काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
पूर्वराष्ट्रपति भण्डारीको बालुवाटारस्थित निवासमा आज भएको भेटमा उनीहरुबीच मुलुकको समसामयिक परिस्थितिबारे विचार विमर्श भएको छ ।
भेटका क्रममा सञ्चार मन्त्री खरेलले सरकारले गरिरहेको काम, सरकारको प्राथमिकता, आगामी निर्वाचनको तयारीलगायत विषयमा पूर्वराष्ट्रपतिलाई जानकारी गराए । मन्त्री खरेलले सरकारले निर्वाचनको माहोल बनाइरहेको र निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी गरिरहेको अवगत गराए ।
सञ्चार मन्त्री खरेलले आगामी निर्वाचनका लागि सबै राजनीतिक दलहरू सकारात्मक रहेको र केही दलले निर्वाचनका लागि शान्ति सुरक्षाको वातावरणका लागि चासो देखाएअनुरूप सरकारले निर्वाचनको सुरक्षालगायत तयारी गरिरहेको पूर्वराष्ट्रपति भण्डारीलाई जानकारी गराए । उनले जेन जेड आन्दोलनको जगमा बनेको वर्तमान सरकारले निर्वाचन सम्पन्न गर्ने, सुशासन प्रवर्द्धन, रोजगारी सिर्जना, नवप्रवर्तनलगायतका कामलाई प्राथमिकताकासाथ अगाडि बढाएको उल्लेख गरे ।
त्यसक्रममा पूर्वराष्ट्रपति भण्डारीले निर्वाचन नै अहिलेको उपयुक्त विकल्प भएकाले मुलुक निर्वाचनको माहोलमा रहेको उल्लेख गरिन् । उनले सबै राजनीतिक दलहरू निर्वाचनमा सहभागी हुनुपर्ने र निर्वाचनका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिइन् । पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “निर्वाचन नै अहिलेको निकासको सही बाटो हो, यसका लागि सरकारले सोहीअनुसारको माहोल बनाउनुपर्छ र निर्वाचनमा सबै दलहरू सहभागी हुनुपर्छ ।”
सरकारले आगामी फागुन २१ को निर्वाचनको वातावरण बनाउन विभिन्न पक्षहरूसँग संवाद तीव्र रूपमा अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ मंसिर २०८२, २० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
काँग्रेस सभापति देउवा र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
सञ्चार मन्त्री खरेलले भने : ‘सरकार अनलाइन मिडियासँग सहकार्य गर्न तयार छ’
नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ’ : सञ्चार मन्त्री खरेल
सञ्चार मन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन
‘निर्वाचनको वातावरण बनिसकेको छ’ : सञ्चार मन्त्री खरेल