उपसभामुख तुम्बाहाम्फेले अब के गर्लिन् ?

तुम्बाहाम्फे भन्छिन्,– ‘नेकपाले उम्मेदवार नतोके सम्म मैले राजीनामा दिन मिल्दैन र दिन्न ।'

सफल खबर संवाददाता

आइतबार, २७ पुस २०७६, ०९ : ०७
उपसभामुख तुम्बाहाम्फेले अब के गर्लिन् ?

काठमाडौं । सत्तारुढ दल नेकपाले सभामुखमा पार्टीका तर्फबाट उम्मेदवार दिने औपचारिक निर्णय गरेको छ । प्रधानमन्त्री बिना शनिवार बालुवाटारमा बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो ।निर्णय स्वभाविक पनि छ –संसदमा झण्डै दुई तिहाई मत नेकपाको छ ।

यो बेला उसले संसदको सभामुख पद अन्य कुनै राजनीतिक दललाई सुम्पने अवस्था रहदैन् । तर उसलाई एउटा अप्ठयारो आईलागेको छ, उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा नदिई सभामुख निर्वाचन प्रक्रिया शुरु भएमा वैधानिक रुपमै नेकपाले सभामुखमा उम्मेदवारी दिन पाउने छैन् । 
पार्टीका दुई अध्यक्षले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार बोलाएर राजीनामा दिन गरेको आग्रह अस्वीकार गरेपछि शनिवार बसेको सचिवालय बैठकले उनलाई पून औपचारिक रुपमै पदवाट राजीनामा दिन निर्देश गरेको छ । तर पार्टी निर्णय आएको झण्डै १५ दिन पुग्न लाग्दा समेत उनले राजीनामा नदिने अडान दोहो¥याईरहेकी छिन् । उनको तर्क छ,–‘पहिले पार्टीले सभामुख उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय लिओस्, त्यसपछि मात्र म आफ्नो राजीनामाका बारेमा निर्णयमा पुग्नेछु ।’

उनको यो अडान भित्र आफैलाई पार्टीले सभामुखका उम्मेदवारका रुपमा अगाडी सार्नुपर्ने बार्गेनिङ लुकेको छ । शुक्रवार दुई अध्यक्षसँगको भेटमा १२ बुँदे योग्यताको सूचि बुझाएकी र आफैलाई सभामुख उम्मेदवार घोषणा नगरेसम्म राजीनामा नदिने, बरु संसद बैठक संचालन गरेर प्रक्रिया अगाडी बढाईदिने चेतावनी दिएर फर्केकी थिइन् । उनको त्यसदिनको थप अभिब्यक्ती थियो, – बरु महाअभियोग लगाउनुहोस, म त्यसरी राजीनामा दिन्न् ।

समानुपातिक सूचिमा पहिलो पटक संसद हुन पुगेकी, त्यसपछि पनि नेता सुवास नेम्वाङका कारण नेम्वाङकै जोडवलमा उपसभामुख भएकी तुम्बाहाम्फेले किन शीर्ष नेतृत्वलाई यस्तो धम्की दिईरहेकी छिन् ? यसभित्र उनी कसैको आडमा मात्र यस्तो धम्की दिईरहेकी छिन् भन्ने सजिलै बुझ्न सकिने नेकपाकै नेताहरु बताउँछन् । 

उनलाई राष्ट्रपति विद्या भण्डारीको साथ थियो । खुलेआम त्यससम्बन्धि समाचारहरु मिडियामा आई नै रहेका थिए । तर पछिल्लो पटक नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डका बीचमा सभामुख कसलाई बनाउने भन्नेमा नमिल्दा उनलाई प्रधानमन्त्री ओली समेतले प्रयोग गरिरहेको नेकपा नेताहरुका आशंका बढेको छ ।

ओली सकभर शिवमायाले राजीनामा नदिदै उनको राजीनामालाई देखाएर सक्दा सुवास नेम्वाङ, नभए दोश्रो विकल्पका रुपमा शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन चाहिरहेका छन् । उनी पूर्व एमालेधार त्यसभित्र पनि आफ्नो गुटको धारबाटै सभामुख चयन गर्न चाहन्छन् । त्यसकारण पनि उनले शिवमायाको राजीनामा अड्काएर राखेका छन् । 

प्रचण्ड भने विगत पार्टी एकताका क्रममा भएको सन्तुलन मिलाउन, पूर्व सहमती अनुरुप भागवन्डा मिलाउन र सरकार सञ्चालनको ५ वर्ष नै प्रधानमन्त्रीका रुपमा ओलीलाई काम गर्न दिन तयार रहेको अवस्थामा सम्वैधानिक परिषद्मा प्रतिनिधित्व गर्ने एउटा पूर्व माओवादी धारको लागि पनि सभामुख पूर्व माओवादीकै नेताहरुवाट हुनुपर्ने अडानमा छन् । प्रचण्डको यही अडानका कारण ओलीधारले शिवमायालाई देखाएर प्रचण्डलाई गलाउने रणनीति लिन खोजेको देखिन्छ । 

शनिबार सचिवालयले शिवमायाको राजीनामा माग्ने निर्णय लिन बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली उपस्थित नहुन् र उनी अनुपस्थित रहेको जानकारी पाउने बित्तिकै तुम्बाहाम्फेले राजीनामा दिन्न, संसद वैठक मै चलाउँछु भन्नु त्यसभित्र रहस्य लुकेको नेताहरुको वुझाई देखिन्छ । तुम्बाहाम्फे भन्छिन्,– ‘नेकपाले उम्मेदवार नतोके सम्म मैले राजीनामा दिन मिल्दैन र दिन्न ।

नेकपाले उम्मेदवार चयन नगरेसम्म यो प्रतिनिधिसभालाई नेतृत्वविहीन बनाउन मिल्दैन । मैले प्रतिनिधिसभाको उपसभामुखको हैसियतको नेतृत्व गर्छु र मैले नै काम गर्छु भनेर सपथ खाएको छु । त्यसरी सपथ खाएको संवैधानिक व्यवस्था र मेरो पदीय हैसियत र मर्यादा नाघेर प्रतिनिधिसभा रिक्त राख्नुहुन्न । र, अहिलेसम्म अडान पनि संसदलाई रिक्त बनाएर अघि बढ्न हुन्न भन्ने हो ।

उनको यो अडानभित्र सकभर आफुलाई उम्मेदवार वनाउनु पर्ने, नभए पनि ओलीले भनेका ब्यक्तीलाई उम्मेदवार बनाएपछि मात्र आफुले राजीनामा दिने भन्ने हो । उनलाई देखाएर ओली प्रचण्डलाई गलाउन चाहिरहेका छन् । प्रचण्डले भने पहिलो विकल्पमा अग्नि सापकोटा, ओलीले तुम्बाहाम्फेलाई महिलाकै कारण अगाडी सारे पम्फा भुषाललाई अगाडी सार्न चाहिरहेका छन् ।

नेकपाका एक शीर्ष नेता भन्छन्,– ‘प्रधानमन्त्री ओलीले शिवमायालाई राजीनामाका लागि ग्रिन सिंग्नल नदिएसम्म उनले पदबाट राजीनामा दिने छैनन् ।’ प्रचण्डले आफ्नो अडान नछोडेमा ओलीले तुम्बाहाम्फेलाई नै देखाएर सभामुख पद गुम्न दिने भन्दै प्रचण्डलाई गलाउन चाहिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस