स्वास्थ्य बीमा प्रणालीमा नयाँ व्यवस्था : श्रावण १ देखि ‘प्रथम सेवा विन्दु’को बाध्यता हट्ने

सफल खबर संवाददाता

सोमबार, १६ असार २०८२, ०८ : २९
स्वास्थ्य बीमा प्रणालीमा नयाँ व्यवस्था : श्रावण १ देखि ‘प्रथम सेवा विन्दु’को बाध्यता हट्ने

काठमाडौ । अब बीमा भएका बिरामीलाई उपचारका लागि पहिलो चरणमा ‘प्रथम सेवा विन्दु’ (पहिलो जाने अस्पताल वा केन्द्र) मा जानु पर्ने बाध्यता हट्ने भएको छ।

स्वास्थ्य बीमा बोर्डले जारी गरेको सूचनाअनुसार स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९(६) र नियमावली, २०७५ (प्रथम संशोधन) को नियम २(छ) अनुसार अब ‘प्रथम सेवा विन्दु’ केवल सरकारी स्वास्थ्य संस्था मात्र हुने व्यवस्था गरिएको छ।

यो व्यवस्था २०८२ सालको श्रावण १ गतेदेखि लागू हुनेछ। यसपछि सामुदायिक र निजी अस्पतालहरू ‘प्रथम सेवा विन्दु’को रुपमा रहने छैनन्।

नयाँ व्यवस्थाअनुसार अब बीमा भएका सेवाग्राहीहरूले जुनसुकै नजिकको बीमा सुविधा उपलब्ध स्वास्थ्य संस्थाबाट सिधै उपचार सेवा लिन सक्नेछन्। 

यसअघि भने अनिवार्य रूपमा ‘प्रथम सेवा विन्दु’बाट रेफरल लिएपछि मात्र अन्य अस्पतालमा उपचार सम्भव हुने बाध्यता थियो।

स्वास्थ्य बीमा बोर्डका अनुसार यो निर्णयले बीमा सेवाको पहुँच, सहजता र छिटो उपचारमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ। साथै, बोर्डले विगतमा ‘प्रथम सेवा विन्दु’का रूपमा सेवा दिँदै आएका सामुदायिक र निजी स्वास्थ्य संस्थाहरूको योगदानप्रति आभार प्रकट गरेको छ।

यस परिवर्तनसँगै बिरामीलाई बीमा प्रयोग गर्न थप सहज र लचिलो हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस