काठमाडौं। जेनजी युवाहरूको नाममा विभिन्न सरकारी कार्यालय पुगेर धम्की दिने अर्जुन शाही ठकुरी आफैं ठगी र बैंकिङ कसुरका अभियुक्त भएको खुलासा भएको छ। अछाम घर भएका २६ वर्षीय शाहीविरुद्ध नेपाल प्रहरीले दुईवटा फरक उजुरी दर्ता गरेको पुष्टि गरेको छ।
प्रहरीका अनुसार गत वैशाख ३० गते महाराजगञ्ज प्रहरी वृत्तमा श्रीकृष्ण फुयालले शाहीविरुद्ध बैंकिङ कसुरको उजुरी दिएका थिए। त्यस्तै वैदेशिक रोजगार विभागमा पनि उनीविरुद्ध ठगी मुद्दा दर्ता भएको छ। युवायुवतीलाई जापान पठाउने भन्दै ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा उनी यसअघि पक्राउ परेका थिए। पछि धरौटीमा रिहा भएका शाही हाल आफूलाई “जेनजी अभियन्ता” भन्दै विभिन्न सरकारी निकायमा धम्कीपूर्ण शैलीमा देखा परिरहेका छन्।
शाही र उनको टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायु सेवा निगमजस्ता संस्थामा पुगेर प्रमुखहरूलाई धम्क्याउँदै राजीनामा माग गरेका भिडियोहरू सार्वजनिक भएका छन्। एक भिडिओमा उनले वायुसेवा निगमका महानिर्देशकलाई “काम गर्न नसक्ने भए ठाउँ खाली गर्नुस्, नत्र थुतेर ल्याउँछु” भन्दै धम्क्याएको देखिन्छ।
महाराजगञ्ज प्रहरीका अनुसार शाहीविरुद्ध बैंकिङ कसुरका दुई उजुरी अझै पनि अनुसन्धान प्रक्रियामा छन्। उनले विभिन्न व्यक्तिबाट सापटी लिएर रकम फिर्ता नगरी चेक बाउन्स गराएको र वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोप छ।
यही अर्जुन शाही गत वर्ष इलाम–२ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका थिए। प्रतिनिधिसभा सदस्यका रूपमा उम्मेदवारी दिँदा उनले जम्मा ५५ मत प्राप्त गरेका थिए। ठगी मुद्दामा संलग्न व्यक्ति अहिले “जेनजी नामको भ्रष्टाचारविरोधी अभियान” चलाइरहेको भन्दै पीडितहरूले न्यायिक निकायबाट हस्तक्षेपको माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असोज २०८२, २२ : ०२
लेखकबाट थप