‘अधिकार स्पष्ट नगरी संघीयतामाथि दोषारोपण गर्नु उचित होइन’ : देवराज चालिसे

सफल खबर संवाददाता

आइतबार, १३ बैशाख २०८३, १९ : ५५
‘अधिकार स्पष्ट नगरी संघीयतामाथि दोषारोपण गर्नु उचित होइन’ : देवराज चालिसे

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले संघीय शासन प्रणालीप्रति नकारात्मक धारणा निर्माण हुनुको प्रमुख कारण तीन तहका सरकारबीच अधिकारको स्पष्ट बाँडफाँड हुन नसक्नु रहेको बताएका छन्। 

संघीयताको प्रभावकारी सञ्चालनभन्दा व्यवस्थापन कमजोरीका कारण प्रणालीमाथि अनावश्यक आलोचना बढेको उनको भनाइ छ।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता चालिसेले संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्र स्पष्ट परिभाषित गर्दै कार्यान्वयन क्षमता सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याए। उचित समन्वय र प्रशासनिक संरचना सुदृढ भए संघीयता प्रभावकारी रूपमा सञ्चालन हुन सक्ने उनले बताए।

उनका अनुसार संघीय व्यवस्था स्वभावतः खर्चिलो, महँगो वा अव्यवहारिक प्रणाली होइन। व्यवस्थापन कमजोरी, अधिकार हस्तान्तरणमा अनिच्छा तथा संरचनागत अस्पष्टताका कारण समस्या देखिएको उनले उल्लेख गरे। केही कमजोरीलाई आधार बनाएर सम्पूर्ण संघीय व्यवस्थालाई दोष दिनु न्यायोचित नहुने उनको धारणा थियो।

प्रवक्ता चालिसेले शिक्षा, स्वास्थ्य लगायत आधारभूत सेवा क्षेत्रमा संघीय र स्थानीय सरकारबीच अधिकार क्षेत्रको दोहोरोपन रहेको बताए। यस्ता क्षेत्रमा धेरै विकसित मुलुकले स्थानीय सरकारलाई बढी जिम्मेवारी दिएको उदाहरण प्रस्तुत गर्दै नेपालमा भने अझै स्पष्टता अभाव रहेको उनले टिप्पणी गरे।

उनले संघबाट पठाइने कर्मचारी र स्थानीय जनप्रतिनिधिबीच कार्य समन्वयमा चुनौती देखिएको उल्लेख गर्दै स्थानीय तहलाई कर्मचारी नियुक्ति सम्बन्धी अधिकारबारे पुनर्विचार गर्नुपर्ने संकेत गरे। स्थानीय सरकारलाई आवश्यक प्रशासनिक स्वायत्तता प्रदान गरे सेवा प्रवाह थप प्रभावकारी बन्न सक्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस