कम्युनिष्ट आन्दोलन खडेरीको दूबो झैँ फेरि मौलाउनेछ : प्रदीप ज्ञवाली

सफल खबर संवाददाता

बुधबार, ०९ बैशाख २०८३, ११ : ५४
कम्युनिष्ट आन्दोलन खडेरीको दूबो झैँ फेरि मौलाउनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले कम्युनिष्ट आन्दोलन खडेरीको दूबो जस्तो फेरि मौलाउने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७७ औँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै उनले स्थापनाकालदेखि नै विभिन्न धक्का, विभाजन र विरोधाभाषा खेपे पनि यो आन्दोलन दूबोजस्तै हरेक खडेरी र दलनलाई चिर्दै पुन: मौलाउँदै आएको बताए ।

विगतको वर्ष कम्युनिष्ट आन्दोलनका लागि सुखद नरहेको भन्दै उनले यो असाधारण धक्कालाई आधार बनाएर केही व्यक्तिले आन्दोलन समाप्त भएको घोषणा गरेको टिप्पणी गरे ।

‘विचारधाराको मृत्यु र इतिहासको अन्त्यको घोषणा गर्ने फुकुयामा अचेल आफ्ना भविष्यवाणीप्रति पछुताउँदैछन् ’ ज्ञवालीले लेखेका छन् ‘हाम्रा फुकुयामाहरूका भविष्यवाणी पनि व्यर्थ साबित हुनेछन् । किनभने कम्युनिष्ट आन्दोलनको स्थापना, अस्तित्व र भविष्य कसैको व्यक्तिगत इच्छाबाट होइन, समाजको ऐतिहासिक विकासक्रम, वर्ग संरचना र रुपान्तरणको वस्तुगत आवश्यकताबाट निर्दिष्ट छ ।’

ज्ञवालीले कम्युनिष्ट आन्दोलनले खेपेको वर्तमान धक्का र चुनौतीलाई सामान्य रूपमा लिने छुट आफूहरूलाई नभएको उल्लेख गरेका छन् । बरु पार्टी स्थापनाका बेलाका अभिभारा पूरा गर्नका लागि संकल्प गर्ने दिनका रूपमा आजको दिनलाई सम्झनु पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस