काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । यसैगरी हवाई इन्धनको मूल्य भने बढाएको छ । पेट्रोलको भाउ यथावत छ ।
मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ कायम भएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुनेछ ।
निगमका अनुसार आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर छ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा प्रतिकिलोलिटर अमेरिकी डलर ४२ बढाइएको छ । मूल्य बढेसँगै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १३४ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार १५ पुगेको छ ।
इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार डिजेल/मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ ४४ पैसा घटेर तथा हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ ६२ पैसा बढेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ मंसिर २०८२, ०७ : ०८
लेखकबाट थप