काठमाडौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्दै आगामी यात्राका लागि १० बुँदे ठोस कार्ययोजना अघि सारेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको पहिलो बैठकमा संयोजक प्रचण्डले निर्वाचनको सामान्य समीक्षासहितको प्रतिवेदन र आगामी कार्यदिशा पेस गरेका हुन् ।
प्रतिवेदनमा निर्वाचनको परिणाम पार्टीले अनुमान गरेभन्दा फरक र 'असामान्य' आएको निष्कर्ष निकालिएको छ । प्रतिवेदनमा हारका आन्तरिक र बाह्य कारणहरूको विश्लेषण गर्दै पार्टीलाई नयाँ ढङ्गले पुनर्गठन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
डिजिटल सुनामी र संगठनात्मक कमजोरी मुख्य चुनौती
पार्टीले निर्वाचनमा अपेक्षाकृत नतिजा नआउनुमा 'डिजिटल सुनामी' लाई एक प्रमुख बाह्य कारण मानेको छ ।
सामाजिक सञ्जालको प्रयोगमार्फत परम्परागत शक्तिहरू विरुद्ध फैलाइएको 'प्रोपागान्डा' र नयाँ शक्तिहरूको 'लोकप्रियतावादी' लहरलाई चिर्न नसक्नु पार्टीको कमजोरी रहेको समीक्षामा उल्लेख छ । यस्तै, पार्टी एकता पछिको साङ्गठनिक समायोजन तल्लो तहसम्म हुन नसक्नु, वैचारिक कामको अभाव, र युवा पुस्तालाई आकर्षण गर्न नसक्नुलाई आन्तरिक कमजोरीका रूपमा लिइएको छ ।
यस्तो छ नेकपाको १० बुँदे कार्ययोजना
प्रतिवेदनमा पार्टीलाई पुनर्जीवन दिन १० बुँदे कार्ययोजना प्रस्ताव गरिएको छ-
१. सङ्गठन समायोजन र निर्माण: एक महिनाभित्र पालिका तहसम्म र तीन महिनाभित्र सबै वडामा सङ्गठन निर्माण र समायोजन सम्पन्न गर्ने ।
२. सदस्यता नवीकरण र अधिवेशन: तीन महिनाभित्र सदस्यता नवीकरण सक्ने र पाँच महिनाभित्र वडादेखि प्रदेशसम्मका अधिवेशनहरू सम्पन्न गर्ने ।
३. एकता महाधिवेशन: आगामी छ महिनाभित्र पार्टीको राष्ट्रिय एकता महाधिवेशन आयोजना गर्ने ।
४. नेतृत्वको पुनर्गठन र रूपान्तरण: सङ्गठनको मात्र नभई नेतृत्वको समेत पुनर्गठन गरी नयाँ र ऊर्जावान् बनाउने ।
५. प्रशिक्षण अभियान: व्यवस्थित पाठ्यक्रम निर्माण गरी देशव्यापी रूपमा सघन सैद्धान्तिक तथा वैचारिक प्रशिक्षण चलाउने ।
६. आर्थिक कोष निर्माण: पार्टीलाई आत्मनिर्भर बनाउन व्यवस्थित आर्थिक कोष निर्माण अभियान सञ्चालन गर्ने ।
७. प्रभावकारी प्रतिपक्षको भूमिका: संसद्मा राष्ट्र र जनसरोकारका विषयमा रचनात्मक र प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने ।
८. स्थानीय तह परिचालन: पार्टीका निर्वाचित प्रतिनिधिहरूलाई जनपक्षीय काममा थप सक्रिय बनाउने ।
९. प्राविधिक क्षमता विकास: सूचना प्रविधिको युगसँग जुध्न नेता तथा कार्यकर्ताको प्राविधिक ज्ञान र क्षमता अभिवृद्धि गर्ने ।
१०. कार्यशैली र आचरण सुधार: नेता-कार्यकर्ताको कार्यशैली, जीवनशैली र आचरणमा आमूल सुधार ल्याउने ।
चैत २३ देखि निरन्तर छलफल हुने
बैठकमा पेस गरिएको उक्त प्रतिवेदन अध्ययनका लागि समिति सदस्यहरूलाई वितरण गरिएको छ । पार्टी स्रोतका अनुसार यस प्रतिवेदनमाथि आगामी चैत २३ गतेदेखि निरन्तर छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० चैत्र २०८२, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ