काठमाडौँ । कांग्रेसमा महाधिवेशनको मिति घोषणा, सदस्यतासम्बन्धि विधानको धारा निलम्बन र विभाग संख्या थप गर्ने विषयलाई लिएर विवाद भइरहेको छ । सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचको यो विवाद बढ्दै गएको छ ।
पौडेल पक्षले केन्द्रीय समिति र पदाधिकारी बैठक बहिष्कार गरिरहेको छ भने देउवा पक्षले आफ्ननै बहुमतका आधारमा निर्णय गरिरहेको छ। पौडेल निकट पार्टी सभापतिहरुको भेला पार्टी कार्यालयमा दुई दिनदेखि चलिरहेको छ। यो भेलाले सभापति देउवालाई बहुमतको निर्णय सच्याउन दबाब दिएको छ। दुवै पक्ष आफ्नो अडानमा टसको मस नहुँदा पार्टीभित्र विवाद र विभाजन बढिरहेको छ। दुवै पक्षले आ–आफ्ना समूहका बैठकहरु गरिररहेका छन्।
मिडिया र सार्वजनिक फोरममा एक अर्कालाई दोषारोपण गरिररहेका छन्। यस्तोमा स्वभाविक प्रश्न उठ्छ- पार्टीका युवा नेताचाहिँ कहाँ छन्? उनीहरु के गरिरहेका छन्? के भनिरहेका छन्? यो प्रश्न किन पनि उठ्छ भने यसअघिका विवादहरुमा युवाहरु समाधानका सूत्र लिएर अगाडि सर्ने गरेका थिए।
१३औं महाधिवेशनपछि पार्टीमा विवाद हुँदा सात भाइ युवा नेताहरु संयुक्त रुपमा निस्किएका थिए। विश्वप्रकाश शर्मा, गगन थापा, चन्द्र भण्डारी, बद्री पाण्डे, प्रदीप पौडेल, गुरु घिमिरे र धनराज गुरुङले आह्वान पत्रले जारी गरेका थिए। विश्वप्रकाश शर्मा पार्टी प्रवक्ता भएपछि उनी अहिले यो समूहमा छैनन्।
यसपटक पनि युवा नेताहरु सक्रिय भने भएका छन्। आइतबार केन्द्रीय सदस्यहरु गगन थापा, धनराज गुरुङ, एनपी साउद, सुरेन्द्रराज पाण्डे, भिष्मराज आङदम्बे, चन्द्र भण्डारी, दिपक गिरी, सरिता प्रसाई, प्रदीप पौडेल, किशोरसिंह राठौर, बद्री पाण्डेले सभापति देउवा र बरिष्ठ नेता पौडैललाई भेटे।
दुवै नेताहरुसँगको भेटमा विधानअनुसार चल्ने सुझाव आफूहरुले दिएको प्रदीप पौडैलले बताए। 'सभापतिले पनि सबैलाई विश्वासमा लिइ विधानअनुसार चल्नु पर्यो र अर्को पक्षले पनि सभापतिलाई विधानले दिएका अधिकार प्रयोग गर्न दिनुपर्यो,' पौडेलले भने, 'बटमलाइन भनेको पार्टी विधान हो।'
पौडेलले विधानको धारा निलम्बन गर्ने निर्णय रद्द गर्ने, महाधिवेशनको मिति यथावत राखेर तल्लो तहका अधिवेशनको मिति फेरबदल गर्ने र विभाग तथा भातृसंस्थामा विधानमा भएको व्यवस्था अनुरुप अगाडि बढ्न सुझाव युवा नेताहरुले दिएको पनि बताए।
‘विधानका धारा निलम्बन गर्ने निर्णय सच्याउने र महाधिवेशनको मिति यथावत राखेर मातहतका अधिवेशनको मिति फेरबदल गर्ने तथा अन्य विषय विधानअनुरुप गरे समस्या समाधान हुन्छ,’ पौडेलले इकान्तिपुरसित भने, ‘भाग खोज्ने र भाग लिनेले आफ्नो स्वार्थअनुरुप विधानविपरित सहमति गर्दा समस्या उब्जिएको हो।’
मंगलबार इकान्तिपुरसँगको कुराकानीमा केन्द्रीय सदस्य एवं सांसद गगन थापाले विवाद समाधानका लागि तीनवटा काम दुवै पक्षले गर्नुपर्ने बताए। 'सबभन्दा पहिला त सभापतिले आग्रहमुक्त भएर संवादको थालनी गर्नुपर्यो। दोस्रो काम भनेकाे महाधिवेशनको सुनिश्चितताका निम्ती विधानको धारा निलम्बन फिर्ता लिने र महाधिवेशन गर्न आवस्यक पर्ने संरचना बनाउनुपर्यो,' थापाले भने, 'तेस्रो काम सभापतिले जुनसुकै निर्णय गर्दा विधानभन्दा तलमाथि जानु भएन र अर्को पक्षलाई पनि न्याय र सन्तुलन मिलाउँछु भने आश्वस्त पार्नुपर्यो।'
थापाले असन्तुष्ट पौडेल, महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिटौलाले पनि तीन काम गर्नु पर्ने बताए । ‘सभापतिले सम्वादको अग्रसरता लिए नसिन्देह वार्तामा सकारात्मक रुपमा जोडिनुपर्छ । महाधिवेशनको मिति घोषणा भएकाले घोषित मितिमा महाधिवेशन हुने सुनश्चितता गर्न धारा नलिम्बन गर्ने निर्णय सच्च्याउन दबाब दिनुपर्छ,’ थापाले भने, ‘पार्टीका अन्य निर्णय गर्दा सभापतिलाई विधानले दिएको अधिकार प्रयोग गर्न दिनुपर्छ ।’ कान्तिपुर दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २३ पुस २०७६, ०६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमतीमा कांग्रेस विवाद : शेखर पक्ष पर्ख र हेरको नीतिमा
'भिजिट भिसाबाट उतै घरजम गरेकालाई उपप्रधानमन्त्री र मन्त्री बनाइसक्यौँ’ : काँग्रेस
मधेशवादी दल एकजुट हुँदा रुपन्देहीमा काँग्रेसलाई चुनौती पर्न सक्ने निष्कर्ष
कुलिङ पिरियडबारे एमालेका ५ सांसदको संशोधन प्रस्तावप्रति काँग्रेसले जनायो गम्भीर आपत्ति
कांग्रेस पदाधिकारी बैठकमा रुपन्देही-३ को उपनिर्वाचनबारे छलफल
कांग्रेस पदाधिकारी बैठक सुरु