ओली र लेखकलाई अब के– के गर्न पाउँछ प्रहरीले ?

सफल खबर संवाददाता

शनिबार, १४ चैत्र २०८२, ०९ : ३३
ओली र लेखकलाई अब के– के गर्न पाउँछ प्रहरीले ?

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक शनिबार बिहानै आ आफ्नै निवासबाट पक्राउ परेका छन् । बालेन नेतृत्वको नयाँ सरकार बने लगत्तै उनीहरु पक्राउ परेका हुन् । 

बालेन नेतृत्वको सरकारको पहलिो मन्त्रीपरिषद्को बैठकले गत भदौं २३ र २४ को घटना जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय लिएपछि ओली र लेखक पक्राउ परेका हुन् । शुक्रबार बसेको पहिलो मन्त्रीपरिषद्को बैठकले सुरक्षा निकायको हकमा कार्यादल बनाई अध्ययन गरेर अगाडी बढ्ने र अन्यको हकमा प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय लिएपछि ओली र लेखक पक्राउ परेका हुन् ।

गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा ओली र लेखकलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार छानबिन गरी कारवाही गर्न सिफारिस गरेको थियो। सोही आधारमा उनीहरु पक्राउ परेका हुन् । 

अब प्रहरीले के के गर्न सक्छन् ?
पक्राउपछि अब प्रहरीले दुबै नेताको सुरुमा स्वास्थ्य परिक्षण गराउनु पर्ने हुन्छ । प्रहरीले जो कोही ब्यक्तिलाई पनि अनुसनधानका लागि पक्राउ गरेपछि सुरुमा उसको स्वास्थ्य परिक्षण गराउनुपर्ने हुन्छ । त्यही आधारमा पूर्व प्रधानमन्त्री केपी ओली र रमेश लेखकलाई पनि स्वास्थ्य परिक्षण गराउनुपर्ने हुन्छ । 

स्वास्थ्य परिक्षणका लागि पूर्व प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल लगिसकिएको छ । त्यहाँ ओलीलाई अहिले अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएको छ । रेड एरियामा विशेष र जटिल प्रकारका बिरामीहरुलाई राख्ने गरिन्छ । ओली मिर्गौला प्रत्यारोपणका बिरामी समेत रहेकाले मिर्गौला डाक्टरले स्वास्थ्य परीक्षण गर्ने तयारी छ । त्यस्तै लेखकको पनि स्वासथ्य जाँच गराउनुपर्ने छ । 

त्यसपछि प्रहरीले उनीहरुलाई अदालतमा पेश गर्नुपर्ने हुन्छ । आज शनिबार सार्वजनिक बिदा भएकोले भोलि आइतबार मात्रै ओली र लेखकलाई प्रहरीले अदालतमा उपस्थित गराउनेछ । प्रहरीले उनीहरुलाई काठमाडौं जिल्ला अदालतमा भोलि आइतबार कार्यालय समय खुलेपछि म्याद थपका लागि पेश गर्नुपर्ने हुन्छ । उनीहरुलाई पक्राउ गर्दा नै जरुरी पक्राउ पुर्जी जारी रेर पक्राउ गरिएकोले पनि अदालतमा भोलि आइतबार कार्यालय समय खुल्ने वित्तिकै पेश गर्नुपर्ने हुन्छ ।

अदालतले ओली र लेखकलाई हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएमा मात्रै प्रहरीले हिरासतमै राखेर अनुसनधान गर्न प्रहरीलाई बाटो खुल्छ । अन्यथा अदालतले हिरासतमा राख्ने अनुमति नदिएको खण्डमा उनीहरुलाई प्रहरीले हिरासतबाहिरै राखेर अनुसन्धान गर्नुपर्ने हुन्छ ।

अदालतले हिरासतमा राख्न अनुमति दिएमा बढीमा २५ दिनसम्म मात्रै हिरासतमा राखेर अनुसनधान गर्न पाउने हुन्छ । तर अदालतले हिरासत राख्न अनुमति दिएपनि कति दिन दिन्छ, सोही आधारमा थप अनुसन्धान आवश्यक परे प्रहरीले अदालतसँग थप समय माग गर्न सक्छ । तर त्यसरी अनुसनधानका लागि माग गर्ने समय पनि २५ दिन बढी समय लिन पाउँदैन । 

जुन अभियोगमा ओली र लेखकलाइृ जरुरी पक्राउ पुर्जी दिइएको छ र जे अभियोगमा अनुसन्धान गर्न चाहेको छ, त्यसमा हिरासतमा लिने अवधी बढीमा २५ दिनको हुने  मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा उल्लेख छ।

त्यस अवधीमा प्रहरीले अनुसनधानको पाटो सकेर अदालतमा मुद्दाको फाइल नै पेश गरिसक्नुपर्ने हुन्छ । त्यसपछि भने अदालतमा थुनछेकको बहस हुनेछ । अदालतले त्यसबेला निर्दाेष देखेमा छोडन सक्नेछ । दोषी देखेमा अदालतले दिने आदेशका आधारमा थप प्रक्रिया अगाडी बढ्ने हुनेछ । 

प्रहरीले ओली र लेखकलाई जे आधारमा अनुसनधान गर्न लागिएको छ, त्यो भनेको गौरी वहादुर कार्की आयोगको प्रतिवेदन हो । उक्त प्रतिवेदनमा हेलचेक्राईपूर्ण कार्य गरी ज्यान मारेको अभियोगमा कारवाही सिफारिस छ । 

लापरबाहीपूर्ण काम गरी ज्यान मार्न नहुने कसुरमा ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ। त्यस्तै, हेल्चेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा ३ वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। प्रहरीले ओली र लेखकलाई सोही आधारमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।