दार्चुला । चिसो बढेकाले नेपालका बासिन्दा तल्लो भेगमा झरेको मौका छोपेर भारतले व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना निर्माण थालेको छ । पश्चिम नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरी आफ्नो नक्सामा पारेको भारतले नेपाली पक्षको उपस्थिति नभएको फाइदा उठाउँदै एक पक्षीय रूपमा संरचना बनाएको हो ।
व्यास गाउँपालिका–१ पेल्सिती नजिकै महाकालीमा भारतले अनुमतिबेगर काठेपुल बनाएको छ । महाकाली नदी नै प्रभावित हुने गरी भीर कटान गरेर सडक बनाउने कामलाई पनि तीव्र पारेको छ । ०७४ सालमा पनि भारतीय पक्षले महाकाली नदीमा नेपालको अनुमति नलिईकनै विभिन्न ठाउँमा काठेपुल बनाउनुका साथै नेपाली भूमिमा एक्स्काभेटर चलाएको थियो ।
चिसोका कारण यतिबेला व्यास गाउँपालिका–२ दुम्लिङभन्दा माथिको क्षेत्रमा बसोबास छैन । व्यासको छाङरुसम्मै आवतजावत गर्दै आएका नेपाली हिमपातपछि तल्लो भेगमा झरिसकेका छन् । जाडो बढेकाले त्यस क्षेत्रमा बसोबास गर्ने सबै तल भेगमा झरेको दुम्लिङका स्थानीय जीवनसिंह बुढाथोकीले बताए । दुई वर्षअघि पनि यस्तै मौकामा भारतले नेपालको उक्त क्षेत्रमा काठेपुल निर्माण गरेको थियो ।
अहिले पनि स्थानीय तल झरेको र हिमपात भएको मौका छोपेर उनीहरूले काठेपुल बनाएका हुन् । अहिले त्यहाँ नेपालको सुरक्षा उपस्थिति पनि छैन । व्यासमा सुरक्षा दिइरहेको नेपाल प्रहरी चिसो सहन नसकेर दुम्लिङ झरेको एक महिना पनि पुगेको छैन । प्रहरी मंसिर तेस्रो साता दुम्लिङसम्म गएको थियो । त्यसपछि माथिल्लो क्षेत्रमा बाटो नहुँदा जान नसकिएको अस्थायी प्रहरी चौकी दुम्लिङका इन्चार्ज अमरसिंह कार्कीले बताए ।
चार/पाँच दिनअघि व्यास क्षेत्र जाने बाटो निर्माणको सर्भे गर्न गएको टोलीका प्रतिनिधिहरू भारतीय पक्षले निर्माण गरेको पुल भएरै नेपाल–भारत आवतजावत गरेका हुन् । टोलीमा रहेका एक प्रतिनिधिले भने, ‘पेल्सितीभन्दा करिब ५ सय मिटर तल नेपाल–भारततर्फ आवतजावत गर्न भारतीय पक्षबाट काठेपुल निर्माण गरिएको छ । नदीको वारिपारि ठूल्ठूला ढुंगाहरूले पानी नै देखिँदैन । भारतीय सडककै कारण महाकालीको सतह खुम्चिँदै गएको छ, नेपालतर्फ कटान भएको छ ।’ धेरै ठाउँमा नदीले कटान गरेपछि व्यास जोड्ने घोडेटो बाटो भत्किएको उनले बताए । त्यस ठाउँमा पुल बनाइएको बारे नेपाली पक्षलाई कुनै जानकारी छैन ।
भारतले सन् २०२० भित्र लिपुपास (लिपुलेकबाट तिब्बत) सम्म पुर्याउन आफ्नो सीमातर्फ ठाउँठाउँमा सडक निर्माण गरिरहेको छ । भीर भएको क्षेत्रमा दुवैतिर कटान गरेर सडक निर्माण तीव्र गतिमा बढाइरहेको व्यासका स्थानीय बताउँछन् । ठूला चट्टान कटान गर्दा ढुंगा खसेर महाकाली नदी प्रभावित भएको छ । नेपालतर्फको भागमा नदीको कटान बढेको छ ।कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १४ पुस २०७६, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी