सरोकारवालासँग परामर्शपछि मात्रै विधेयक प्रक्रिया अघि बढ्ने राष्ट्रिय सभा अध्यक्ष दाहालको दाबी

सफल खबर संवाददाता

आइतबार, १३ बैशाख २०८३, १७ : ३४
सरोकारवालासँग परामर्शपछि मात्रै विधेयक प्रक्रिया अघि बढ्ने राष्ट्रिय सभा अध्यक्ष दाहालको दाबी

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सम्बन्धित पक्षसँग आवश्यक परामर्श नगरी कुनै पनि विधेयकलाई संसदीय प्रक्रियामा अघि नबढाइने बताएका छन्। 

विधेयक निर्माण प्रक्रियालाई सहभागितामूलक र परामर्शमा आधारित बनाउने अभ्यास संस्थागत गर्न आफूहरू प्रतिबद्ध रहेको उनले उल्लेख गरे।

नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले विधेयकसम्बन्धी निर्णय प्रक्रियामा सरोकारवालाको सुझावलाई महत्व दिने परिपाटी सुदृढ हुँदै गएको बताए। 

कानुन निर्माण गर्दा प्रभावित समूह, व्यावसायिक क्षेत्र तथा सम्बन्धित निकायसँग छलफल गरेर मात्र अगाडि बढाउने व्यवस्था प्रभावकारी बन्दै गएको उनको भनाइ थियो।

उनले सरोकारवाला समूहका समस्या, अपेक्षा र मनोभावनालाई ध्यानमा राखेर संसद्ले विधेयकमा निर्णय गर्ने विश्वास दिलाए। संसद्मा दर्ता भइसकेपछि कुनै पनि प्रस्तावित कानुनमाथि गम्भीर समीक्षा, छलफल र आवश्यक संशोधनपछि मात्र निष्कर्षमा पुगिने उनले बताए।

अध्यक्ष दाहालले संघीय संसद्मा युवापुस्ताको उल्लेख्य सहभागिता रहेको उल्लेख गर्दै ४० प्रतिशतभन्दा बढी युवा प्रतिनिधित्व हुनु लोकतान्त्रिक समावेशिताका दृष्टिले सकारात्मक संकेत भएको बताए।