भरतपुर अस्पतालबाट स्वास्थ्य बीमा हटाएपछि भरतपुरवासीलाई असहज

रासस

बुधबार, ३२ असार २०८२, १६ : ३९
भरतपुर अस्पतालबाट स्वास्थ्य बीमा हटाएपछि भरतपुरवासीलाई असहज

चितवन । चितवनको भरतपुर अस्पतालमा स्वास्थ्य बीमाका दैनिक एक हजार ५०० हाराहारी बिरामी प्रथम विन्दुबाट आउने गर्दछन् । तीमध्ये ५०० हाराहारी दीर्घरोगका बिरामी औषधि लिन आउँछन् ।

स्वास्थ्य बीमा बोर्डले भरतपुर अस्पताललाई प्रथम सेवा विन्दुबाट साउन १ गतेबाट हटाउने भएपछि भरतपुरको सहरी क्षेत्रका नागरिक प्रत्यक्ष प्रभावित हुने भएका छन् । भरतपुरको प्रथम सेवा विन्दु शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र तोकिएको छ ।

भरतपुरको चौबीसकोठीबाट १४ किलोमिटर टाढा रहेको केन्द्र पुग्नका महानगरका अन्य वडाबाट झन टाढाको दूरी पर्न आउँछ । भरतपुर आउनका लागि सार्वजनिक यातायात सहज भए पनि शिवनगर जान कतिपय ठाउँबाट भरतपुर आएर पुनः गाडी परिवर्तन गरी पुग्नुपर्ने बाध्यता छ । बोर्डले प्रथम सेवा विन्दु भरतपुर अस्पताल हटाएसँगै नागरिकले चिन्ता व्यक्त गरेका छन् ।

भरतपुर अस्पतालको स्वास्थ्य बिमा इञ्चार्ज लिलाधर पौडेलका अनुसार दैनिक एक हजार ५०० हाराहारी बिमाका नयाँ बिरामी अस्पताल आउने गर्दछन् । अस्पतालमा आउने कूल बिरामीको ७० देखि ७५ प्रतिशत बिमाका हुने गर्दछन् । अन्यत्रबाट रिफर भएर आउनेहरु १०० हाराहारी छन् ।

भरतपुर अस्पतालमा मधुमेह, मुटु, उच्च रक्तचाप जस्ता दीर्घरोगका नियमित औषधि सेवन गर्नेहरु ५०० हाराहारी आउँछन् । ती अधिकांश भरतपुरको मुख्य सहरी क्षेत्रका ज्येष्ठ नागरिक हुन् । भरतपुर अस्पतालमा चितवन जिल्लाका अतिरिक्त छिमेकी जिल्लाका नागरिक प्रथम विन्दुका रुपमा राखेका छन् ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, गोरखा, धादिङ, मकवानपुरलगायतका जिल्लाका विभिन्न पालिकाका नागरिकले भरतपुर अस्पताललाई बिमाको पहिलो विन्दु बनाएको पौडेलले बताए । सेवाको पहिलो विन्दु हटेसँगै सेवा पाइरहेका प्रभावित हुने पौडेलको भनाई छ ।

भरतपुर अस्पताल स्वास्थ्य बीमा बोर्डमा सेवा दिने देशभरकै उत्कृष्ट अस्पताल हो । यहाँ बिमाका बिरामीलाई लक्षित गरी विभिन्न काउन्टर बिहान सबेरैदेखि सञ्चालन गरी सेवा दिँदै आएको छ ।

भरतपुर आँखा अस्पताल पनि प्रथम सेवा विन्दुबाट हट्ने भएको छ । यससँगै आँखाको उपचार गर्न आउने बिरामीहरु प्रभावित हुने भएका छन् । जिल्लाका विभिन्न अस्पतालमा प्रथम सेवा विन्दु भएका बिरामीले आँखा अस्पतालमा रिफरल नलगिकन प्रथम सेवा विन्दुको हैसियतमा सेवा दिँदै आएको छ ।

अस्पतालका व्यवस्थापक दयाशङ्कर चौधरीका अनुसार दैनिक ४०० बिरामी बिमामार्फत उपचार गर्न यहाँ आउने गर्दछन् । बाहिरी जिल्लाबाट रिफरल भएर आउने बिरामीको सङ्ख्या न्यून छ ।

बोर्डले भरतपुरका लागि तोकेको शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक जनशक्ति र पूर्वाधार छैन । कार्यालयका प्रमुख भविश्वर अधिकारी भरतपुर अस्पतालमा आउने बिरामी शिवनगर आउने हो भने व्यवस्थापन गर्न नसकिने बताउँछन् । उनका अनुसार अहिले केन्द्रमा दैनिक २५० देखि ३०० सम्म बिरामी आउने गर्दछन् । केन्द्रमा हाल दुई जना मेडिकल अधिकृतले सेवा दिँदै आउनु भएको छ । साउन १ गतेदेखि थप दुई जनालाई नियुक्ति दिने तयारी गरिएको उनले बताए ।

अधिकारीले भने, ‘अहिले आइरहेका बिरामीलाई नै व्यवस्थापन गर्न नसकेर थप दुई जना मेडिकल अधिकृत नियुक्त गर्न लागिएको छ, बिरामी थपिए सेवा दिन कठिन छ ।’

प्रथम सेवा विन्दुमा आएका बिरामी यहाँको सेवा दिएर मात्रै थप सेवा चाहिने भएमा मात्रै रिफर गर्नुपर्ने हुन्छ । त्यसका लागि आवश्यक जनशक्ति र पूर्वाधार नहुने भएकाले बिमाका सेवाग्राही प्रभावित हुने देखिएको छ ।

भरतपुरमा ठूला अस्पताल भएकाले स्थानीय तहहरुमा बिरामीको चाप कम हुँदा अस्पतालको जनशक्ति र पूर्वाधार त्यति मजबुत छैन । प्रथम सेवा विन्दुका लागि छिमेकी पालिकाहरुमा रहेका अस्पतालमा जान सक्ने भए पनि व्यवहारिक र सुविधाजनक नहुने सेवाग्राहीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस