मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र सुरु

सफल खबर संवाददाता

मंगलबार, ०२ मंसिर २०८२, ०७ : ४८
मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र सुरु

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र गर्न सुरु भएको छ ।

भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयमार्फत सोमबारदेखि ६ किलोमिटर ५०० दूरीको सडकमा कालोपत्र गर्न थालिएको हो ।

कार्यालयका सूचना अधिकारी इञ्जिनियर विष्णु चापागाइँले दुई लेनमा अक्सफाल्ट प्रविधिको कालोपत्र गरिने जानकारी दिए । ‘गत वर्ष पाँच दशमलव पाँच किलोमिटर दूरीको मालढुङ्गा–फर्से खण्डमा कालोपत्र भएको थियो’, उनले भने, ‘बाँकी रहेको फर्से–बेनी खण्डमा यही महिनाभित्र कालोपत्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कम्पनीले उपकरण र मजदुर परिचालन गरेको छ ।’

कूल १३ किलोमिटर दूरीको मालढुङ्गा–बेनी सडकको पहिरो प्रभावित र पर्वत बेनीको बजार क्षेत्रको एक किलोमिटरलाई ठेक्काबाट हटाइएको छ । दुई किलोमिटर २०० मिटर ढलान भएको छ । लस्ती बजारको ५६० मिटर र लस्ती पुलदेखि केराबारीको पहिरोसम्म २५० मिटरमा सोमबार एकतर्फी कालोपत्र भएको छ ।

मङ्गलबार उक्त खण्डमा दुईतर्फी कालोपत्र सकेर केराबारीदेखि मिलनचोकतर्फ कालोपत्र सुरु गर्ने निर्माण कम्पनी एपेक्स–खड्का–कृष्ण जेभीका इञ्जिनियर जीवन चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस