एजेन्सी । अमेरिका र इरानबीचको तनावले अब नयाँ र खतरनाक मोड लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाले अब होर्मुज जलमार्गबाट गुज्रिने जहाजहरूको नाकाबन्दी गर्ने घोषणा गरेका हुन् ।
इस्लामाबादमा भएको इरान–अमेरिका शान्ति वार्ता कुनै निष्कर्षमा नपुगी टुंगिएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले होर्मुज जलमार्गमा तत्कालै लागु हुने गरी नाकाबन्दीको घोषणा गरेका हुन् ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै यो मार्गबाट जान खोज्ने हरेक जहाजलाई अमेरिकी सेनाले रोक्ने र विस्तृत जाँच गर्ने बताए ।
"वार्ता राम्रो भयो, धेरैजसो बुँदाहरूमा सहमति पनि जुट्यो, तर सबैभन्दा महत्त्वपूर्ण बुँदा आणविक विषयमा भने सहमति हुन सकेन । त्यसैले, अहिलेदेखि नै लागु हुने गरी विश्वकै उत्कृष्ट ‘अमेरिकी नौसेना’ले होर्मुज जलमार्गमा प्रवेश गर्ने वा बाहिरिने कुनै पनि र सबै जहाजहरूलाई नाकाबन्दी गर्ने प्रक्रिया सुरु गर्नेछ," ट्रम्पले भने ।
विशेषगरी इरानलाई ‘टोल ट्याक्स’ बुझाएका जहाजहरूमाथि कडा निगरानी राखिने बताएका छन् । ट्रम्पका अनुसार, इरानलाई गैरकानुनी रूपमा टोल बुझाउने जहाजहरूलाई सुरक्षित मार्ग दिइने छैन । यसको मुख्य उद्देश्य इरानको आर्थिक मेरुदण्ड कमजोर बनाउनु रहेको छ ।
अमेरिका कुनै पनि परिस्थितिका लागि तयार रहेको र आवश्यक परेमा युद्ध अन्त्य गर्न निर्णायक कारबाही गर्ने उहाँले चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ३० चैत्र २०८२, ०७ : १०
लेखकबाट थप