न्यारोबडी विमान खरिदमा १ अर्ब ३६ करोड रुपैयाँ बढी भुक्तानी किन दिईयो ?

पत्रपत्रिकाबाट

विहीबार, २३ माघ २०७६, ०७ : ३७
न्यारोबडी विमान खरिदमा १ अर्ब ३६ करोड रुपैयाँ बढी भुक्तानी किन दिईयो ?

काठमाडौँ ।  सरकारी स्वामित्वको ध्वजावाहक नेपाल वायुसेवा निगमले ५ वर्षअघि पहिलोपटक भित्र्याएका दुई न्यारोबडी विमान एयरबस ३२० किन्दा कम्पनीको प्रस्तावित मूल्यभन्दा झन्डै १ अर्ब ३६ करोड रुपैयाँ बढी भुक्तानी दिएको संसदीय समितिको कागजातले पुष्टि गरेको छ ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिबाट सांसद दीपकप्रकाश भट्टको उपसमितिले गरेको अध्ययनले निगमले त्यसताका प्रतिविमानमा ६८ करोड रुपैयाँ हाराहारी बढी तिरेको औंल्याएको छ । एयरबसले ०६६ मंसिर १५ गते निगमलाई दुई न्यारोबडी विमान बिक्री गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको थियो ।

उक्त प्रस्तावमा एयरबसले प्रतिविमान ४ अर्ब ८४ करोड रुपैयाँ हाराहारीमा उपलब्ध गराउने प्रस्ताव गरेको देखिन्छ । तर निगमले भुक्तानी गर्दा प्रतिविमान ५ अर्ब ५२ करोड रुपैयाँ भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ । यस हिसाबले प्रतिविमान ६८ करोड बढी भुक्तानी भएको हो ।

‘न्यारोबडी जहाज खरिद प्रक्रिया सुरु गर्दा प्रस्ताव गरिएको मूल्य ४२.५ मिलियन डलर (४ अर्ब ८४ करोड) बाट बढाइ ४८.५ मिलियन डलर मूल्य कायम गरी भुक्तानी भएको हुँदा ६ मिलियन अमेरिकी डलर प्रतिविमान र सो विमानको हालसम्मको नोक्सानी पूर्ति हुने गरी क्षतिपूर्ति बापतको रकमसमेत नेपाल वायुसेवा निगमलाई फिर्ता गर्ने प्रक्रिया तत्काल अघि बढाउन आवश्यक कार्य गरी घाटामा रहेको निगमलाई थप घाटा हुनबाट जोगाउने व्यवस्था गर्न निगमलाई निर्देशन दिने,’ उपसमितिले तयार पारेको पहिलो प्रतिवेदनको २८ नम्बर पृष्ठमा लेखिएको छ ।

प्रतिनिधिसभा मातहतको उक्त उपसमितिले न्यारोबडी जहाज खरिद प्रक्रिया नै नेपालको ऐनकानुनअनुसार त्रुटिपूर्ण रहेको बताएको छ । त्यसै प्रतिवेदनलाई परिमार्जन गर्दै आइतबार मात्रै समितिले सरकारलाई न्यरोबडी खरिदमा देखिएको मूल्यअन्तरबारे अध्ययन गर्न भनेको छ ।

न्यारोबडी जहाज खरिदसम्बन्धी विषयमा समितिको माघ–१९ को बैठकले उपसमितिले पेस गरेको प्रतिवेदनमा रहेको व्यवस्थामा आवश्यक परिमार्जनसहित पारित गरी कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गर्‍यो,’ समितिको ३३औं बैठकको निर्णय पुस्तिकामा लेखिएको छ ।

निगमका तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कसांकारसँग एयरबसले गरेको पहिलो सम्झौता बैना विवादका कारण स्थगन भएको अध्ययन उपसमितिका संयोजक सांसद भट्टले बताए । एयरबसले बैना फिर्ता गरेपछि कसांकार जेलमुक्त भएका थिए । उनीपछि खुला प्रतिस्पर्धाबाट खरेल निगमको नेतृत्व सम्हाल्न आएका थिए ।

उनले कसांकारकै पालामा भएको डिललाई निरन्तरता दिँदै न्यरोबडी एयरबसले प्रस्ताव गरेको पुरानै मूल्यमा ल्याउने निर्णय गराएका थिए । त्यस बेला फ्रान्समा रहेको नेपाली दूतावासले पनि एयरबसले पुरानै मूल्यमा विमान दिने बताएको उल्लेख गर्दै सरकारलाई पत्र पठाएको थियो । तर भुक्तानी हुँदा प्रतिविमान ६८ करोड रुपैयाँ बढी दिइएको सांसद भट्टले दाबी गरे । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस