सभामुख घिमिरेले दलका नेतापछि संविधानविद्हरूसँग थाले कानुनी परामर्श

सफल खबर संवाददाता

बुधबार, २९ असोज २०८२, १४ : ४८
सभामुख घिमिरेले दलका नेतापछि संविधानविद्हरूसँग थाले कानुनी परामर्श

काठमाडौँ । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अबको संवैधानिक बाटोका बारेमा राजनीतिक र कानुनी परामर्श अघि बढाएका छन् ।

प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफलपछि घिमिरले संविधानविद्हरूसँग परामर्श थालेका हुन् ।

दलका नेताहरूलगत्तै घिमिरेले नेपाल बार एशोसियसनका पूर्वउपाध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँग छलफल गरेका छन् ।

विगतमा प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा बहसको नेतृत्वदायी भूमिका खेलेका संविधानविद भट्टराईसँग घिमिरले यस्तो बेलामा सभामुखको भूमिका के(के हुनसक्छ भनी सुझावसमेत मागेका छन् ।

भट्टराईले प्रतिनिधिसभा विघटनपछि सभामुख चिन्तित रहेको र अब कुन प्रक्रियाबाट कति चाँडो जनप्रतिनिधिको थलो क्रियाशील हुन्छ भन्ने चासो राखेको बताए । प्रतिनिधि सभा फर्किने बाटोका बारेमा छलफल भएको उनको भनाइ छ ।

निर्वाचनको मिति तोकिएको र केही रिटहरू विघटनविरुद्ध अदालतमा परिसकेको सन्दर्भमा सभामुखको भूमिकाबारे सबै पक्षसँग छलफल भइरहेको संसद्का महासचिव पदमप्रसाद पाण्डेले बताएका छन् । यसअघि दलका प्रमुख सचेतकहरूले सर्वोच्चको फैसला पर्खिने बताएका थिए । सभामुख नै रिट लिएर जानेबारे भने कसैले पनि सकारात्मक सल्लाह नदिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस