काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा केही भएन भनेर निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्नुपर्ने बताएका छन्।
नयाँ वर्ष २०८२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नयाँ वर्षले हामी सबैमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा भर्ने विश्वाससमेत व्यक्त गरेका छन्।
‘अनेकौँ कठिनाइहरुका वावजुद हामीले हासिल गरेका उपलब्धिहरुलाई आधार बनाएर हामी उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने छौँ भन्ने विश्वास लिएको छु,’ प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, ‘देशलाई समृद्ध र जनतालाई सुखी बनाउने हाम्रो साझा सङ्कल्प हो। राष्ट्रको साझा आकाङ्क्षा साकार पार्न सरकार एक्लैले मेहनत गरेर पुग्दैन, देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहनत र योगदानले मात्र हामी यसमा सफलता पाउन सक्छौँ। राष्ट्रको साझा गन्तव्य प्राप्त गर्न हामीमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक छ।’
उनले जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधतालाई राष्ट्रका साझा सम्पति भन्दै यिनलाई परस्पर विरोधी शक्तिका रुपमा होइन, तिनीहरु बीचको एकतालाई शक्तिका रुपमा विकास गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।
‘सद्भाव, सहिष्णुता र राष्ट्रप्रेमको मिलनबिन्दुमा उभिएर मात्र हामी देशलाई अगाडि बढाउन सक्छौँ,’ प्रधानमन्त्रीले सन्देशमा भनेका छन्।
मुलुकमा विकास केवल सपना होइन, यथार्थ बनिरहेका दाबी पनि ओलीले गरेका छन्। ‘ग्रामीण भेगहरूमा पुगिरहेको पूर्वाधार, यसले जनजीवनमा पर्न थालेको प्रत्यक्ष सकारात्मक प्रभाव र सामाजिक सेवा प्रणालीमा भएका सुधार लोकतान्त्रिक प्रणालीका उपलब्धि हुन्,’ प्रधानमन्त्रीले भनेका छन्, ‘युवापुस्ता हाम्रो राष्ट्रका सम्भावना हुन्। उनीहरूको जोश, जाँगर र सिर्जनशीलतालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउन सरकारले युवाहरुलाई उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर र आत्मविश्वासी बनाउने नीति अवलम्बन गरेको छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ बैशाख २०८२, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्कीले गरिन ताप्लेजुङ पाथीभरामा पूजाअर्चना
राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री
राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने
चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन
रोहित पौडेलको टोलीले विश्वकपमा देखाउने छ आत्मविश्वास र एकता : प्रधानमन्त्री कार्की
स्वास्थ्य बीमा समस्या समाधानका लागि प्रधानमन्त्रीबाट बैठक आह्वान