ओलीलाई महेश बस्नेतकै भर, गुन्डुबाटै राजनीतिक पुनरागमनको कोसिस

गुन्डु ‘कमान सेन्टर’ जस्तो बन्दै

सफल खबर संवाददाता

विहीबार, २३ असोज २०८२, १० : १८
ओलीलाई महेश बस्नेतकै भर, गुन्डुबाटै राजनीतिक पुनरागमनको कोसिस

भक्तपुर ।  जेन–जी आन्दोलनपछि बालुवाटारबाटै सेनाको हेलिकप्टरमा भागेर सत्ताच्यूत हुनुपरेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली फेरि सार्वजनिक हुने र सक्रिय राजनीतिमा फर्कने तयारीमा छन् ।

उनी र उनको क्याबिनेटका गृहमन्त्री रमेश लेखकमाथी पक्राउ गरी कारवाही गर्न जेनजी युवाहरुले अरेष्ट केपी ओली हयासटग अभियान सामाजिक सन्जालमा चलाउने र सरकारमाथी दवाव बढाईरहेका बेला ओलीले त्यसलाई काउन्टर दिने प्रयास थालेका छन् । त्यसका लागि उनले आफ्नो राजनीतिक पुनरागमनको केन्द्र भक्तपुरको गुन्डुलाई बनाउन चाहिरहेका छन् ।

झटट बाहिर पनि निस्कीनहाल्ने, तर गुन्डुमा पार्टी वा जनवर्गीय संगठनबाटै केही कार्यक्रम बनाउने, आफु प्रमुख अतिथि बन्ने र सम्वोधन गरेर क्रमशः गुन्डु बाहिरका कार्यक्रम, पार्टी गतिबिधिमा सहभागी हुन जान चलमलाउने प्रयासमा ओली देखिएका छन् ।

महेश बस्नेतको प्रभाव र ‘फिल्ड मेनेजमेन्ट’ भक्तपुर क्षेत्रलाई महेश बस्नेतले लामो समयदेखि आफ्नै राजनीतिक क्षेत्रका रूपमा हेरिरहेका छन् । जेन–जी आन्दोलनपछि केन्द्रमा आलोचना भोगिरहेका ओली अहिले बस्नेतकै ‘संगठनात्मक ढाँचा’ र ‘स्थानीय जग’मा भरोसा गरेर अघि बढ्न खोजिरहेका छन् ।

ओलीले गुन्डुमा बसोबास सुरु गरेदेखि नै त्यहाँबाट योजनाबद्द रुपमा पार्टी गतिविधि क्रमशः बढउँदै लगेका छन् । गुन्डुकै स्थायी बासिन्दा तथा एमाले नेता महेश बस्नेतलाई अहिले ओलीले आफनो दरिलो रक्षाकबज ठानेका छन् । ओलीले बस्नेतलाई ‘भरपर्दो र विश्वासिलो’ सहयोगीका रूपमा हेरेका छन् र आगामी राजनीतिक अभियानमा उनलाई मुख्य टेक्ने आधार बनाएका छन् ।

एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार (आज) बिहान ११ बजे सूर्यविनायक नगरपालिका–७, गुन्डुमा कार्यकर्ता भेलाको आयोजना गरेको छ । कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष ओली स्वयं हुने तय भएको छ । पार्टी स्रोतका अनुसार महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, सचिवहरू र अन्य शीर्ष नेता पनि उक्त कार्यक्रममा सहभागी गराउने योजना बनाइएको छ । भक्तपुर जिल्ला कमिटीका एक सदस्यका अनुसार, यो सामान्य कार्यकर्ता भेला होइन, यसले पार्टी अध्यक्षको पुनःसक्रियताको सन्देश दिलाउन आयोजना गरिएको हो ।

महेश बस्नेतको प्रभाव र ‘फिल्ड मेनेजमेन्ट’
भक्तपुर क्षेत्रलाई महेश बस्नेतले लामो समयदेखि आफ्नै राजनीतिक क्षेत्रका रूपमा हेरिरहेका छन् । जेन–जी आन्दोलनपछि केन्द्रमा आलोचना भोगिरहेका ओली अहिले बस्नेतकै ‘संगठनात्मक ढाँचा’ र ‘स्थानीय जग’मा भरोसा गरेर अघि बढ्न खोजिरहेका छन् ।

बस्नेतले भक्तपुरमा युवा संघ, विद्यार्थी संघ र विभिन्न स्थानीय सञ्जालमार्फत् कार्यकर्तालाई पुनःउत्साहित बनाइरहेका छन् । एमालेका एक स्थानीय नेताले भने, ‘अध्यक्ष ओली अहिले महेश बस्नेतकै माध्यमबाट संगठनमा ऊर्जा फिर्ता ल्याउने कोसिसमा छन् । गुन्डु त्यसकै ‘कमान सेन्टर’ जस्तो बन्दैछ ।’

जेन–जी प्रदर्शनकारीहरूले बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गर्ने अनुमति लिएपछि त्यसै दिन एमालेले गुन्डुमा कार्यकर्ता भेला आयोजना गरेर प्रतिवादको रुपमा सन्देश दिने तयारी बनाएको थियो । कतिपयले यो कार्यक्रम संयोग मात्र नभई ‘रणनीतिक सन्देश’ सहितको भएको पनि बताएका थिए । यधपी गृह मन्त्रालयले माइतीघरको जेनजीको कार्यक्रम रोक्न गरेको आग्रहमा जेनजीले कार्यक्रम रोकेका छन् । तर ओलीले भने कार्यक्रम गुन्डुमा जारी नै राखेका छन् ।

एमालेका भक्तपुर जिल्लाका एक नेताका शब्दमा, ‘माइतीघरमा जेन जीको प्रदर्शन रोकिएपछि ओलीले गुन्डुमा कार्यकर्ता भेला गरेर राजनीतिक सन्देश दिन चाहेका छन् । उनी अझै खेलमै छन् ।’ गत भदौ २४ गते बालकोटस्थित ओलीको निजी निवासमा आगजनी भएपछि उनी सूर्यविनायक–७ स्थित गुन्डुमा सरेका हुन् ।

सार्वजनिक मञ्चहरूमा कम देखिए पनि उनी यही स्थानबाट पार्टीको रणनीति निर्माण र संगठनात्मक समन्वय गरिरहेका छन् । हालै उनले प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरूसँग भर्चुअल बैठक गरेर पनि सन्देश दिएका थिए- पार्टी अझै उनको नियन्त्रणमै छ ।

एमालेभित्र ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज उठ्दै आएको छ । केही नेताहरूले ‘समीक्षा र पुनर्संरचना’को माग गरिरहेका छन् । तर ओली भने अझै ‘नेतृत्वमै रहिरहने’ मनस्थितिमा छन् । उनी निकट स्रोतका अनुसार, ‘ओली नेतृत्व आफैंले सम्हाल्ने र कार्यकर्तामार्फत् प्रतिवाद गर्ने रणनीतिमा छन्।’ उनले शुक्रबार र शनिबारका लागि सचिवालय बैठक र त्यसपछि असोज २७ देखि २९ सम्म केन्द्रीय कमिटी बैठक पनि बोलाएका छन् ।

राजनीतिक विश्लेषकहरूले भक्तपुरको गुन्डुबाट ओलीको सक्रियतालाई ‘सडक र संगठन दुबैको शक्ति परीक्षण’ को पूर्व तयारीमा ओली देखिएको रूपमा व्याख्या गरेका छन् ।
राजनीतिशास्त्री डा. विष्णु रिजाल भन्छन्, ‘ओलीले अब पार्टीको पुनःउद्भव ‘गुन्डुमा आफनो निकट नेता कार्यकर्ता उतारेर त्यसलाई त्यसक्षेत्रका जनताको जनसमर्थनको रुपमा ब्याख्या गरेर त्यही प्रदर्शनमार्फत् गर्न खोजिरहेका छन् । तर यो जोखिमपूर्ण पनि छ । जेन–जी आन्दोलनपछि मुलुकको राजनीतिक तापक्रम अझै अस्थिर छ ।’

ओलीले कार्यकर्ता भिडाएरै ‘राजनीतिक पुनरुत्थान’को बाटो समात्न खोजेपछि देशमा पुनः द्वन्द्वपूर्ण अवस्था आउने खतरा देखिएको छ ।