नयाँ मन्त्रीका प्रतिबद्धता : कर्मचारीको सरुवामा हस्तक्षेप नगर्नेदेखि उद्योगीलाई रेड कार्पेट ओच्छ्याउनेसम्म

सफल खबर संवाददाता

विहीबार, ०५ मंसिर २०७६, १४ : ४८
नयाँ मन्त्रीका  प्रतिबद्धता : कर्मचारीको सरुवामा हस्तक्षेप नगर्नेदेखि उद्योगीलाई रेड कार्पेट ओच्छ्याउनेसम्म

काठमाडौँ । प्रधानमन्त्री केपी ओली सरकारमा भर्खर गएका नयाँ मन्त्रीहरुले पदभार सम्हालेका छन् । सूर्य चिन्ह लिएर चुनाव लडेका स्वतन्त्र सांसद हृदयेश त्रिपाठीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको रुपमा पदभार ग्रहण गरेका हुन् । 
राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिँएसँगै सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरेका हुन् । 
पदभार सम्हालेपछि उनले राजनीतिक सहमतिका आधारमा काम गर्ने बताए । उनले भने, ‘म राजनीतिक सहमतिमा विश्वास गर्ने भएकाले सहमतिका साथ अघि बढ्छु ।’

संघीय निजामती सेवा ऐन छिटोभन्दा छिटो जारी गर्ने र कर्मचारी समायोजनको क्रममा देखिएका केही मनोवैज्ञानिक समस्याहरु समाधान गर्ने बताए । स्थानीय तह, प्रदेश र संघ बीचको अन्तरसम्बन्धलाई तारतम्य मिलाएर अघि बढ्नुपर्ने बताउँदै उनले त्यसका लागि केही कानुनी संशोधनको आवश्यकता औंल्याए ।

ओली सरकारमा गएका अर्का नयाँ अनुहार कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले पनि आजै पदभार सम्हाले । पदभार सम्हालेपछि उनले कर्मचारीको सरुवा, बढुवामा हस्तक्षेप नगर्ने बताएका छन् ।

बिहीबार मन्त्रालयमा पदभार ग्रहणपछि उनले कर्मचारीको सरुवा, बढुवालगायतका काममा हस्तक्षेपमा आफूलाई घृणा लाग्ने बताएका हुन् । ‘सरुवा, बढुवामा राजनीतिक हस्तक्षेप गर्दिन, मलाई त्यो काम घृणा लाग्छ’ उनले भने । अँगालो हालेर यसअघिका मन्त्री चक्रपाणि खनालले मन्त्री भुसाललाई स्वागत गरेका थिए । 

यस्तै, नवनियुक्ति भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले पनि पदभार सम्हाले । पटकपटक  पाँचथरबाट निर्वाचित हुँदै आएका सांसद नेम्वाङले पदभार ग्रहणपछि काठमाडौँको सडक आफूले देखेको बताए । 

पूर्वाधार विकासमा जुन गतिमा काम भइरहेको छ, त्यो पर्याप्त नभएको उनले बताए । सडक, रेल, पानीजहाज लगायतका पूर्वाधारका क्षेत्रमा काम गर्न प्रशासनिक, नीतिगत सुधार गर्नुपर्ने भए गरेर पनि कामलाई गति दिने उनले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले थममाया थापामगरलाई हटाएर महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा पार्वत गुरुङलाई नियुक्त गरे। बिहीबार राष्ट्रपतिबाट शपथग्रहण गरेपछि मन्त्रालय पुगेर उनले कार्यभार सम्हाले ।

कार्यभार सम्हाल्दै गुरुङले भने, ‘थममाया थापा मेरो दिदी हुनुहुन्छ, पार्टीको नेता हुनुहुन्छ । केही समस्या आयो भने, उहाँसँग सल्लाह गरेर अघि बढ्छु ।’ उद्योग राज्यमन्त्री मोती दुगडले प्रधानमन्त्री केपी शर्मा ओलीको माया र सद्भावले आफू राज्यमन्त्री बन्ने अवसर पाएको बताएका छन् ।

बिहीबार पदभार ग्रहण गर्दै उनले भने ‘प्रधानमन्त्रीको माया र सद्भाव र पार्टीको विश्वासले यहाँ आएँ । लेखराज मन्त्रीज्यूसंग ट्युनिङ मिल्छ भन्ने विश्वास छ ।’ राज्यमन्त्री दुगडले आफू राजनीतिभन्दा अलग ठाउँबाट आए पनि केही गरेर देखाउने बताए ।

उनले भगवान साक्षी राखेर घुस नखाने पनि प्रण गरे । उद्योगीको मनोबल खस्किएकाले सुधार गर्ने बेला आएको राज्यमन्त्री दुगडले बताए । ‘मलाई सबै कुरा पुगेको छ यहाँ आएर केही पाउनु छैन । कर्मचारीले साथ दिनुस् । उद्योगीलाई रेड कार्पेट ओच्छ्याउने वातावरण बनाउँछौं’ उनले भने ।

प्रतिक्रिया दिनुहोस