खाडी र मध्यपूर्वका थप चार देशमा पुनः श्रम स्वीकृति खुला

सफल खबर संवाददाता

बुधबार, ०२ बैशाख २०८३, १६ : ३०
खाडी र मध्यपूर्वका थप चार देशमा पुनः श्रम स्वीकृति खुला

काठमाडौँ । वैदेशिक रोजगार विभागले खाडी तथा मध्यपूर्व क्षेत्रका थप देशहरूका लागि पुनः श्रम स्वीकृति (रि-इन्ट्री) प्रक्रिया सञ्चालनमा ल्याएको जानकारी दिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार यसअघि क्षेत्रीय असामान्य अवस्थालाई ध्यानमा राख्दै व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति स्थगन गरिएको थियो।

पछिल्लो निर्णयसँगै साउदी अरेबिया, युएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि पुनः स्वीकृति प्रक्रिया सुरु भइसकेको थियो।

अब सोही निर्णयको निरन्तरतामा इजरायल, कुवेत, बहराइन र लेबननका लागि पनि पुनः श्रम स्वीकृति सेवा सञ्चालनमा ल्याइएको विभागले जनाएको छ।

यस्तै, इराकका हकमा भने मन्त्रिपरिषद्को अघिल्लो निर्णयअनुसार नै श्रम स्वीकृति प्रदान गरिने व्यवस्था कायम रहने उल्लेख गरिएको छ।

विभागले सम्बन्धित सबै सरोकारवालालाई उक्त व्यवस्था लागू भएको जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस