इश्वर पोखरेलेको एमालेमा कति छ शक्ति ?

पार्टीभित्र सधैं संस्थापनको खम्बाजस्तो भई खडा भएका पोखरेल पहिलो पटक संस्थापनविरुद्ध उभिने तयारीमा

सफल खबर संवाददाता

सोमबार, ०१ मंसिर २०८२, १० : १६
इश्वर पोखरेलेको एमालेमा कति छ शक्ति ?

काठमाडौं । मंसिर २७ गतेदेखि नेकपा एमालेको महाधिवेशन हुँदैछ । विधानतः एक वर्ष अगाडी नै एमालेले पार्टी महाधिवेशन गर्न लागेको छ । चितवन महाधिवेशनमा उमेर हदमा रहेको प्राविधिक पक्ष मिलाएर केपी ओली पार्टी अध्यक्ष बनेका थिए ।

यसपटक उनी दुई कार्यकाल भन्दा बढी कार्यकारी हुन नपाउने प्रावधान संसोधन गराएर फेरि तेस्रो पटक पार्टी नेतृत्वमा पुग्न चाहेका छन् । तर ओलीलाई यो पटक वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले चुनौती दिने तयारी गरेका छन् । एमालेमा यो महाधिवेशनले एउटा रोचक मोड लिँदैछ—तीन दशकभन्दा बढी समय पार्टीभित्र सधैं संस्थापनको खम्बाजस्तो भई खडा भएका इश्वर पोखरेल पहिलो पटक संस्थापनकै अडानविरुद्ध उभिने तयारीमा छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीका विगतमा ‘सबैभन्दा विश्वस्त’ मानिँदै आएका पोखरेल अहिले ओलीविरुद्द पूर्व राष्ट्रपति बिद्या भण्डारीको शक्ति–कडी भएर प्रत्यक्ष भिडन्तमा उत्रन खोजिरहेको परिदृश्यले एमालेको राजनीतिक वृत्तका धेरैलाई चकित पारेको छ ।

तर, यो राजनीतिक मोड बुझ्न पोखरेलको पुरै राजनीतिक यात्रामा फर्किनु आवश्यक छ । जहाँ एक स्थिर, सन्तुलित तर कहिलेकाहीँ विवादग्रस्त इश्वर पोखरेल देखिन्छन्, जो सधैं अरूको उचाइ बढाउने खम्बा बने, तर आफ्नो उचाइ कहिल्यै त्यति माथि पु¥याउन सकेनन् ।

एमालेभित्र शक्ति र नेतृत्वको गणित अक्सर ‘कसलाई कसले साथ दियो ?’ भन्ने सूत्रले तय हुँदै आएको छ । कहिले ‘वामदेव गौतम (जो अहिले नेपाली कम्युनिष्ट पार्टीका नेता छन्) जसलाई साथ दिन्छन्, त्यही जित्छ’ भन्ने भास्य एमालेमा थियो । तर, एमालेको आठौं र नवौं महाधिवेशनले त्यो भास्ष्यलाई बद्लिदिएको छ । अर्थात, ‘जसलाई इश्वर पोखरेलको साथ मिल्छ, एमालेको अध्यक्ष त्यही बन्छ ।’

पोखरेलले आठौं महाधिवेशनमा झलनाथ खनाललाई साथ दिए, खनाल अध्यक्ष जिते, नवौं महाधिवेशनमा केपी ओलीलाई साथ दिए ओली अध्यक्ष जिते । यी दुवै महाधिवेशनमा दुवै पटक महासचिवमा समेत पोखरेल आफैं विजयी भए । उनको साथ पाउने नेतृत्व माथि उठ्यो, तर उनी स्वयं नेतृत्वको शीर्ष तह अध्यक्षसम्म कहिल्यै पुग्न सकेका थिएनन । तर यो पटक मंसिर २७ देखि हुने महाधिवेशनमा भने उनी ओलीसँगै प्रतिस्पर्धामा उत्रिएर पहिलो पटक सस्थापनविरुद्दको मोर्चा आफ्नै नेतृत्वमा खोल्ने तयारीमा छन् ।

२५ जेठ २०३२ मा विराटनगरको महेन्द्र मोरङ क्याम्पसका एक मजदुरको कोठाबाट गठन भएको अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेसन केन्द्रका नौ संस्थापक नेतामध्ये एक युवा थिए—इश्वर पोखरेल । उनको राजनीतिक यात्रा खास गरेर स्थिर र सधैं संस्थापनकेन्द्रित रह्यो । इश्वर पोखरेलका राजनीतिक अभ्यासमा एउटा प्रवृत्ति स्पष्ट देखिन्छ, सधैं पार्टीको आधिकारिक लाइन र त्यसका शीर्ष नेताको पक्षमा उभिनु ।

मदन भण्डारीदेखि माधव नेपाल, झलनाथ खनाल हुँदै ओलीसम्म, सबैको काँध इश्वर पोखरेलले थापे, सबैलाई संगठनात्मक रूपमा मजबुत बनाउने भूमिका खेले । आलोचकहरूले पोखरेलेको सस्थापन लाइनलाई ‘अतिवफादारी र अवसरवादी भक्ति’ को रूपमा पनि हेर्ने गरेका छन् । तर, मर्थकहरू भने ‘नेतृत्वलाई स्थिर बनाउने जिम्मेवार संगठनकर्ता’ को रुपमा पोखरेललाई लिने गर्छन् । 

तर एक कुरा स्पष्ट छ— जति ताकत उनी अरूलाई जिताउन र दिलाउन सक्षम छन्, त्यति शक्ति आफूले भने संचित गर्न कहिल्यै सकेनन् । पोखरेलसँग संगठन विभागमा बसेर काम गरेको लामो अनुभव छ । देशभर कार्यकर्तासँग न्यानो सम्बन्ध बनाउन सफल नेता पनि हुन् । तराई–मधेसमा बसेर पार्टीको राजनीति पनि गरेका कारण उनको त्यहाँ पनि राम्रो पकड (मैथिली, भोजपुरी भाषण) छ । लेनिनवादी संरचना र सिद्धान्तका राम्रो व्याख्याता पनि हुन् । काव्यिक र व्यञ्जनापूर्ण भाषण–शैली पनि उनको छ । 

यो पटक उनलाई अर्का नेता सुरेन्द्र पाण्डेको पनि साथ देखिदैछ । एमालेमा प्राय पूर्व पश्चिम, उत्तर दक्षिण जताको भूगोलको पनि जिम्मेवार भएर काम गरेका कोही नेता छन् भने पोखरेल र पाण्डे नै हुन् । यी दुवै नेता अहिले ओली विरुद्दको मोर्चामा उभिन खोजिरहेका छन् । 

एमालेमा उनको शक्ति अहिलेसम्म परिक्षण हुन वाँकी छ । अरुलाई जिताउन भने उनी काविल बने, अव आफै जित्न उनी कति सक्षम छन् ? यो उनको परिक्षण पनि हो । तर त्यसका लागि भने मंसिर अन्तिम सम्म कुर्नेपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस