समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि

सफल खबर संवाददाता

आइतबार, १३ बैशाख २०८३, १७ : ०१
समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि

काठमाडौं । समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि ल्याएको छ । सरकारले समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८३ जारी गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त कार्यविधि राजपत्रमा प्रकाशित गर्दै लागु भइसकेको जनाएको छ । समस्याग्रत सहकारी व्यवस्थापन समिति अन्तर्गत रहने गरी चक्रीय कोष स्थापना तथा सञ्चालन गर्न मन्त्रिपरिषद्ले यो कार्यविधि बनाएको हो ।

उक्त कार्यविधि अनुसार मन्त्रालयबाट समस्याग्रस्त घोषणा भई समितिबाट सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य भइरहेका सहकारी संस्थाका बचतकर्ताको बचत रकम फिर्ता गर्ने प्रयोजनका लागि समितिमा एक चक्रीय कोष रहनेछ ।

नेपाल सरकारबाट प्राप्त रकम, संस्थाको सम्पत्ति, बचत, कर्जा वा शेयर रकम अपचलन वा हिनामिनामा संलग्न सञ्चालक, लेखा समिति, व्यवस्थापक, ऋण उपसमिति र त्यस्तो कार्य गर्ने अख्तियार प्राप्त व्यक्ति तथा जिम्मेवार व्यक्तिहरूको सम्पत्ति लिलाम बिक्री तथा निजहरूबाट असुल भएको रकम, सम्बन्धित सहकारी संस्थाबाट शोधभर्ना फिर्ता रकम कोषमा रहनेछ ।

सम्पत्ति बिक्रीबाट बचतकर्ताको रकम फिर्ता गर्न नपुग हुने भएमा त्यस्ता परिवारको कुनै सदस्यले अंशवण्डा गरी वा सम्बन्ध विच्छेद गरी अन्य कुनै कारणबाट सम्पत्ति हस्तान्तरण वा कम्पनीहरूमा लगानी गरेको अवस्थामा समितिले त्यस्तो सम्पत्तिसमेत रोक्का तथा लिलाम बिक्री गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।

समितिले कोषमा जम्मा भएको रकम सम्बन्धित संस्थाबाट शोधभर्ना लिने गरी अभिलेख राखी सहकारी ऐन, २०७४ को दफा ११२क. बमोजिम दाबी निवेदन पेस गरेका बचतकर्ताको बैङ्क खातामार्फत दोहोरो नपर्ने गरी बचत फिर्ता गर्न सक्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस