ने योजना छ।
प्रधानमन्त्री ओलीलाई भान्जी साइनो पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान गर्न लागेकी छन्। ‘बिहानै प्रत्यारोपण सुरु गर्ने योजना छ’, एक चिकित्सकले भने। प्रधानमन्त्री ओलीका निजी चिकित्सकसमेत रहेकी डा. शाहको नेतृत्वमा खटिएको नेफ्रोलोजी टिमले तयार पारेपछि युरोलोजी टिमका चिकित्सक शल्यक्रियामा संलग्न हुनेछन्।
अस्पतालका निर्देशक डा. खड्गाले भने, ‘मिर्गौला रोग विशेषज्ञले सबै तयार पारेपछि सर्जनहरू शल्यक्रिया र प्रत्यारोपणमा संलग्न हुनेछन्।’ भारतबाट आएका वरिष्ठ प्रत्यारोपण सर्जन डा. अनन्त कुमार ब्याक सपोर्टमा रहनेछन्।
चार घण्टामा प्रत्यारोपण
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले इम्युनो सप्रेसिभ औषधि सेवन गरिरहेका प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल हुनेमा ढुक्क रहेको बताए। राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा उनले भने, ‘शिक्षण अस्पतालको सफलताको आँकडा ९८ प्रतिशतभन्दा बढी छ। शंकै गर्नु पर्दैन। प्रधानमन्त्रीको प्रत्यारोपण पनि सफल हुन्छ।’
‘१५–२० वर्ष बाँच्न सकिन्छ’
शरीरले साथ दिएमा प्रधानमन्त्री ओली थप १५÷२० वर्ष बाँच्न सक्ने चिकित्सकको भनाइ छ। ‘मेडिसिनमा शतप्रतिशत ग्यारेन्टी केही छैन। संक्रमण भएन भने प्रधानमन्त्रीले लामो समयसम्म जीवन बिताउन सक्नुहुन्छ’, डा. काफ्लेले भने। हृदयाघात, मस्तिष्कघात, सडेन डेथ र संक्रमणमा नभएमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेकाको जीवन लम्बिने चिकित्सक बताउँछन्।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
जापानका प्रधानमन्त्री इशिबाले दिए राजीनामा
थाईको प्रधानमन्त्रीमा चार्नविराकुल निर्वाचित
प्रधानमन्त्री ओली चीन भ्रमण सकेर आज स्वदेश फर्कदै
प्रधानमन्त्री ओली आज बेइजिङ जादै
प्रधानमन्त्री र माल्दिभ्सका राष्ट्रपतिबिच भेटवार्ता
प्रधानमन्त्री ओलीले आज शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्ने