आधिकारिकताको माग गर्दै देउवा पक्ष सर्वोच्चमा

सफल खबर संवाददाता

आइतबार, ०४ माघ २०८२, १२ : ३३
आधिकारिकताको माग गर्दै देउवा पक्ष सर्वोच्चमा

काठमाडौँ । नेपाली काँग्रेसको शेरबहादुर देउवा पक्ष आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेको छ ।

देउवा पक्षका नेताहरूले गम्भीर परिस्थितिलाई बुझेर आजै रिटमाथि सुनुवाइको आग्रह गरेका छन् । तर, सर्वोच्च प्रशासनले नियमावलीको व्यवस्था कारण आज सम्भव नहुने जवाफ दिएको छ ।

निर्वाचन आयोगको निर्णयले नेपाली काँग्रेसको दुई तिहाइ शक्ति पार्टीविहीन हुने र चुनावमा भाग लिनबाटै वञ्चित हुने अवस्था आउन सक्ने भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतका नेताले आजै रिट दर्ता गरेर आजै पेशी चढाउन आग्रह गरेका थिए ।

भोलि सोनाम ल्होसार परेका कारण सार्वजनिक बिदा भएको र पर्सि माघ ६ गते उम्मेदवारी मनोनयनको दिन भएकाले यसलाई सामान्यरुपमा नलिन उनीहरूको आग्रह थियो । तर, सर्वोच्चले मिलापत्र र मुद्दा फिर्ताबाहेक अरू रिटमाथिको कारबाही आजको आजै हुन सम्भव नरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस