भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय

रास्वपामा संवाद जालो निर्माण गर्ने भाजपा तयारी

सफल खबर संवाददाता

मंगलबार, १९ जेठ २०८३, ०८ : ३०
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय

काठमाडौं । नेपालको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ५ दिने भ्रमणका लागि दिल्ली पुगेका छन् । गत फागुन २१ को निर्वाचनपछि एक्लै झण्डै दुई तिहाईको सरकार चलाईरहेको रास्वपा सभापति भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निम्तोमा सोमबार दिल्ली पुगेका हुन् । 

त्यहाँ उनलाई भाजपाका महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाईवालेले इन्दिरा गान्धी विमानस्थलमा स्वागत गरेका थिए । लामिछानेको स्वागतमा दिल्लीस्थित नेपाली कार्यवाहक राजदूत डा.सुरेन्द्र थापा विमानस्थल पुगेका थिए । कांग्रेस, एमाले र माओवादीहरु सत्तामा रहँदा सम्वन्ध च्यानल फिट गरेको दिल्लीले अहिले सरकारमा आएको रास्वपासँग कसरी सम्वन्धको जालो निर्माण गर्ने भन्ने तयारीमा जुटेको छ ।

भाजपा कसरी चलिरहेको छ ? यसको पार्टीको संगठनात्मक संरचना कस्तो छ ? पार्टी कार्यालय कसरी चल्छ ? भाजपाका विभागहरु कति छन्, ती विभागहरुले कसरी काम गरिरहेका छन् ? पार्टीका गतिविधिहरुको प्रचार संन्यत्र कस्तो छ ? आदी विषयमा भाजपाका पदाधिकारीहरुले लामिछानेसहितको टोलीलाइ विस्तृतमा विफ्रिङ आज हुनेछ । 

रास्वपाका बरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राजदूतहरुसँग भेट बन्द गरेपछि भाजपाले सत्तासिन दलको सभापतिलाई नै बोलाएर संवाद जालो निर्माण गर्न खोजेको हो । त्यसका लागि लामिछानेलाई निम्ताइएको हो । लामिछानेसँगै श्रीमती निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, नेता दीपक बोहोरा र लामिछानेका स्वकीय सचिव प्रदीप आचार्य भ्रमण दलमा छन् । यी सबै लामिछानेका विश्वासपात्र हुन् । 

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम यो समाचार तयार पार्दासम्म दुवै पक्षले नखुलाएपनि भोलि बुधबार भेट्ने गरी कार्यक्रम बनेको स्रोतको दावी छ । ‘हाम्रो सभापति र भारतीय प्रधानमन्त्रीका बीचमा भोलि बुधबार भेट गर्ने गरी भित्री तालिका बनिसकेको छ,’ रास्वपाका एक पदाधिकारीले सफलखबरसँग भने, ‘उहाँहरु बीचको भेट तालिका दिल्ली जानु अगाडी नै फिक्स गरिएको थियो ।’

आज भने लामिछानेले बिहान १० बजेदेखि भाजपा मुख्यालयबाट राजनीतिक भेटघाट शुरु गर्नेछन् । दिल्लीको दिनदयाल मार्गस्थित भाजपा मुख्यालयमा भाजपा अध्यक्ष नितिन नवीन सहित पार्टी पदाधिकारीसँग भेटघाट गर्नेछन् । लामिछानेको यहीबाट औपचारिक भेटघाट कार्यक्रम सुरु हुनेछ । विहान १० देखि अपरान्ह्रसम्म दिवा भोजसहित त्यही भाजपा कार्यलयमा उनले समय विताउनेछन् ।

भाजपाको तर्फबाट भाजपा कसरी चलिरहेको छ ? यसको पार्टीको संगठनात्मक संरचना कस्तो छ ? पार्टी कार्यालय कसरी चल्छ ? भाजपाका विभागहरु कति छन्, ती विभागहरुले कसरी काम गरिरहेका छन् ? पार्टीका गतिविधिहरुको प्रचार संन्यत्र कस्तो छ ? आदी विषयमा भाजपाका पदाधिकारीहरुले लामिछानेसहितको टोलीलाइ विस्तृतमा विफ्रिङ आज हुनेछ । 

महाधिवेशनको संघारमा रहेको रास्वपाले भाजपाको पार्टी सञ्चालन पद्दतीबाट केही सिक्न सक्ने र यसले भाजपा र रास्वपाबीचको पार्टीगत सम्वन्धको जालो विस्तार हुने भाजपाको बुझाई रहेको देखिन्छ । भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवालेले भारतीय सञ्चारमाध्यम द प्रिन्टलाई दिएको प्रतिक्रियाले पनि यस कुरालाई पुष्टि गर्छ । ‘भाजपाले नेपालको सत्तारूढ रास्वपासँग नियमित कुराकानी गर्ने च्यानल स्थापना गर्न खोजिरहेको छ । हामी निश्चय नै दुई पार्टीबिच संवाद सेटअप गर्नेछौँ । यो हाम्रा लागि पनि नयाँ हो । हामी आशावादी छौँ कि यसले एक प्रकारको नियमित संवादको ढोका खुल्नेछ,’ भारतीय मिडिया द प्रिन्टलाई चौथाइवालेले भनेका छन् ।

लामिछाने र भारतीय विदेश मन्त्री एस जयशंकरबीच आजै भेट हुनेछ । यो भेटमा नेपालको सरकारको प्राथमिकता क्षेत्रहरुका बारेमा छलफल हुनेछ । विदेशमन्त्रीसँगको भेटका आधारमा भोली मोदीसँग हुने भेटका प्राथमिकताका क्षेत्रहरुको पहचिान र त्यस आधारमा थप छलफल मोडालिटी बन्ने बताइएको छ । 

होटल र पार्टी कार्यालयमा हुने भेटघाटमा दिल्लीस्थित नेपाली दूतावासका कर्मचारी सहभागी गराउन खोजिएको छैन । तर, अन्यत्र हुने वार्तामा भने दूतावासका कर्मचारीलाई सहभागी गराउने बताइएको छ । विहिबार प्रवासी नेपालीको कार्यक्रममा सहभागी हुने र त्यसपछि रविको अयोध्या जाने कार्यक्रम बनेका छ । 

रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता नयाँ दिल्लीबाट निम्तो पाउने सत्ताधारी दलका पहिलो उच्चस्तरीय नेता लामिछाने नै हुन्।नेपालमा प्रधानमन्त्री बालेन शाहको संसदको विवादास्पद अभिव्यक्तिसँगै लामिछानेको दिल्ली भ्रमण सुरु भएकोले पनि यो भ्रमणलाई चासो र संशयका साथ पनि हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस